धनगढी- सुदूरपश्चिम प्रदेशमा आयातित औलोका कारण औलों रोगको भार देशभरीमै बढ्दै गएको छ।
विश्व औलो रोग दिवसको अवसरमा धनगढीमा सरोकारवालाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयले दीपायलले आयातित औलो रोगका बिरामी बढ्दै जाँदा देशभरमै सुदूरपश्चिम प्रदेशमा औलोका भार बढी रहेको जनाएको हो।
प्रदेशमा स्थानीय औलोका बिरामीमा कमी आउँदै गएपनि आयातित औलोका बिरामीको संख्या बढ्दै गएको निर्देशनालयको तथ्यांकमा रहेको छ। प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औलोको बिरामी फेला परेकोमा ११ जना स्थानीय औलो रहेका छन्। ९४ जना आयातित औलो बिरामी रहेकोमा ८९ बिरामी भारतबाट आयातित हुन्।
आर्थिक वर्ष ०७८/७९ मा एक सय ८१ जना नयाँ बिरामी फेला परेकोमा १६ स्थानीय र एक सय ६५ आयातित औलोका बिरामी रहेका छन्। एक सय ६५ मध्ये एक सय ६३ जना भारतबाट फर्केका हुन। आर्थिक वर्ष २०७७/७८ मा स्थानीय १६ र एक सय ६५ आयातित गरि दुई सय ८३ नयाँ बिरामी फेला परेका थिए। आयातित बिरामीमध्ये एक सय ६३ जना भारतका विभिन्न स्थानबाट फर्केको निर्देशनालयको तथ्यांकमा रहेको छ।
देशभरमै आयातित रोगमा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम र बाजुरा गरि चार जिल्ला शिर्ष १० जिल्लामा रहेका छन भने स्थानीय औलोमा कैलाली, कञ्चनपुर, अछाम र डोटी जिल्ला शिर्ष १० जिल्लामा रहेको निर्देशनालयले जनाएको छ।
प्रदेशका नौ वडा औलोको उच्च जोखिममा रहेका छन भने २९ मध्यम तथा पाँच सय ८९ न्यून जोखिममा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशको अछाम, बाजुराका एक–एक, बैतडी, डडेल्धुराका दुई–दुई र कञ्चनपुरका तीन वडा उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार प्रदेशमा औंलोको जोखिममा एक हजार दुई सय ८५ जनसंख्या रहेका थिए।
आर्थिक वर्ष २०७७÷७८ सम्म प्रदेशका छ वटा जिल्ला औलोको जोखिममा रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा थप बाजुरामा १२ जना विरामी फेला परेसंगै प्रदेशमा सात जिल्ला औलोंको उच्च जोखिममा रहेका छन्। प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा, बाजुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो।
कैलाली जिल्लामा सबैभन्दा बढी औलोका नयाँ केस फेला परेका छन्। कैलालीमा आर्थिक वर्ष २०७८÷७९ मा ९७ जना औलोका बिरामी फेला परेका छन्।
त्यस्तै, कञ्चनपुर जिल्लामा ३६, अछाम जिल्लामा २४, बैतडी जिल्लामा २, डडेल्धुरा जिल्लामा दुई र डोटी जिल्लामा औलोका ६ जना बिरामी फेला परेको स्वास्थ्य निर्देनालयले जनाएको छ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको गोदावरी नगरपालिका औलोंको उच्च जोखिम रहेको स्थानीय तहका रुपमा रहेका छन्।
कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले सन् २०२५ भित्र स्थानीय औलोंलाई सून्यमा झार्ने लक्ष्य निर्धारण गरिएको बताए। उनले भने– अहिले कैलाली जिल्लामा स्थानीय औंलोका बिरामी फेला परेका छैनन्। आयातित औलोंका बिरामीका कारण चुनौति बन्दै गएको छ।
माईक्रोस्टाट्रीफीकेसन २०१९ का अनुसार सूदूरपश्चिम प्रदेशका ३० वटा वडाहरूलाई औंलोको उच्च जोखिमका रुपमा राखिएको छ। भने एक सय चार वटा वडाहरूमा मलेरीया (औलो) को जोखिम मध्यम खालको रहेको उल्लेख छ।
सूदूरपश्चिम प्रदेश विगत आर्थिक वर्षहरूमा वार्षिक परजिवि प्रकोप दरमा कमी आइरहेको छ। कैलाली स्वास्थ्य कार्यालयका अनुसार औंलों संक्रमण अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ।
स्वास्थ्य कार्यालय प्रमुख धामीले भने– औलोको जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, किटनाशक झुल वितरण, विषादी छडकाउ लगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले गर्दै आएका छन्।