अस्वस्थकर जीवनशैली, खानपान र तनावका कारण पछिल्लो समय युवामा हृदयाघात (हार्टअट्याक) को समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्। युवामा हृदयाघातको समस्या किन बढ्दैछ?, हृदयाघात हुँदा कस्तो लक्षण वा संकेत देखिन्छ ?, हृदयाघात भएका बिरामीको उपचार कसरी हुन्छ?, यस्ता बिरामीले कस्ता कुरामा ध्यान दिने लगायतका विषयमा हामीले मुटुरोग विशेषज्ञ डा प्रशान्त बज्राचार्यसँग स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। प्रस्तुत छ, डा बज्राचार्यसँग गरिएको कुराकानीको सम्पादित अंशः
हृदयाघात कसरी हुन्छ? आजभोलि युवाहरुमा मुटुरोगको समस्या बढ्दै गएको हो?
अहिलेको युवा अवस्थामा नै मुटुरोगको समस्या बढ्दै गएको छ। मुटुले सबै अंगहरुमा रगत सप्लाई गर्छ। त्यो रगतमार्फत खानेकुरा, अक्सिजन तथा शरीरलाई आवश्यक पर्ने सबै तत्वहरु शरीरभरि पुग्छ। जन्मेदेखि मृत्युसम्म काम गरिरहने अंग नै मुटु हो। मुटु आफैंलाई पनि चाहिने रगतको तीन वटा नसा हुन्छन्। जुन नसा छातीको देबे्र भागमा दुई वटा र दाहिने भागमा एउटा हुन्छ। ती तीन वटा नसामध्ये कुनै एउटा नसा बन्द भयो भने हृदयाघात हुन्छ।
पहिला–पहिला युवामाभन्दा पनि पुरुषमा ४० वर्षमाथि र महिलामा ५० वर्षमाथि उमेर भएका व्यक्तिमा यो समस्या बढी हुने गरेको थियो। तर अहिले ३० वर्षभन्दा कम उमेरका युवामा नै हृदयाघातको समस्या बढेको देखिन्छ। ३०–३५ वर्ष उमेरका युवाहरुमा हृदयाघात भएका धेरै केस छन्।
यो समस्या युवाहरुमा किन बढ्दै गइरहेको छ?
युवाहरुमा यो समस्या देखिनुको प्रमुख कारण जीवनशैली र खानपान नै हो। आजभोलि अस्वस्थकर खानेकुरा जंकफुड, धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरुको सेवन गर्ने चलन बढेको छ।
यसले पनि युवाहरुमा मुटुरोगको समस्या बढेको छ। अर्को भनेको जीवनशैली हो। पहिला–पहिला धेरैजस्तो व्यक्तिहरु शारीरिक परिश्रम धेरै हुने कामहरु गर्थे। हिँडेर काममा जाने चलन हुन्थ्यो। अहिले शारीरिक परिश्रम हुने काम कम गरिन्छ। काममा जाँदा सवारी साधन चढेर जाने चलन बढेको छ। नियमित शारीरिक व्यायाम नगर्ने बानी धेरैको छ। जसले गर्दा यो समस्या बढेको छ।
अर्को भनेको तनाव हो। अहिले काम गर्दा सबैको तनावको लेवल बढेको छ। पहिलापहिला शारीरिक परिश्रम बढी हुन्थ्यो। अहिले मानसिक लेवलको काम बढी हुन्छ। काममा धेरै तनाव हुँदा र त्यसलाई व्यवस्थापन गर्न नसक्दा पनि युवाहरुमा हृदयाघातको समस्या बढेको छ।
कसैलाई हृदयाघात हुन लागेको कति समय अघि थाहा हुन्छ? हृदयाघात हुन लागेको लक्षण वा संकेत के हो?
हृदयाघात हुन लाग्दा अधिकांश व्यक्तिलाई छाती दुख्छ। एकदमै छाती दुख्नु भनेको हृदयाघात भइसकेको अवस्था हो। तर व्यक्तिलाई हिँड्दा गाह्रो हुने, छाती भारी हुने, हिँड्न नसक्ने लक्षण देखियो भने हृदयाघात हुने संकेत हो कि भनेर सोच्नुपर्ने हुन्छ।
कसैलाई हृदयाघात भइहाले के गने? वरपर रहेका व्यक्तिले कसरी सहयोग गर्न सक्छन्?
बिरामीलाई कस्तो लक्षण देखिएको छ भन्ने कुराले के गर्ने भनेर निर्धारण हुन्छ। कसैलाई छाती दुखेको छ, हिँड्न गाह्रो भएको छ भने त्यो बिरामीलाई तत्काल नजिकको अस्पताल पुर्याउनुपर्छ। अस्पताल पुगेपछि बिरामीको प्राथमिक उपचार सुरु हुन्छ। कहिलेकाहीँ हृदयाघात भएर व्यक्ति बेहोस हुन सक्छन्। बेहोस हुनु भनेको कहिलेकाहीँ हृदयाघातले मुटुको चाल गडबड बनाएर मुटु नै बन्द गरिदिने अवस्था हुन सक्छ। तर यो कम व्यक्तिमा हुन्छ।
कोही व्यक्ति हृदयाघात भएर बेहोस भएको छ भने त्यो गम्भीर अवस्था हो। यस्तो अवस्थामा सीपीआर गराउनुपर्छ। सीपीआर भनेको बिरामीलाई सिधा सुताएर उसको मुटुमा हातले प्रेस गरी मुटुलाई चल्ने बनाउन कोसिस गर्नु हो।
अन्य देशहरुमा स्कुल पढ्ने बालबालिकालाई समेत सीपीआर कसरी गर्ने भन्ने तालिम दिइन्छ। नेपालमा भने त्यति सिकाइएको देखिँदैन। सीपीआर सिकाउन जरुरी छ। बिरामी हृदयाघात भएर बेहोस नै भइसकेको अवस्थामा सीपीआर गरेर मुटुलाई चलाउन कोसिस गर्ने र जति सकिन्छ छिटो अस्पतालको आकस्मिक कक्षमा पुर्याउने नै हो।
हृदयाघात भएर बेहोस नै भएका बिरामीलाई कति समयमा अस्पताल पुर्याउनुपर्छ? नेपालमा हृदयाघात भएका बिरामीलाई कति समयमा अस्पताल पुर्याएको पाइन्छ?
हृदयाघातको केसमा कति समयमा अस्पताल आएभन्दा पनि मुुटुको मासुमा कतिसम्म असर परेको छ भन्ने कुराले बिरामीलाई के असर गर्छ भन्ने निर्धारण गर्छ। यसको लागि जति छिटो अस्पताल लगेको राम्रो हुन्छ। धेरैजस्तो बिरामीहरु अस्पताल नजिक भए पनि छाती दुख्दा ग्यास्ट्रिक भयो भनेर बसिदिने बानी छ। छाती भारी हुने समस्या हुँदा दुखाइ सहेर बस्ने बानी छ। यदि यो समस्या हृदयाघातको संकेत वा लक्षण रहेछ भने अस्पताल जानुपर्छ। बिरामी जति ढिलो अस्पताल पुर्यो त्यति नै बिरामीको मुुटुको मासु ड्यामेज गर्छ। जसले बिरामीले पछिसम्म दुःख पाउँछ।
अस्पतालमा आउने केसहरु हेर्दा अलि बुझ्ने मान्छेहरु सुरुमै पनि अस्पताल आइरहेका हुन्छन्। चिकित्सकीय भाषामा भन्ने गरिन्छ– मिटेन इज इकल टु मसल्स्। अर्थात् जति मिनेट उपचारमा ढिलाइ हुन्छ त्यति नै मुटुको मासु ड्यामेज हुँदै जान्छ।
हृदयाघात भएर रगतको नसा बन्द भएको बिरामीको तीन घण्टाभित्र अप्रेसन गर्न सकियो भने बिरामीको मसल्स्लाई ड्यामेज हुनबाट जोगाउन सकिन्छ। बढीमा १२ घण्टासम्ममा अप्रेसन गर्नुपर्छ।
हृदयाघात भएको १२ घण्टाभित्र आएको बिरामीलाई अप्रेसन गरेर नसा खोली मसल्स् बचाउने कोसिस गर्छौं। १२ घण्टापछि आएका बिरामीलाई तुरुन्त अप्रेसन गरे पनि नतिजा राम्रो आउँदैन। त्यसैले ढिला आइपुगेका बिरामीलाई भने पहिला औषधिहरु चलाएर अलि स्टेबल भएपछि अप्रेसन गर्ने वा नगर्ने निर्णय गर्छौं।
एक पटक हृदयाघात भएको व्यक्तिलाई जीवनभरि हृदयाघातको जोखिम रहिरहन्छ?
हृदयाघात हुनु भनेको व्यक्तिलाई केही न केही समस्या भएर नै हो। त्यसैले चिकित्सकको सल्लाहअनुसार राम्रोसँग उपचार गरिएन भने फेरिफेरि पनि हृदयाघात हुन सक्छ। त्यसैले हृदयाघात भएको व्यक्तिले चिकित्सकसँग परामर्श गरेर औषधि उपचार गराउनुपर्छ। नियमित औषधि सेवन गर्दा हृदयाघात दोहोरिने सम्भावना न्यून रहन्छ।
नियमित औषधि सेवन भन्नुको अर्थ हृदयाघात भएका व्यक्तिले जीवनभर औषधि सेवन गर्नुपर्छ भन्ने हो?
हृदयाघात भएपछि नसाहरु ब्लक हुने हुँदा नसा खोल्ने अप्रेसन गरिन्छ। यस्तो अप्रेसन हात र खुट्टाको नसाबाट मुटुसम्म गएर नसा खोल्ने अप्रेसन पनि हुन सक्छ वा छाती नै चिरेर मुटुको बाइपास सर्जरी नै पनि गर्नुपर्ने हुन सक्छ।
बिरामीको उपचारको प्रकृतिअनुसार केही औषधि जीवनभरि नै खानुपर्ने पनि हुन सक्छ। औषधि सुरुमा धेरै डोजको हुन्छ भने केही औषधि अप्रेसन गरेको ६ महिनापछि कम डोजको हुन सक्छ। तर हृदयाघात भएको बिरामीले केही औषधि जीवनभरि नै खानुपर्छ। अप्रेसन गरेर मुटुको नसा खोलिएको हुन्छ, त्यो नसालाई खुलाइराख्न औषधि आवश्यक रहन्छ।
औषधि सेवन गरिरहेका बिरामीले कस्ता कुरामा ध्यान दिनुपर्छ?
हृदयाघात भइसकेपछि सामान्यतया ६ हप्तासम्म भारी काम नगर्न भन्छौं। हृदयाघात भइसकेपछि उपचारको ६ हप्तादेखि ३ महिनासम्ममा बिरामी सामान्य जीवनमा फर्कन सक्छन्। औषधि नियमित खाने र आफ्नो नियमित काम गर्न सक्छन्।
अर्को कुरा, हृदयाघातले मुटुलाई कतिसम्म ड्यामेज गरेको छ, त्यसको आधारमा कतिसम्म काम गर्न सक्छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यदि बिरामी हृदयाघात भएको तीन घण्टा भित्रमा अस्पताल आएर तत्काल अप्रेसन भएको छ भने ती बिरामीले पहिला जस्तो काम गर्थे, त्यस्तै काम गर्न सक्छन्।
तर, ढिलो उपचार हुँदा मुटुमा ड्यामेज पनि धेरै भएको छ भने त्यस्तो बिरामीले धेरै धपेडी हुने काम गर्न सक्दैनन्। यस्ता बिरामीले भने सामान्य घरायसी काम, कार्यालयको बसेर गर्ने काम गर्न सक्छन्।
त्यसपछि खानपिन र जीवनशैलीमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। खानपिनमा चिल्लो नखाने, कोलेस्टेरोल लेबल कम गर्ने, प्रेसर–सुगरलाई कन्ट्रोलमा ल्याउनुपर्छ। नियमित शारीरिक व्यायाम गर्नुपर्छ। स्वास्थ जीवनशैली अपनाउँदा समस्या फेरि दोहोरिने सम्भावना कम रहन्छ।
अत्यमा?
युवामा हृदयाघातको समस्या बढ्दै गएको छ भन्ने बुझेर युवाहरुले आफ्नो खानपान र जीवनशैलीलाई सुधार गर्ने प्रण गर्नुपर्छ। र, यसबारे जनचेतना जगाउनुपर्छ। पहिलापहिला मुटुको परीक्षण पुरुषले ४० वर्षपछि र महिलाले ५० वर्षपछि नियमित गर्नुपर्छ भन्ने गरिन्थ्यो, तर अहिले युवामा पनि यो समस्या बढेकाले आफूमा समस्या नै नभए पनि ३० वर्ष उमेरदेखि नै आफ्नो मुटु कस्तो छ भनेर परीक्षण गर्नुपर्छ। यदि कुनै समस्या रहेनछ भने १ वा २ वर्षमा नियमित परीक्षण गराउनुपर्छ। मुटुरोगको समस्या भएका बिरामीले भने चिकित्सकको परामर्शअनुसार नियमित परीक्षण गराइराख्नुपर्छ।
मुटुलाई स्वस्थ राख्न धेरै चिल्लो, पिरो नखाने, नियमित शारीरिक व्यायाम गर्ने, कम्तीमा हप्तामा ५ दिन २० देखि ३० मिनेट स्याँस्याँ हुने गरी छिटोछिटो हिँडेको राम्रो हुन्छ।
अर्को महत्वपूर्ण कुरा, परिवारमा कसैलाई हृदयाघातको समस्या छ भने परिवारका अन्य सदस्यले पनि समयमै मुटु परीक्षण गराउनुपर्छ।