चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको भर्ना प्रक्रियामा गरेको म्याचिङ प्रति असन्तुष्ट जनाउँदै डाक्टर विद्यार्थीहरु आन्दोलनमा छन्। विद्यार्थीहरुले आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गराएका छन्। आयोगविरुद्ध विद्यार्थीहरु आन्दोलित भइरहँदा समस्या समाधानका लागि आयोगले गरेका प्रयास लगायतका विषयमा आयोगका उपायध्यक्ष डा श्रीकृष्ण गिरीलाई स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। डा गिरीलाई सोधिएको ७ वटा प्रश्नको जवाफ यसप्रकार छन् :
चिकित्सा शिक्षा आयोगविरुद्ध डाक्टर विद्यार्थीहरु किन आन्दोलनमा उत्रेका हुन्? यसलाई आयोगले कसरी हेरेको छ?
यो अदालतमा भएको विषय भएकाले बोल्न मिल्दैन। हिजो पेसी थियो, सर्यो। आयोगको वेभसाइडमा विद्यार्थी भर्ना प्रक्रिया, म्याचिङ प्रणालीबारे डिटेलमा लेखेको छ। त्यो कुरामा चित्ता नबुझेर उहाँहरु सर्वोच्चमा जानुभएको हो। अब सर्वोच्चले जे निर्णय गर्छ हामी त्यही मान्छौं।
डाक्टर विद्यार्थीले सडकमा प्रदर्शन गर्दै उठाएका मागका विषयमा आयोग टुलुटुल हेरेर बस्न मिल्छ त?
अब आफ्नो अधिकारको लागि बोल्नु स्वभाविक नै हो। अहिलेको बेलामा आफूलाई चित्त नबुझेका कुरामा आवाज उठाउने, अरुलाई जानकारी गराउनु स्वभाविका नै होला। तर अदालतमा गइसकेपछि अरु कुराहरु गर्न जरुरी छैन। अदालतले जे भन्छ हामी त्यही मानिहाल्छौं नि।
आयोगका हरेक विषय अदालतले नै टुंग्याउनुपर्ने अवस्था किन आयो?
हरेक विषय अदालतले टुंग्याउनु पर्दैन। जे कुराहरु हामीले गरिरहेका छौ। ती हरेक विषय अदालतले टुंग्याएर गरेको होइन। आयोगको ऐन, नियम, कार्यविधि अनुसार काम गरिरहेको छ। जे मा चित्त बुझ्दैन त्यो अन्तिम हिसाबले न्यायको लागि जाने ठाउँ अदालत नै हो।
विद्यार्थीहरुले म्याचिङ प्रणालीमाथि नै प्रश्न उठाइरहेका छन्। आयोगले गरेको म्याचिङ वैज्ञानिक नै छ भन्ने तपाईंहरुको निष्कर्ष हो?
जुन हिसाबले आयोगको ऐन र कार्यविधि बनेको छ। हामीले त्यसैलाई फलो गरेका हौं। जे कुराहरु नियम ऐनले दिएको हो त्यही अनुसार भर्ना प्रक्रिया अगाडि बढाएका हौं। ऐन भन्दा बाहिर त हामी जान सक्दैनौं। त्यो भन्दा बाहिर गएका छौं र अदालतले करेक्सन गर्यो भने हामी त्यसैलाई फलो गर्छौं। अहिले त ऐन, नियम कार्यविधिमा जे सिस्टम छ त्यसैलाई नै आयोगले फलो गरेको हो। त्यसैले हामीले गरेको म्याचिङ वैज्ञानिक छ।
यदी आयोगले गरेको म्याचिङ ठिक छ भने यो कुरा विद्यार्थीलाई किन बुझाउन सक्नुभएन?
हामीले यो कुरा विद्यार्थीहरुलाई बुझाइरहेका छौं। विज्ञप्ति पनि निकालेका छौं। ऐन नियममा जे छ त्यही अनुसार परीक्षा दिएर म्याचिङ निस्किएको हो। बीचमा के कुरामा चित्त नबुझेर उहाँहरु न्यायलयमा जानुभयो त्यो थाहा भएन। आफूलाई अन्याय परेको महसुस गरेर न्यायलय जानु स्वभाविक नै हो।
विद्यार्थीहरुले अहिले आयोगले गरिरहेको म्याचिङमा योग्यताक्रम मिलेन भनेका छन् नि!
हामीले त अहिलेको ऐनलाई मान्ने हो। अब कसैलाई पहिलाको कुरा ठिक छ जस्तो लाग्छ होला कसैलाई अहिलेको ऐन ठिक लाग्छ होला। यो भन्न पाउनुभयो तर गर्न त अहिलेको नियम जे छ त्यही गर्ने हो।
आयोगको भर्ना प्रक्रियामा हरेक पटक विवाद आइरहेको छ, तपाईंहरु ऐन अनुसार ठिक छ भन्नुहुन्छ। ऐनमै समस्या हो कि के हो? यो विवाद किन आइरहेको छ?
आयोगको ऐन, कानुनमा समस्या देखियो मिलाउनुपर्ने देखियो भने त्यो मिलाउँदै जाने हो। ऐन परिर्वतन गर्न सम्भव छ। अहिले जुन ऐन नियम अनुसार विद्यार्थीको भर्ना प्रक्रिया सुरु भयो। जुन पक्रियाबाट परीक्षा लिएर रिजल्ट निस्किएको छ। त्यसमा अर्को नियम बनाएर जान सकिँदैन। यो त फेरि नियमकै अपहेलना गरेजस्तो हुन्छ। जुन नियमलाई मानेर विद्यार्थीले परीक्षा दिनुभयो। जसरी नाम निस्कियो त्यो नियम हामी आफैंले मेट्न सक्दैनौं। अदालतमा भएको विषय धेरै बोल्न मिल्दैन। अरु बोल्ने कुरा केही छैन।