नेपालमा हप्तौ देखि एक अंकमा स्थिर रहेको कोरोना संक्रमितको संख्या केहि दिनदेखि बढेर दुई अंकमा पुगेको छ। भारतमा पनि कोरोना संक्रमितको संख्या बढेसंगै नेपालमा पनि आगामी दिनमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आँकलन गरिएको छ।
भारतमा ओमिक्रोन भेरिएन्टको उपप्रजातिहरु मिलेर बनेको हाईब्रिड भाइरस 'एक्सबीबी.१.१६' लाई कोरोना संक्रमण बढ्नुको कारक मानिएको छ। तर नेपालमा सन् २०२२ को अन्तमा जीन सिक्वेन्सिङ गरिएपछि तत्पश्चात कोरोनाको कुन भाइरस अस्तित्वमा छ भनेर परीक्षण गरिएको भने छैन। यद्यपि विगतमा भारतमा कोरोनाको लहर बढ्दै जादा त्यो तरंगित भएर ढिलो चाडो नेपालसम्म आइपुग्ने गरेको अनुभव भने छ। यसर्थ नेपालमा हाल भारतमा देखिएको 'एक्सबीबी.१.१६' भाइरस हुनसक्ने/आइपुगेको अनुमान भने गर्न सकिन्छ। तर पनि पुष्टि भने जीन सिक्वेन्सिङ पछि मात्र हुनेछ।
भारतमा फैलिएको 'एक्सबीबी.१.१६' हाईब्रिड भाइरसको लक्षण मूल ओमिक्रोन भाइरसमा देखिदै आइरहेको जस्तो रहेको भनेर विभिन्न भारतीय मिडियाहरुमा उल्लेख गरेको पाइन्छ। अर्थात् भाइरस नयाँ भएपनि लक्षणमा भने फरक नदेखिएको भनिएको छ। तर नेपालमा लेखकले भने केहि फरक र ओमिक्रोन भन्दा अगाडिको भेरिएन्टहरुमा मुख्य लक्षणको रुपमा देखिएको/मानिने स्वाद र गन्धमा ह्रास हुने समस्या हाल फेरि कोरोना संक्रमितमा देखा पर्न थालेको देखेको छ।
यसर्थ ओमिक्रोन भेरिएन्टको उदयसंगै मुख्य लक्षणको रुपमा नरहेको स्वाद र गन्धमा देखिने समस्याले फेरि मुख्य लक्षणको रुपमा कमब्याक गरेको जस्तो देखिन्छ।
हाल कोरोना संक्रमितमा देखिएका मुख्य ६ लक्षणहरु निम्न छन।
१) स्वाद र गन्ध थाहा नपाउने।
२) जाडो हुने (तर ज्वरो उच्च नदेखिने)।
३) आँखाको गेडी दुख्ने।
४) टाउको र शरीर दुख्ने।
५) अत्यधिक थकान महसुस हुने।
६) खोकी लाग्ने।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)