काठमाडौं– एमबिबिएस पास गरेर भर्खरै डाक्टर भएका जो कोहीको चाहना हुन्छ– अब पढेअनुसारको मेडिकल प्राक्टिस गर्ने। आफूले पढेअनुसारको मेडिकल प्राक्टिसअन्तर्गत नयाँ डाक्टरको सोचाइ हुन्छ, रुचि र अध्ययनको विषयसँग सम्बन्धित रोगका बिरामी हेर्ने, उपचार गर्ने। सकेसम्म आफूभन्दा सिनियर पनि भएको र आफ्नो रोजाइमा परेको विषयअनुसारका बिरामी भेटिने अस्पतालमा काम गर्ने चाहना नयाँ चिकित्सकमा हुन्छ।
सन् २०१३ मा एमबिबिएस अध्ययन पुरा गरेपछि डा रण बहादुर बोगटीको चाहना पनि यस्तै थियो। तर उनको चाहना पढाइ पूरा गर्नेवित्तिकै पुरा हुने अवस्था थिएन।
सरकारको छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका उनले दुर्गममा २ वर्षको सेवा गर्नुपर्ने अनिवार्य सर्त थियो।
एमबिबिएस नि:शुल्क अध्ययन गर्नुअघि उनले त्यो सर्त पुरा गर्ने सहमति स्वास्थ्य मन्त्रालयसँग गरेका थिए। अध्ययन सकिएपछि स्वास्थ्य मन्त्रालयले उनलाई दुर्गम जिल्ला मुगुको मुगु अस्पतालमा खटायो।
‘मेरो रोजाइ थिएन मुगु, एमबिबिएस अध्ययन गरेर डाक्टर भइयो, फ्रेस नलेज र मेडिकल कलेजमा पढ्दा छोएका मेडिकल उपकरणसँग काम गर्ने रहर थियो,’ डा बोगटी सम्झन्छन्, ‘मुगु जस्तो दूर–दराजमा जानु पर्यो ममा छुट्टै निराशा थियो।’
तर परिवारले भने दुर्गममै जन्मिएको मान्छेले दुर्गममा सेवा गर्नुपर्छ भनेर सम्झाए।
२ वर्षको करार सेवा गर्न स्वास्थ्य मन्त्रालयको नियुक्ति पत्र र झोला भिरेर उनी अँध्यारो मुख लगाउँदै काठमाडौंबाट मुगुका लागि हिँडे।
चिकित्सा सेवाको पहिलो जागिर मुगु अस्पतालबाट सुरु गरे।
काठमाडौंबाट खिन्न मन लिएर मुगु पुगेका डा बोगटी बिस्तारै त्यहिँ रमाउन थाले। मुगुमा २ वर्ष सेवा गरेपछि उनलाई लाग्न थाल्यो– मैले दुर्गमका बिरामीलाई नै सेवा दिनुपर्छ।
‘शहरमा एउटा बिरामीलाई ४/५ जना डाक्टर उपलब्ध हुन्छ, तर मुगुमा मेडिकल अफिसर नियमित बसेर बिरामी हेर्नु पनि ठूलो कुरा थियो,’ डा बोगटीले सुनाए, ‘ त्यो अवस्था देख्दा मैले सेवा दिनुपर्छ भन्ने लाग्यो।’
मेडिकल अफिसर मात्र भएर बिरामी हेर्दा र विशेषज्ञ चिकित्सक दुर्गममा नहुँदा बिरामीले भोगेका कयौं कठिनाइ नजिकबाट नियाल्ने अवसर पनि पाए उनले।
जसले गर्दा उनलाई चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्ययन एमडिजिपिमा गरी विशेषज्ञ भएर फेरी दुर्गममै सेवा गर्ने प्रेरणा मिल्यो।
‘नैराश्यता बोकेर दुर्गममा गएको व्यक्ति, त्यहाँ गएर काम गरेपछि बिरामीको माया र सम्मानले मेरो माइन्डसेट नै चेञ्ज भयो,’ उनले भने, ‘ओहो! मैले दुर्गमका बिरामीका लागि केही गर्नुपर्छ भन्ने लाग्यो र मैले एमडिजिपी अध्ययन गर्ने निर्णय लिएँ।’
सन् २०१६ मा उनले एमडिजिपी अध्ययन गरी फेरि तत्कालीन दुर्गम भनिएको जिल्ला सुर्खेतको मेहलकुना अस्पतालमा २ वर्ष सेवा गरे। सरकारकै छात्रवृत्तिमा एमडिजिपी अध्ययन गरेपछि सरकारको सर्तअनुसार नै उनले २ वर्ष त्यहाँ सेवा गरे।
सरकारी करार सम्झौता पछि डा बेगटीलाई जहाँसुकै सेवा गर्न छुट थियो। तर सरकारी सम्झौता सकिएपछि पनि उनी फेरि अर्को दुर्गम जिल्ला रोल्पाको रोल्पा अस्पतालमा काम गरिरहेका छन्।
आफूले दुर्गममा सेवा गर्दा छुट्टै आनन्द मिल्ने डा बोगटीले बताए। उनी भन्छन्, ‘दुर्गममा सेवा गर्दा जस्तो सन्तुष्टि शहरमा काम गर्दा पाउँदिन होला जस्तो लाग्छ।’
आमाको दुखान्त कहानीले डाक्टर बनेका बोगटी
अछाममा जन्मिएका डा बोगटीको पारिवारिक पृष्ठभूमि सामान्य नै छ। उनीसहित ५ सन्तानको लालनपालन र शिक्षाको जिम्मेवारी उनका बुवामा थियो। आमा घरको काम गर्ने र छोराछोरीको स्याहार गर्ने बुबा भारतमा रोजगारी गरेर कमाउने। डा बोगटीभन्दा अगाडि जन्मिएका उनका एक दाइ सामान्य ज्वरोमा औषधि उपचार नपाउँदा सानैमा वितेका थिए।
जसको गहिरो चोट बोगटीको आमाको मनमा थियो। जसकारण बोगटी सानै हुँदा उनकी आमा अछामको घर छाडेर माइतीको सहयोगमा नेपालगञ्जमा बसाइ सरिन्।
ज्वरोको औषधि उपचार नपाएर आफ्नो सन्तान बितेको कहानी आमाले सधैं सुनाइरहँदा बोगटीको मनमा पनि त्यसले गहिरो छाप छाडेको थियो। बच्चाबेला देखि गढिएर बसेको पीडाले उनलाई चिकित्सक बन्ने प्रेरित गर्यो।
‘म भन्दा अगाडि जन्मिएको छोरा अछाममै ज्वरोले थलिएर उपचार नपाएर बितेको कुरा ममीले सुनाइरहनुहुन्थ्यो,’ बोगटीले सुनाए, ‘ममीले अछाममा बस्दा मेरो अन्य छोराछोरीले पनि ज्यान घुमाउन पर्छ भन्ने सोचेर बसाइ नै सर्नुभयो। यो कुरा सुनेर मलाई सानैदेखि यस्तो उपचार नपाएर कसैले मर्न नपरोस्, म उपचार गर्नेछु भन्ने लागेर मैले डाक्टर बन्ने सोच बनाएँ।’
पढाइमा सबै अब्बल, छात्रवृत्तिमा एमबिबिएस र एमडिजिपी
आमा नेपालगञ्ज र बुबा भारतमा बस्ने भएकाले बोगटी पनि कहिले भारत कहिले नेपाल बस्न थाले। उनको प्रारम्भिक शिक्षाको सुरुवात भारतमा नै भयो। कक्षा १ देखि भने उनलाई आमाले नेपालगञ्जको जयबागेश्वरीमा भर्ना गरिदिइन्।
उनले कक्षा १० सम्म कहिलै दोस्रो हुन परेन। उनी सबै कक्षामा प्रथम हुन्थे। २०६६ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे। पढाइमा अब्बल भएकाले पनि उनले स्कूल पढ्दादेखि नै छात्रवृत्ति पाउँदै आए। एसएलसी पास गरेपछि भने उनी बुबासँगै भारत गए र प्लस टुमा भारतको हैदराबादमा विज्ञान विषय पढे।
प्लस टु अध्ययन पुरा गरेपछि उनी फेरि नेपाल आए र एमबिबिएस अध्ययनको तयारी गरे।
सन् २०१३ मा उनले सरकारको छात्रवृत्तिमार्फत भैरहवाको युनिभर्सल मेडिकल कलेजमा एमबिबिएस अध्ययन सुरु गरे।
परिवारको आर्थिक अवस्था सामान्य भए पनि छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि आफ्नो डाक्टर बन्ने सपना पुरा गर्न सकेको बोगटी बताउँछन्।
‘मेरो पढाइ राम्रो भएकाले मलाई पैसाका कारण डाक्टर बन्न नपाउने हो कि भन्ने डर लागेन, छात्रवृत्तिमै नाम निकालेर एमबिबिएस पढेँ,’ उनले भने, ‘पैसा तिरेर पढ्न परेको भए त पढ्न सम्भव नै थिएन। संघर्ष गरेर नै पढेका हौँ।’
उनले एमडिजिपीको अध्ययन पनि सरकारको छात्रवृत्तिमार्फत् नै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पुरा गरेका हुन्।
एमडिजिपी अध्ययनपछि दोस्रोपटक दुर्गम जाँदा भने आफू खुसीका साथ गएको डा बोगटी बताउँछन्।
‘दोस्रोपटक त म खुसी भएर दुर्गम क्षेत्रमा सेवा गर्न गएको हुँ, सुर्खेतको मेहलकुना अस्पताल पनि त्यतिबेला ‘ख’ वर्गको दुर्गम क्षेत्रभित्र पर्थ्यो,’ उनले सुनाए।
दुर्गममा सेवा गर्दा
जिल्ला अस्पताल मुगुमा काम गर्दा डा बोगटीले रुघाखोकी, निमोनिया तथा झाडापखाला, चिसोका कारण हुने समस्या, छालामा घाउखटिरा, दम, टिभीका बिरामीहरु धेरै हेरे। २५ बेडको अस्पताल भने पनि पूर्ण रुपमा सञ्चालनमा आएका बेड भने १५ मात्र थिए। तर ओपीडीमा आउने बिरामीहरु धेरै टाढा टाढादेखि हिँडेर आएका हुन्थे।
मुगुमा बसेर काम गर्दा अस्पतालमा सिटामोलकै अभावले बिरामीको उपचारमै समस्या भएको कयौं घटनाहरु डा बोगटीले भोगेका, बेहोरेका छन्।
‘मुगुमा काम गर्दा त सामान्य औषधि सिटामोल नै कति अभाव हुन्थ्यो, बाटो छैन, प्लेनमा ल्याउन पर्ने, हिउँ पर्दा कति दिन कुर्न पर्थ्यो, सिटामोल समेत समयमा आइपुग्दैनथ्यो,’ मुगुमा सेवा गर्दाको अनुभव सुनाउँदै बोगटी भन्छन्, ‘अस्पतालमा अभाव भएर स्वास्थ्यचौकीहरुबाट खोजेर पनि व्यवस्थापन गरिन्थ्यो।’
मुगु अस्पताल पछि उनले दोस्रोपटक सरकारको सर्तअनुसार सुर्खेतको मेहलकुना अस्पतालमा पनि २ वर्ष काम गरे।
मुगु अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गरेका उनी मेहलकुना अस्पतालमा भने एमडिजिपी डाक्टरको रुपमा थिए।
विशेषज्ञ डा भएर गएका उनले त्यहाँ बिरामीको स्वास्थ्य जाँचसँगै महिलाहरुको शल्यक्रिया गरी सुत्केरी गराउने, हर्नियाको अप्रेसन लगायत सामान्य शल्यचिकित्सा सेवाहरु पनि दिन्थे।
२ वर्षको सेवा पुरा भएपछि उनले निक साइमन्स नामक गैर सरकारी संस्थामार्फत् तलब सुविधा पाउने गरी रोल्पाको रोल्पा अस्पतालमा काम गरिरहेका छन्। उनले रोल्पा अस्पतालमा काम गरिरहेको १६ महिना भयो।
रोल्पाका बिरामी र त्यहाको वातावरणसँग उनको आत्मियता बढेको छ।
देशमा भएको राजनीतिक परिवर्तन ‘संवाहक’ मानिने ‘जनयुद्ध’को उद्गमस्थल मानिएको रोल्पाका मानिसहरु सोझासिधा रहेको उनले सुनाए। ‘रोल्पाका मानिसहरु सोझा रहेछन्, डाक्टरहरुलाई त धेरै माया गर्छन्,’ उनले सुनाए।
जब बिरामीले एक बोरा तरकारी ओपिडीमै ल्याइदिए
मुगु अस्पताल र मगमगडी १५ मिनेटको पैदल बाटो। गाउँको बाटो हिँड्दै जानुपर्थ्यो। हरेक घरका स्थानीयले आफ्नो घरमा बोलाउँदा उनीहरुसँग बोल्दा–बोल्दै जाँदा डा बोगटी १५ मिनेटको बाटो ४५ मिनेटमा मात्र पुग्थे।
स्थानीयले घरमा जे बनाए पनि माया गरेर डा बोगटीलाई खान बोलाउँथे। उनी पनि स्थानीय स्तरमा जे छ त्यो सहज स्वीकार गरिदिन्थे। जसले गर्दा पनि उनी गाउले सबैका प्रिय डाक्टर थिए।
मुगुका ती दिनहरुको उनलाई अहिले पनि सम्झना आउछ। ‘घरमा पकाएको कोदोको रोटी खान बोलाउने, बारीमा फलेको आरु, आलुबखडा खान दिने, घरै–घरैको बाटोमा कोही न कोहीले बोलाइहाल्नुहुन्थ्यो,’ उनले सुनाए, ‘मलाई गाउँलेहरुसँग बोल्दै हिँड्न मनपर्ने। १५ मिनेटको बाटो म ४५ मिनेट लाएर पुग्थें।’
गाउँलेहरुले माया गरेर गर्ने आतिथ्यताले पनि आफूलाई मुगुमा रहेर काम गर्न सहज भएको उनी बताउँछन्।
सुर्खेतमा रहेर काम गर्दा पनि उनले बिरामीको आत्मियता निकै पाए।
अस्पतालमा उपचारका लागि आउँदा समेत बिरामीहरुले स्थानीय दालको बोरा नै बोकेर आउँथे।
‘ओपीडीमा बिरामी हेर्न बसेको थिएँ। एकजना बिरामीले त सिमीको दालको बोरा नै बोकेर ल्याइदिनुभएछ,’ उनले सम्झिए, ‘बिरामी हेर्न लागेको छु, डाक्टरसाब तपाईलाई ल्याइदिएको राख्नुस् भनेर दालको बोरा दिनुहुन्छ। के गर्ने गर्ने। नलिँदा पनि उहाँहरुको मन दुख्ने। अस्पतालको मेसका खाना पकाउने दाइहरुलाई बोलाएर दिन्थेँ।’
रोल्पा अस्पतालमा पनि बिरामीले कुखुरा, केरा ल्याइदिने गरेको र आफूले मासु नखाने भए पनि स्थानीयको कोसेली अस्वीकार गर्न नसक्दा अस्पतालका अरु सहकर्मीलाई दिने गरेको उनले सुनाए।
डा बोगटीले भने, ‘पहिला पहिला त मलाई बिरामीले ल्याइदिएको कोसेली लिनै अप्ठेरो लाग्थ्यो, नल्याइदिनु भन्थेँ, तर उहाँहरुले सम्मानले, मायाले दिएको कुरा नलिदा उहाँहरुको मन दुख्छ भन्ने सोचेर लिन्थे र अस्पतालमा सबैलाई बाँडिदिन्थे।’
अस्पतालका अन्य कर्मचारीसँग परिवारजस्तै भएर बसेका उनी दुर्गममा सेवा गर्दा समय बितेको पत्तो नहुने बताउँछन्।
‘दुर्गममा सेवा गरेर म रमाइरहेको छु, दुर्गम क्षेत्रमै साढे ५ वर्ष सेवा गरिसकेँ। त्यो साढे ५ वर्ष कतिबेला सकियो पत्तो छैन,’ उनले भने, ‘अहिले पनि रमाइरहेको छु।’
रोल्पामा भेटेका दुई बिरामी जसलाई उनी भुल्न सक्दैनन्
दुर्गम जिल्लाहरुमा रहेर डा बोगटीले धेरै बिरामीको उपचार गरेका छन्। आफूले उपचार गरेका सबै बिरामी र उनीहरुको रोगबारे फाइल नपल्टाइ सबै कुरा सधैं सम्झना हुँदैन। तर डा बोगटीले रोल्पामा भेटेका २ बिरामीलाई भने भुल्न सक्दैनन्।
यी दुई बिरामीलाई उनी किन सधैं सम्झन्न् ? डा बोगटीले विस्तार यसरी बताए।
पहिलो बिरामी– दुर्गममा जनचेतनाको कमी हुन्छ । तत्काल निर्णय लिनुपर्दा बिरामीका आफन्तका कारण पनि समस्या उत्पन्न हुन्छ। रोल्पा अस्पतालमै एकपटक २४ घण्टाको प्रसव व्यथा भइसकेको गर्भवतीलाई धेरै गाह्रो भएर अस्पतालमा ल्याइयो। नर्मल डेलिभरी हुन १० घर खुल्नुपर्छ। उहाँको १ घर मात्र खुलेको थियो। उहाँसँगै अस्पतालमा रेफर भएर आएका सबैले शिशु जन्माइसकेका थिए, तर उहाँको भने सामान्य डेलिभरी हुने अवस्था थिएन।
२४ घण्टासम्म प्रसव पीडा भएर पनि नर्मल डेलिभरी हुने अवस्था नभएपछि तत्काल अपरेशन गराउनुपर्ने हुन्छ। हामीले बिरामी र बिरामीका आफन्तलाई तत्काल अपरेशन गरेर प्रसुति गराउनुपर्ने बतायौं। तर बिरामीका आफन्तले अपरेशन गर्नै नमान्ने गर्भवती महिलाको सासु र आमाजुले हामीले पनि ३/४ दिन पीडा सहेर जन्माएको त हो भनेर अपरेशन गर्न मान्दैनन्। बिरामीको अवस्था जटिल हुन लागिसकेको थियो।
त्यसपछि हामीले बिरामीका आफन्तलाई अपरेशन नगर्दा बिरामीलाई जे पनि हुनसक्छ, त्यतिबेला तपाईंहरु कारबाहीमा पर्न सक्नुहुन्छ भनेपछि बल्ल अपरेशन गर्न दिए।
अपरेशन गर्न केही समय मात्र ढिला भएको भए पाठेघर नै फुट्ने अवस्था थियो। ती महिलाको पहिला पनि २ पटक गर्भपतन भएको अवस्था रहेछ। यसरी पनि गर्भवती महिलालाई अपरेशन गरेर सुत्केरी गराइयो। पछि आमा बच्चा दुबैलाई राम्रो भयो। त्यसपछि भने सुत्केरी महिला उनका आफन्त सबै खुसी भए। यो घटना म सधैं सम्झन्छु।
अर्को घटना पनि रोल्पाकै हो। ३० प्रतिशत जलेर आएको बिरामीलाई आईसीयू चाहिने अवस्था हुन्थ्यो। तर हामीले एक महिनासम्म वार्डमा राखेर उपचार गरेर ठिक बनाएका थियौं। बिरामीलाई छारे रोग रहेछ। आगोमा परेर खुट्टा जलेको रहेछ। तर घरेलु उपचार गरेर अस्पताल नआइ बसेको बिरामी खुट्टा कुहिन थालेपछि मात्र अस्पताल आइपुगेका थिए। करिब ६० वर्षका वृद्ध अवस्थाका ती व्यक्तिलाई परिवारले पनि सुरुमा अस्पताल ल्याएनन्। समस्या धेरै बढेपछि मात्रै अस्पताल ल्याएका थिए। आर्थिक कारणले पनि बिरामी थप सुविधासम्पन्न अस्पतालमा जान सक्ने अवस्था थिएन।
उहाँलाई करिब १ महिना अस्पताल राखेर घाउ राम्रोसँग सफा गरेर उपचार गरेर घर पठाएका थियौं। यो केस म धेरै सम्झन्छु
जनयुद्धमा चर्चामा आएको रोल्पामा जनयुद्धको अन्त्यपछि विकासको गतिमा भने परिवर्तन हुन नसकेको र स्वास्थ्य क्षेत्रका समस्याहरु पनि जस्ताको जस्तै रहेको उनले बताए।
‘संघ (केन्द्र सरकार)ले ५० बेडको बनाउने भनेपनि २५ बेडको मात्र अस्पताल छ, पर्याप्त जनशक्ति पनि छैनन्,’ उनले सुनाए, ‘राज्यले नीति बनाउँदा देशको भुगोल र विकटताअनुसार स्वास्थ्यका जनशक्तिलाई तलबसुविधा दिनुपर्छ, शहर र दुर्गममा समान सेवा सुविधा भएपछि डाक्टर दुर्गम जानै खोज्दैनन्। त्यसैले दुर्गममा सेवा दिने चिकित्सकलाई थप प्रोत्साहित गर्नुपर्छ।’
सुरुमा दुर्गम जानै नचाहेका डा बोगटी अहिले दुर्गमकै स्वास्थ्य सेवा दिँदा खुसी छन्। चिकित्सा क्षेत्रमा प्रवेश गरेका नयाँ पिँढीलाई उनी दुर्गममा सेवा गर्न सुझाव दिन्छन्।
‘नेपाल शहर मात्र होइन, दुर्गम क्षेत्र पनि हो, त्यहाँका बिरामीको सेवा गर्दा उनीहरुले गर्ने व्यवहार र सम्मानले चिकित्सकलाई जीवनभरको प्रेरणा र खुसी मिल्छ,’ उनी भन्छन्, ‘ छात्रवृत्तिकै चिकित्सक भए पनि २ वर्ष दुर्गममा सेवा गर्दा दुर्गमको स्वास्थ्य सेवा प्रवाहमा धेरै सहज हुन्छ।’
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्गममा बस्ने वातावरण सरकारले पनि बनाउनुपर्ने डा बोगटी बताउँछन्।