केही दिन यता भारतमा एचथ्री एनटु फ्लु व्यापक रुपमा फैलिँदै गएको र केही व्यक्तिको मृत्यु समेत भएको भनेर विभिन्न भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। नेपालमा पनि सन् २०२३ को सुरुवातदेखि नै एचथ्री एन टु फ्लु भाइरस ह्वात्तै सक्रिय भएको देखिन्छ।
भारत र नेपालमा फ्लु अहिले सक्रिय हुनु स्वाभाविक नै मान्न सकिन्छ। पछिल्लो समय पंक्तिकारले समुदायमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएर बसेका र त्यसमध्ये कतिपयमा फ्लु ‘ए‘ र ‘बी‘ दुवै पुष्टि भएको देखेको छ। तर एचथ्री एनटु नयाँ भाइरस भने होइन।
फ्लु ए, बी, सी र डी गरी चार प्रकारमा हुन्छन्। तर मानिसमा स्वास्थ्य समस्या भने ए र बी ले बढी दिने गरेको पाइन्छ। यसमा पनि फ्लु एले विगतमा पेनडेमिकको रुप समेत लिने गरेको पाइन्छ।
कोभिड-१९ भन्दा अगाडि ‘एचवानएनवान पीडीएम ०९’ पेनडेमिकको रुपमा घोषणा भएको थियो, जुन सन् २००९ मा विश्वव्यापी भएको थियो। यो भाइरस फ्लु ए अन्तर्गतको भाइरसमा पर्छ भने यसलाई सर्वसाधारणले स्वाइन फ्लुको नामले पनि चिन्ने गर्छन्।
फ्लु ए अन्तर्गत एचथ्री एनटु भाइरस पनि पर्दछ। यसलाई हङकङ फ्लुको नामले पनि चिन्ने गरिन्छ। विगतमा एचवानएनवान पीडिएम ०९ सँगै यो भाइरस पनि देखिँदै आइरहेको छ।
सन् २०२३ को सुरुवातसँगै भने एचथ्री एनटु भाइरसले नेपालमा व्यापक प्रभाव पारेको देखिन्छ। यही भाइरसको कारणले भारतमा केही बिरामीको मृत्यु समेत भएको समाचार आएको देखिन्छ। तर नेपालमा भने यो भाइरसको कारणले मानवीय क्षति भए/नभएको पुष्टि भएको देखिँदैन। तर लेखकको अनुभवमा भने यो भाइरसले धेरै मानिसमा लक्षणहरु कडा देखाएको छ। फ्लु भाइरस मार्च महिनामा उत्कर्षको बिन्दुमा पुग्ने विगतको तथ्यांकले देखाउने गरेकोले यसको प्रभाव अरु केही हप्ता समुदायमा व्यापक रहन सक्ने अनुमान गर्न सकिन्छ।
फ्लु भाइरसको प्रकार विभिन्न भए पनि सुरक्षाका उपायहरु भने एकै हुन्छन्। कोभिड-१९ मा अपनाउन भनिएका जनस्वास्थ्यका मापदण्डका अधिकांश उपायहरु नै फ्लुबाट बच्ने उपायमा प्रयोग हुन्छन्। जस्तै: हात साबुन-पानीले राम्ररी धुने (वा सानिटाइजरको प्रयोग गर्ने), मास्क लगाउने, हात, नाक, मुख, आँखामा घरी-घरी नछुने, खोक्दा, हाच्छिउँ गर्दा पाखुराको बहुलाले छोप्ने, रुघा, खोकी, ज्वरो आएको व्यक्तिबाट टाढा रहने र सबैभन्दा राम्रो उपाय भनेको बिरामी स्वयं आफ्नो कार्यालय, विद्यालय, कलेज वा सार्वजनिक स्थलमा नगई घरमा चिकित्सकको परामर्श लिई स्वास्थ्य लाभ गर्नुलाई मान्न सकिन्छ। किनभने, संक्रमित व्यक्ति नै सार्वजनिक स्थलमा नगए धेरै मानिसहरु संक्रमित हुनबाट बच्न सक्छन्।
निम्न लक्षण देखिए फ्लु संक्रमण हुन सक्छ:
१) अचानक ज्वरो आउनु/जाडो हुनु।
२) खोकी लाग्नु।
३) घाँटी दुख्नु।
४) शरीर दुख्नु।
५) टाउको दुख्नु।
६) बालबालिकामा बान्ता तथा पखाला लाग्न पनि सक्छ।
तर, यसको निश्चित निदान भने प्रयोगशाला परीक्षणपछि मात्र गर्न सकिनेछ। फ्लु संक्रमणको पूर्ण सुधार हुन दुई हप्तासम्मको समय पनि लाग्न सक्छ। कतिपयमा भने निमोनियाको जटिलता देखिन पनि सक्छ।
जेष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला फ्लु भाइरसको जोखिममा पर्ने समूहहरु हुन्। यी जोखिम समूहमा पर्नेहरुले फ्लु विरुद्धको खोप लगाउन सक्नेछन्।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)