काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि आकांक्षा व्यक्त गर्दै दौडधुप सुरु गर्ने चिकित्सकको संख्या बढीरहेको छ। माओवादी र कांग्रेस निकट चिकित्सकहरुले उपकुलपतिका लागि दौडथुप सुरु गरेका हुन्।
उपकुलपति प्राडा डिएन शाहको चार वर्षे कार्यकाल फागुन ३० गते सिकएसँगै नयाँ उपकुलपतिका लागि आकांक्षीहरुको लबिइङ सुरु भएको हो। स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म प्राडा भुपेन्द्रकुमार बस्नेत, प्राडा बुलन्द थापा, डा गुणराज लोहनी, डा दिपक थापा, डा रतिन्द्र श्रेष्ठ र डा सुवोध अधिकारीले उपकुलपतिका लागि इच्छा राखेका छन्।
न्याम्सका वरिष्ठ चिकित्सकहरुले भने न्याम्सभन्दा बाहिरका र अवकास प्राप्त कर्मचारीलाई उपकुलपतिमा ल्याए प्रतिवादमा उत्रने चेतावनी दिएका छन्। उनीहरुले एक सयभन्दा बढी प्राध्यापक रहेको संस्थामा प्राध्यापकलाई नै उपकुलपति बनाउनु पर्ने माग पनि राखेका छन्।
'न्याम्सभन्दा बाहिरबाट उपकुलपति ल्याउँदा हालै कार्यकाल सकिएका डा डिएन साह असफल भएर जानुभयो। न्याम्स सुधारका लागि उहाँले केही गर्न सक्नु भएन,' एक वरिष्ठ प्राध्यापकले स्वास्थ्यखबरसँग भने, 'त्यसकारण अब त्यस्तो गल्ती गर्नु हुँदैन। यसका साथै सरकारी सेवामा रहँदा काम गर्न नसकेका रिटायर्ड कर्मचारीलाई उपकुलपति बनाएर बोनस खान दिनु पनि हुँदैन। त्यसो भएमा हामी प्रतिवादमा उत्रन बाध्य हुन्छौं।'
स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार न्याम्सको उपकुलपतिका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी प्राध्यापक वा मान्त्रालय सम्बद्ध निकायमा कम्तीमा एघारौं तह वा सो सरहको पदमा काम गरेको हुनुपर्ने छ।
उपकुलपतिको दौडमा रहेका आकांक्षी को कस्ता?
अहिले उपकुलपतिको दौडमा रहेका आकांक्षीमध्ये माओवादी निकट मानिएका डा बुलन्द थापा वीर अस्पतालमा दुई पटक निर्देशक भइसकेका छन्। निर्देशक हुँदा उनी अधिकांश समय विवादमा मुछिएका थिए। उनले उपचारमा लापरबाही गरेको फेला परेपछि बिरामी पक्षलाई ९ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो। डा थापालाई निर्देशक हुँदा ९१ जना कर्मचारीलाई दरबन्दीबिना नै नियुक्त गरेको भन्दै अख्तियारले कारबाही समेत गरेको थियो।
माओवादी निकट भनेर नै चिनिएका डा रतिन्द्र श्रेष्ठ पनि विवादित र न्याम्सभन्दा बाहिरका हुन्। उनी चिकित्सा शास्त्र अध्ययन संस्था आइओएमको सहायक डिन हुँदा प्रश्नपत्र बेचबेखिनमा संलग्न रहेको प्रमाण तत्कालिन समयमा जयराम गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले फेला पारेको थियो। उनीसहित तत्कालिन समयका पदाधिकारीलाई गिरी संयोजक रहेको समितिले कारबाही सिफारिस गरेको थियो।
यतिमात्र होइन उनलाई सरकारले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकबाट बर्खास्त समेत गरेको थियो। डा श्रेष्ठ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर हुँदा पनि विवादै विवादमा मुछिएका थिए। प्रतिष्ठानको काममा चासो नदिइ लामो समयसम्म अनुपस्थित भएपछि उनलाई प्रतिष्ठानकी तत्कालिन उपकुलपति डा संगिता भण्डारीले पत्रिकामा सार्वजनिक सूचना निकाल्दै हाजिर हुन आह्वान समेत गरेकी थिइन्।
उपकुलपतिकै दौडमा रहेका अर्का आकांक्षी हुन् डा दिपक थापा। उनी न्याम्सका एसोसिएट प्रोफेसर मात्र हुन्। न्याम्सको उपकुलपतिका प्राध्यापक हुनुपर्ने भन्दै चिकित्सकहरुले आवाज उठाउँदै आइरहेका छन्। डा थापाले सिटिभिएस विभागको कक्षा कोठाका लागि आश्यक पर्ने कम्प्युटर, प्रोजेक्टर लगायतका सामग्री खरिदका क्रममा कमिसन खाएको भन्दै तत्कालिन निर्देशक डा शान्ता सापकोटालाई कर्मचारीले उजुरी गरेका थिए। उनी आफूलाई माओवादी निकट चिकित्सक बताउँदै आइरहेका छन्। उनी रामबहादुर थापा बादलसँग नजिक छन्।
स्वास्थ्य मन्त्रालयबाट उमेरका आधारमा अवकाश पाइसकेका डा गुणराज लोहनी पनि उपकुलपतिको दौडमा छन्। मन्त्रालयको १२औं तहबाट अवकास पाएका उनी पनि माओवादी निकट चिकित्सक हुन्। कोरोना महामारीका समयमा चिकित्सकहरुलाई गाली गर्दै कारबाही गर्ने धम्की दिएपछि उनी पनि विवादमा आएका थिए।
डा सुबोध अधिकारी पनि उपकुलपतिको दौडमा छन्। उनी न्याम्सको रेक्टर थिए। रेक्टरको कार्यकाल सकिएपछि उनी उपकुलपतिको दौडमा हिँडेका हुन्। वरिष्ठ ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा अधिकारी भन्दा कांग्रेसबाट उपकुलपतिका लागि डा भुपेन्द्र बस्नेत बलियो उम्मेदवारका रुपमा आएका छन्।
प्राडा बस्नेतले वीर अस्पतालमा दुई कार्यकाल प्रमुखको जिम्मेवारी पुरा गरेका छन्। निर्देशकमा रहँदा सबैलाई मिलाउन सक्ने र सुधारको काम गरेको भन्दै कांग्रेसले उनलाई नै उपकुलपति बनाउन चाहेको कांग्रेसका एक नेताले जानकारी दिए।
कस्तो नेतृत्व चाहन्छन् न्याम्समा कार्यरत चिकित्सक?
न्याम्सक भनेको प्राज्ञिक संस्था हो। यो पठनपाठन तथा प्राध्यापनसँग सम्बन्धित छ। यस्तो प्राज्ञिक संस्थामा नितान्त एकेडेमिक मान्छेहरुका लागि स्थान हुनुपर्ने हो। न्याम्सको उपकुलपति भनेको प्राध्यापक नै हुनुपर्छ। प्राध्यापक भन्दा कम योग्यता र फरक व्यक्ति उपकुलपति हुनु भनेको समग्र प्राध्यापक र प्राज्ञिक संस्थाकै अपमान हो। त्यसकारण उपकुलपतिमा प्राध्यापकले नै स्थान पाउनुहुन्छ भन्ने विश्वास छ। सरकारको तहगत कर्मचारीभन्दा पनि प्रोफेसर भइसकेको व्यक्तिलाई उपकुलपति बनउँदा उसले एकेडेमिक काम राम्रोसँग गर्न सक्छ। एकेडेमिक व्यक्ति नियुक्त गरेन भने उपकुलपतिले गर्ने निर्णयहरुमै फरक पर्छ। एकेडेमिक आधारमा भन्दा पनि राजीतिक इन्ट्रेस्टको आधारमा निर्णयहरु हुन्छ। त्यसैले न्याम्सको उपकुलपति एकेडेमिक मान्छे हुनुपर्छ भन्ने लाग्छ।
- डा दिपक दत्त, महासचिव, फ्याकल्टी डाक्टर एसोसिएसन।