काठमाडौं- महाराजगन्जस्थित अन्तराष्ट्रिय मैत्री बाल अस्पतालका बाल शल्यचिकित्सक डा शान्तचन्द्र शाक्यले नेपाल मेडिकल काउन्सिलको चिकित्सकीय आचारसंहित विपरित काम गरिरहेको तथ्य फेला परेको छ। काउन्सिलमा परेको उजुरीपछि भएको छानबिनका क्रममा डा शाक्यले गुड क्लिनिकल प्राक्टिस अनुसरण नगरेको फेला परेको हो।
डा शाक्य बाल शल्यचिकित्सक हुन्। तर उनले बाल रोग विशेषज्ञका रुपमा बालबालिकाहरुलाई मनपरी ढंगले औषधिहरु प्रेस्काइब गरिरहेको फेला परेको काउन्सिल स्रोतले जानकारी दियो। अस्पतालका संस्थापक समेत रहेका डा शाक्यले बिरामी बालबालिकालाई मनपरी ढंगले धेरैभन्दा धेरै औषधि लेखिदिने गरेको गम्भीर त्रुटी भेटिएको स्रोतले जानकारी दियो।
तर काउन्सिलले भने डा शाक्यलाई सामान्य सोधपुछ र तालिमको प्रमाणपत्र बुझाएर उन्मुक्ति दिने निर्णय गरेको छ। काउन्सिलको फूल हाउसले डा शाक्यलाई गुड क्लिनिक प्राक्टिस अनुसरण गर्न र २ हप्ताभित्र काउन्सिलले तोकेको सिपिडी मोड्युलमध्ये चिकित्सकीय आचारसंहिता र प्रेस्कृप्सन लेखन तालिम सम्पन्न गरी प्रमाण पेश गर्न निर्देशन दिने र सो नगरेमा थप कारबाही गर्ने निर्णय गरेको छ।
काउन्सिलले गरेको निर्णयका विषयमा जिज्ञासा राख्दा काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले यो विषयमा कसरी सूचना पाउनु भयो? यो निर्णय म्याचुअर्ड भइसकेको छैन। यो निर्णय परिवर्तन हुन पनि सक्छ भन्ने प्रतिक्रिया दिए।
'कसरी थाहा पाउनु भयो यो विषय। यो त माइनुटमा लेखिएको विषय मात्र हो। अझै म्याचुअर्ड भएको छैन। यो विषय चेन्ज पनि हुनसक्छ नि,' डा अधिकारीले स्वास्थ्यखबरसँग भने।
काउन्सिल स्रोतका अनुसार रुघाखोकी लागेका एक बालकलाई उपचारका क्रममा डा शाक्यले दुई वटा एन्टीबायोटिक, एउटा स्टोरोइड र दुई वटा पेनकिलर प्रेस्क्राइब गरेको प्रमाणसहित उजुरी परेको थियो। सोही उजुरीपछि भएको छानबिनका क्रममा डा शाक्यले चिकित्सकीय आचारसंहिता अनुसार काम नगरेको फेला परेको हो।
'शल्यचिकित्सकले मनपरी रुपमा 'ब्ल्यांकेट थेरापी शैली’मा औषधि लेखिदिनेदेखि उपचारका प्रक्रिया अगाडि बढाइएको गम्भीर त्रुटी फेला परेको छ,' स्रोतले भन्यो, 'उहाँले एकजना मात्र नभई धेरैमा यस्तै गरी आचारसंहित विपरित काम गरेको फेला परेको छ। तर काउन्सिलले भने उहाँलाई सामान्य सजाय दिएर उन्मुक्ति दिने भएको छ।'
यस्तो छ डा शाक्यका विषयमा काउन्सिलले गरेको निर्णय
अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालका डा. शान्तचन्द्र शाक्यलाई Good Clinical Practice अनुशरण गर्न र २ हप्ता भित्र नेपाल मेडिकल काउन्सिलले तोकेको सीपीडी मोड्युल मध्ये चिकित्सिक आचारसंहिता र प्रेश्कृप्शन लेखन तालिम सम्पन्न गरी सोको प्रमाण पेश गर्न निर्देशन दिने र सो नगरेमा थप कारबाही गर्ने निर्णय भयो।