काठमाडौं- नेपाल मेडिकल काउन्सिलले मेडिसिटी अस्पतालका दुई जना चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचारका क्रममा अस्पतालका चिकित्सकले व्यवसायीक आचारण पूरा नगरेको भन्दै कारबाही गरेको हो।
काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
काउन्सिल स्रोतका अनुसार दुवै जना चिकित्सकलाई चैत ५ देखि ११ गतेसम्मका लागि निलम्बन गर्ने निर्णय भएको छ। डा शर्मा र डा मिश्रले उपचार गरेका योगेन्द्र बहादुर बस्नेतको गत जेठ २५ गते मृत्यु भएको थियो। बस्नेतलाई जेठ १७ गते उपचारक लागि मेडिसिटी अस्पताल लगिएको थियो। डा शर्माले बस्नेतको पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सुझाब दिएका थिए।
'शल्यक्रिया त राम्रै भएको रहेछ। तर त्यसपछि हुन सक्ने कम्प्लिकेसन र फलअप उपचारमा भने ध्यान दिइएको देखिएन,' काउन्सिल स्रोतले स्वास्थ्यखबरलाई भन्यो, 'बिरामीको उपचारमा खटिएका चिकित्सकहरुले शल्यक्रियापछिको फलोअपका विषयमा वेवास्ता गरेको देखिएकाले आगामी दिनमा त्यसतर्फ ध्यान दिन सचेत गराउँदै सात दिनका लागि निलम्बन गर्ने निर्णय भएको हो।'
बस्नेतको मृत्युपछि उनका छोरा समिरले उपचारका क्रममा लापरबाही भएको भन्दै दोषिलाई कारबाहीको माग सहित असार २८ गते काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीपछि काउन्सिलले गरेको छानबिनका क्रममा उपचारका क्रममा चिकित्सकहरुले व्यवसायीक आचारण पालना नगरेको फेला परेको हो।
के भएको थियो?
बस्नेतको जेठ २२ गते ल्याप्रोस्कोपी विधिद्वार शल्यक्रिया भएको थियो। बस्नेतको शल्यक्रिया सफल भएको भन्दै २४ घण्टापछि वार्डमा सारिएको थियो। तर २४ गते बेलुका ६ बजेतिर बस्नेतले शल्यक्रिया गरेको ठाउँमा दुखेको बताएपछि रक्तचाप, पल्स लगायत जाँच गरिएको थियो। त्यसक्रममा सबै नर्मल छ भनिएको थियो। त्सपछि बिरामी शौचालय जाने क्रममा अचानक लडेका थिए। लडेर घाइते भएका बस्नेतको मुख बाँगिएको थियो। त्यसपछि बस्नेतलाई दुई जनाको सहयोगमा बेडमा लगिएको विवरण काउन्सिलमा छोरा समिरले हालेको उजुरीमा उल्लेख छ।
बस्नेतका छोराले काउन्सिलमा दिएको उजुरी अनुसार शौचालयमा लडेको केही समयपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आएर बस्नेतको इको गरिएको थियो। इकोमा सामान्य रहेको भनेर आफन्तलाई भनिएको थियो। तर रक्तचाप भने बढी थियो। त्यसपछि बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नु भन्दा अगाडि बस्नेत पुन लडेका (स्ट्रोक भइसकेको) थिए। त्यसपछि बिरामीको हेमोग्लोबिन र सोडिएम कम भएको भनी नुन पानी खुवाउन र बिरामी कमजोर भएकोले हस्पिटले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाइएको थियो। तत् पश्चात बिरामीलाई पेन किलर र ग्याष्ट्राइटिसको औषधि दिइएको थियो।
ती औषधि सेवनपछि पनि बिरामीले दुखिरहेको बताएका थिए। ९ बजेतिर बिरामी फेर बेडमै ढलेका थिए। त्यसपछि मेडिकल अफिसरको सहयोगमा मनिटर लगाउने र रगत चढाउने काम भएको थियो।
राती करिब ३ बजे बिरामी अचेत भएपछि मेडिकल अफिसरले एनेस्थेसियोलोजिष्ट बोलाइ सिपिआर दिई आइसीयूमा लगिएको थियो। त्यसपछि भिडियो एक्सरे गरिएको थियो। भिडियो एक्सरेमा आन्तरिक रक्तश्राब भएको भन्दै अप्रेसन गर्नुपर्ने जानकारी दिइएको थियो।त्यसपछि अप्रेसन गरी रक्तश्राब नरोकिएको र मल्टीअर्गान फेल भएका कारण बिरामीलाई भेन्टिलेटरमा राख्नुपरेको र बाँच्ने सम्भावना न्यून रहेको जानकारी गराइएको उजुरीमा उल्लेख छ। भेन्टिलेटरमा राखिएको अवस्थामा नै बस्नेतको २५ गते करिब २ बजे मृत्यु भएको थियो।
बस्नेतको मृत्युपछि समिरले छानबिनको मागसहित अस्पतालमा निवेदन दिएका थिए। त्यसपछि डा जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले गरेको छानबिनका क्रममा बिरामीको मृत्यु हुनुभन्दा अघिल्लो दिन राती करिब १० बजे डा राजिब मिश्रले अस्पताल नै नगई बिरामीको अवस्था ठिक रहेको भनि जानकारी दिएको तथ्य फेला पारेको थियो। डा मिश्रले दिएको जानकारी अनुसार नै डा शर्माले पनि बिरामीको अवस्था ठिक रहेको बताएका थिए।
डा मिश्रले आफ्नो हात काटेका कारण उक्त दिन अस्पताल नगएको बताएका थिए।
हेरौं छोरा समिरले काउन्सिलमा हालेको उजुरीको पूर्णपाठ
श्री प्रमुख ज्यू
मितिः २०७९ । ३ । २८
नेपाल मेडिकल काउन्सिल
बाँसबारी काठमाडौं ।
विषयः सत्य तथ्य छानविन गरी दोषी उपर कारवाही गरी पाउँ ।
प्रस्तुत विषयमा मेरो बुवा स्व. योगेन्द्र बस्नेतलाई मैले नियमित स्वास्थ जाँचको लागि मिति २०७९।२।१७ गते नख्खु स्थित नेपाल मेडिसिटी हस्पिटलमा लगेको थिएँ । स्वास्थ्य जाँचको लागि उक्त हस्पिटलका डा. सुनिल शर्मासंग परामर्श गर्दा निज डाक्टर शर्माले पित्तथैलीको अपरेशन गर्नुपर्छ भन्नुभयो। वहाँले भने अनुसार नै मिति हस्पिटल भर्ना भई मिति २०७९ । २ । २२ गते मेरो बुवाको ल्याप्रोस्कोपी विधिद्वारा अपरेशन भएको थियो । मेरो बुवा उच्च रक्तचापको विरामी भएको हुँदा वहाँले प्रयोग गर्दै आउनुभएको warfarin नामक औषधी अपरेशन हुनु भन्दा ७२ घण्टा अगावै बन्द गरिएको थियो। अपरेशन गर्ने बेलामा high risk छ भनिएको र elective case मा high risk किन लिइएको सो कुरा नबुझिएको । अपरेशन पश्चात अपरेशन नर्मल भएको र करिब २४ घण्टापछि वार्डमा सिफ्ट गरिएको थियो। उक्त समयमा विरामीलाई हस्पिटलले उपलब्ध गराउने सामान्य diet खुवाई १/२ दिनमा डिस्चार्ज गर्ने कुरा बताइएको थियो । २०७९ । २ । २४ गते बेलुका करिब ६ बजेतिरबाट विरामीले अपरेशन गरेको ठाउँमा दुखेको भनेको हुँदा नर्सिङ स्टेशनमा खबर गरिएको थियो । सो पश्चात प्रेसर, पल्स नाप्दा सामान्य रहेको भनियो । तत् पश्चात विरामी ट्वाइलेट जाँदा अचानक ढल्नुभई मुख बाँगिएको थियो । २ जनाको सहयोगमा वहाँलाई नजिकैको बेडमा सुताई नर्सिङ स्टेशनमा जानकारी गराईएको थियो । त्यसपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आई echo गरी सामान्य रहेको भनियो। उक्त समयमा विरामी रक्तचाप उच्च रहेको थियो । बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नु भन्दा अगाडि पुनः ढल्नुभएको ( stroke) थियो । त्यसपछि विरामीको hemoglobin र sodium कम भएको भनी नुन पानी खुवाउन र विरामी कमजोर भएकोले हस्पिटले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाईएको थियो । तत् पश्चात विरामीलाई pain killer र gastritis को औषधी दिइएको थियो । उक्त औषधी दिँदा समेत विरामीले दुखीरहेको छ भन्नुभएको थियो । मेडिकल अफिसरले ठिक हुन्छ भन्नुभएको थियो । करिब ९ बजे तिर विरामी stroke का कारण बेडमै पुनः ढल्नुभएको थियो । तत् पश्चात मेडिकल अफिसर आई monitor लगाउने काम गरिएको थियो र रगत चढाइएको थियो । राती करिब ३ बजे तिर विरामी अचेत हुन गई मेडिकल अफिसरलाई बोलाईएकोमा निज मेडिकल अफिसरले anesthesiologist लाई बोलाई CPR दिई ICU मा लगिएको थियो। त्यसपछि मात्र भिडियो एक्स गरी internal bleeding भएको जानकारी दिइ अपरेशन गर्नुपर्ने जानकारी दिइयो । अपरेशन गरी bleeding नरोकिएको र multi organ फेल भएको कारणले विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो । भेन्टिलिटेरमा राखिएको अवस्थामा नै २०७९ । २ । २५ गते दिउँसो करिब २ बजे विरामीको निधन भयो । त्यसपछि मिति २०७९ । ३ । ६ गते सो सम्बन्धमा छानविन गरी पाउँ भनी निवेदन दिएकोमा डा. जयन्द्र बज्राचार्य नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । त्यसको करिब एक हप्ता पछि हस्पिटल गएर बुझ्दा उपचारमा संलग्न मुख्य डाक्टर सुनिल शर्माले २०७९ । २ । २४ गते राती करिब १० बजे सेकेन्ड कल डाक्टर राजिव मिश्रले विरामीको अवस्था ठिक रहेको भनी जानकारी गराएको र हस्पिटल गई जाँच गर्नु भन्दा नगईकन विरामीको अवस्था ठिक रहेको भनी गैर जिम्मेवारपूर्ण ढंगले जवाफ दिनुभयो भनी भन्नुभयो। डाक्टर राजिव मिश्रलाई बोलाई सोध्दा वहाँले हात काटेको कारणले ड्यूटी नगएको भनी अति नै गैरजिम्मेवार जवाफ दिनुभयो ।
स्वास्थ्य High risk मा रहेका विरामीलाई sodium र hemoglobin कम भएको जानकारी हुँदा हुँदै र ३ पटक stroke हुँदा समेत internal bleeding को शंका नगरी surgery मा संलग्न कुनै पनि वरिष्ठ डाक्टर उपस्थित नभई मेडिकल अफिसरको भरमा विरामी अचेत भएपछि मात्र खोजतलास गरी कारण पत्ता लगाएको हुँदा २०७९। २ । २४ गते बेलुका करिब ६ बजेबाट उपचारको लागि कुन कुन डाक्टर उपस्थित हुनुपर्ने थियो र को को भई के कुन उपचारका विधि अवलम्बन गरियो भन्ने बारेमा सत्य तथ्य छानविन गरी कारवाही गरी पाउँ ।
उक्त कार्य नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा ७क को (ङ) तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१(१) को (क) (ग) (च) (५) मा उल्लिखित आचासंहिता विपरीत देखिँदा ऐ. को नियम २३ (१) बमोजिम समेत कारवाही गरी पाउँ भनी यो निवेदन पेश गरेको छु ।
समिर बहादुर बस्नेत