केही दिन अगाडि काठमाडौंमा केही कागहरुको मृत्यु उच्च घातक मानिने बर्ड फ्लु (एच५एन१) को कारणले भएको पुष्टि भएको छ। केही हप्ता अगाडि यही बर्ड फ्लुको कारणले सयौं कुखुराहरु (घरेलु पक्षी) पनि मरेका समाचार आएका थिए।
कुखुरा वा हाँस वा पालिएको पक्षीहरुको मृत्यु अचानक भइहाले सम्बन्धित निकायले संक्रमण थप नफैलियोस भनेर विभिन्न उपायहरु अपनाउने तथा कृषकलाई सुझाव दिने गरिन्छ। तर बाहिर (समुदाय/जंगलमा) मरेका पक्षीको बारेमा भने खास सार्वजनिक सचेतना वा सुरक्षाका उपायहरु सम्बन्धी जानकारीहरु पर्याप्त दिएको पाइन्न।
पहिलो पटक सन् २०१९ मा पनि ३०० भन्दा बढी कागको मृत्यु बर्ड फ्लु एच५एन१ को कारणले भएको पुष्टि भएको थियो भने त्यसको केही दिन पछि नै एक २१ वर्षीय युवकको यहि भाइरसको कारणले मृत्यु भएको थियो। यो नै नेपालमा उच्च घातक मानिने बर्ड फ्लु एच५एन१ को कारणले मानवीय क्षति भएको पहिलो घटना थियो। व्यापक अनुसन्धानको बाबजुत पनि सो व्यक्तिमा संक्रमणको स्रोत भने पत्ता लागेन। सो समय थप अनुसन्धानका लागि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरु परिचालन गरिएका थिए।
मानिसमा बर्ड फ्लु एच५एन१ पुष्टि भएको (सन् १९९७) २० बर्ष पछि नेपालमा (सन् २०१९) मानिसमा पुष्टि भएको थियो। यद्यपि पक्षीहरुमा भने सन् २००९ मा नेपालमा पहिलो पटक पत्ता लागेको थियो। तत्पश्चात नेपालमा विशेषत यो भाइरस पालिएका पक्षीहरुमा वर्षेनी देखिने गरेको पाइन्छ। तर समुदाय या जंगलमा रहने पक्षीमा भने यो भाइरसको बारेमा वा अवस्थाको बारेमा खासै जानकारी वा अनुसन्धान भएको भने पाइदैन।
अमेरिकी संस्था सिडीसीका अनुसार निम्न अवस्थामा बर्ड फ्लु शंका गर्न सकिने छ:
यदी संक्रमण पुष्टि भएका पक्षीसँगको दुरी २ मिटरभन्दा कम र व्यक्तिगत सुरक्षा कवच प्रयोग नगरिएको र १० दिन भित्र ज्वरो आउने/जाडो हुने, टाउको दुख्ने, जिउ/जोर्नी दुख्ने, आँखा रातो हुने, श्वास-प्रश्वासमा समस्या देखिने जस्ता अवस्थामा सो व्यक्तिमा बर्ड फ्लुको शंका गर्न सकिने छ।निश्चित निदान भने प्रयोगशाला परीक्षण पछि गर्न सकिने छ।
यस्तै, कसैले सामुदायिक (वा जंगली) पक्षीलाई छोएर माथि उल्लेखित समस्या वा लक्षणहरु देखिए भने पनि बर्ड फ्लुको शंका गर्न सकिन्छ।
पक्षी पालक कृषक, पक्षी ओसार-पसार वा ढुवानी गर्ने, पक्षी बेच-बिखनमा संग्लग्न, पक्षी खरिद गर्ने तथा पक्षी बधमा संलग्नहरु बर्ड फ्लुको उच्च जोखिममा हुने गर्दछन्। संक्रमित पक्षीको मासु तथा अन्डा राम्ररी पकाएर खाने हुँदा संक्रमणको जोखिम भने हुदैन।
एच५एन१ बर्ड फ्लुको मृत्यु दर झन्डै ६० प्रतिशतसम्म देखिएको छ। यसको प्रशारण मानिसबाट मानिसमा हालसम्म सहज देखिएको छैन। तर पनि फ्लु भाइरसको स्वरुप परिवर्तन (जेनेटिक म्यूटेशन) उच्च गतिको हुने हुँदा भविष्यमा मानिसबाट मानिसमा सर्न सक्ने क्षमता विकास गर्न सक्दैन भनेर ढुक्क भै हाल्ने अवस्था भने देखिदैन। यो नै विश्वको लागि चिन्ताको बिषय पनि हो। हाल वा बेला बेलामा एच५एन१ बर्ड फ्लु प्रकोपको रुपमा देखिने गरेको र त्यसमा पनि समुदाय पक्षीहरुमा समेत देखिन थालेको र मानिसको मृत्युको कारक पनि पुष्टि भैसकेको अवस्थामा सजकता भने अपनाउनु पर्ने देखिन्छ। यसको लागि सम्बन्धित निकायले विशेष चासो दिने र सूचना मुलक जानकारी नियमित खासगरी भाइरस फैलिएको समयमा दिनु आवश्यक देखिन्छ।
(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटको संयोजकका रुपमा कार्यरत छन्।)