काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहका ७ विषयको सिट संख्या कटौती गरेको छ। आयोगको कार्यकारी समितिको फागुन १४ गतेको निर्णय अनुसार ७ विषयमा सिट संख्या अघिल्लो वर्षभन्दा घटाइएको हो।
आयोगले निर्धारण गरेको नयाँ सिटमा चिकित्सा शिक्षा तर्फको स्नातक तहमा १४ विषयमध्ये ७ विषयको सिट कटौती गरिएको छ। आयोगले निर्धारण गरेको सिट संख्या हेर्दा बिएनए, बिडिएस, बिपिएच, बिफार्मा, बिपिटी, बिएस्सी एमएलटी र बिएस्सी नर्सिङको सिटमा कटौती गरिएको छ।
आयोगले बिएनएसमा १३१०, बिडिएसमा ५६०, बिपिएचमा ८४०, बिफार्मामा ८१५, बिपिटीमा १४०, बिएस्सी एमएलटीमा ३८१ र बिएस्सी नर्सिङ १३५० सिट निर्धारण गरेको छ। अघिल्लो वर्ष यी विषयहरुमा क्रमशः १४५०, ५६५, १३५०, ८७०, १७०, ४३१ र १४६० सिट निर्धारण गरिएको थियो।
अयोगले निर्धारण गरेको अघिल्लो वर्षको सिट र यो वर्षको सिटलाई तुलना गर्दा बिएनएसमा १४० सिट, बिडिएसमा ५ सिट, बिपिएचमा ५१०, बिफार्मामा ५५, बिपिटीमा ३०, बिएस्सी एमएलटीमा ५० र बिएस्सी नर्सिङमा ११० सिट कटौती गरिएको छ।
यस पटक आयोगले निकालेको नयाँ सिट संख्यामा मेडिकल बायोकेमेष्ट्री र मेडिकल माइक्रोबायोलोजी भनेर छुट्टै सिट तोकेको छैन। विगतमा यी दुई विषयमा २०/२० सिट थियो। यस्तै आयोगले गत वर्ष बिएनएस अन्तर्गत एडल्ट नर्सिङ, कम्युनिटी नर्सिङ, पेडियाट्रिक नर्सिङ, क्रिटिकल केयर र साइक्याट्रिक भनेर छुट्टै सिट तोकेको थियो। तर यस पटक यी सबै विषयलाई बिएनएस मात्र भनेर एकमुष्ट सिट निर्धारण गरेको छ।
आयोगले यसपटक सबै विषयमा गरेर ९०१ सिट संख्या घटाएको छ। यस पटक सबै विषयमा गरेर ७ हजार ६५९ सिट संख्या निर्धारण गरेको छ। गत वर्ष ८ हजार ५६० सिट तोकिएको थियो।
आयोगले सिट निर्धारण गरेअनुसार अघिल्लो वर्ष अघिकांश विषयमा विद्यार्थी भर्ना हुने क्रममा सिट भने खाली रहेको थियो। आयोगले यसवर्ष सिट कटौती गरेको विषयहरु बिएनएसमा ५८५, बिडिएसमा ९१, बिपिएचमा ९३१, बिफार्मामा १६२, बिपिटीमा ४३, बिएस्सी एमएलटीमा १३० र बिएस्सी नर्सिङमा ५९७ सिट खाली रहेको थियो।
चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले यी विषयहरुमा अघिल्लो वर्ष ५० प्रतिशत भन्दा कम विद्यार्थी भर्ना भएका कलेजहरुमा यी विषयको सिट संख्या कटौती गरिएको जानकारी दिए।
उनले भने, ‘विद्यार्थीहरु ५० प्रतिशत पनि भर्ना भएनन्, त्यसैले यो सिट अनावश्यक छ भनेर सबै विश्वविद्यालय मेडिकल कलेजसँग छलफल गरेर नै सिट संख्या घटइएको हो।’