काठमाडौं– पेटभित्र रहेको ठूलो आन्द्रामा सिसाको बोतल भेटिएका रौतहटका एक बिरामीको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा शल्यक्रिया गरी निकालिएको छ।
मेडिकल कलेजका ग्यास्ट्रो इन्टेस्टटाइन सर्जन डा नारायण बेलबासेको नेतृत्वमा चिकित्सकहरुले रौतहटका २६ वर्षीय एक युवकको ठूलो आन्द्रामा रहेको करिब ५०० एमएलको सिसाको बोतल निकालेका हुन्।
डा बेलबासेका अनुसार ती युवक पुरानो मेडिकल कलेजमा आइपुग्दा बिरामीको ठूलो आन्द्रामा बोतल रहेको तीन दिन भइसकेको थियो।
रौतटहको चन्द्रपुर अस्पतालमै एक्सरे गर्दा पेटभित्र ठूलो आन्द्रामा बोतल देखिएपछि रेफर भएका ती युवकको पुरानो मेडिकल कलेज चितवनमा पुनः एक्सरे गर्दा बोतलले ठूलो आन्द्रामा समेत असर गरेको भेटिएको थियो।
बिरामीको ठूलो आन्द्रामा समेत बोतलले प्वाल पारिसकेको पाइएपछि सोमबार बिहान साढे ६ बजे चिकित्सकहरुले अप्रेसन थिएटरमा लगेका थिए।
चिकित्सकहरुले शल्यक्रिया गरेर हेर्दा ठूलो आन्द्रामा २ सेन्टिमिटर प्वाल परेर दिसा समेत शरीरमा फैलिएको र आन्द्र सुन्निएको अवस्था थियो। बिरामीको रगतको गणना कम्तिमा ४ हजार परमाइक्रोलिटर हुनुपर्नेमा घटेर ३ हजारमा आइसकेको थयो।
रगतको संक्रमण हुँदा रगतको गणना झन् बढेको हुनुपर्ने अवस्थामा घट्नु भनेको सेप्सिसको अवस्थामा बिरामी पुगिसकेको डा बेलबासेले बताए।
चिकित्सकको टोलीले साढे २ घण्टा लामो अप्रेसन गरेर बोतल निकालेर प्वाल परेको आन्द्राको पनि उपचार गरिएको थियो।
मलद्वारबाट बोतल पसाइएको हुनाले मलद्वारमा पनि संक्रमण देखिएको डा बेलबासेले जानकारी दिए।
अप्रेसन पछि बिरामीलाई अहिले आइसीयुमै राखेर उपचार गरिएको छ।
अप्रेसनपछि बिरामी केही बोल्न सक्ने अवस्थामा रहेको तर स्वास्थ्य अवस्था भने अझै खतरामुक्त नभइसकेको डा बेलबासेले जानकारी दिए।
डा बेलबासेले भने, ‘अहिलेलाई बिरामी स्टेबल छन्, बिरामीको पेटमा दिसा फैलिएको अवस्था भएकाले अझै खतरामुक्त भने भइसकेका छैनन्।’
डा बेलबासेका अनुसार मलद्धारबाट ठूलो आन्द्रामा बोतल पुगेका ती बिरामीले आफ्नो आन्द्रामा कसरी बोतल परेको आफूलाई कुनै जानकारी नभएको र पेट दुखेकै कारण अस्पताल पुगेको बताएका छन्।
बिरामीलाई मनोपराशर्म आवश्यक रहेको र मनोचिकित्सकसँग परामर्श गरेपछि घटनाको विषयमा थप जानकारी प्राप्त हुने डा बेलबासेले जानकारी दिए।
बिरामीको अप्रेसनमा डा बेलबासेसँगै सर्जरी तर्फका चिकित्सकहरु डा विनय तिमल्सिना, डा सुशील भुजेल, डा दिलिप पटेल, डा सुधा श्रेष्ठ, एनेस्थेसिया तर्फका चिकित्सकहरु डा राजेश यादव, डा मोना लिसा, डा अनिशा कोइराला लगायत सहभागि थिए।