काठमाडौं- प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ। बिहीबार विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो।
‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थलगायतक मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसविपरीत विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यस किसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई यसै विज्ञप्तिमार्फत आह्वान गर्दछ।'