काठमाडौं- देशको चर्चित व्यवसायीक घराना चौधरी ग्रुपले कानुन विपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गरिरहेको पाइएको छ। उक्त ग्रुप अन्तर्गत रहेको 'पर्फेक्ट ब्लेन्डस् नेपाल'ले उत्पादन गर्ने 'क्यामेल' ब्रान्डको चुरोटको कानुन विपरित प्रवर्द्धन गरिएको पाइएको हो।
काठमाडौंको मिनभवन क्याम्पस अगाडिका चिया-खाजा पसलहरुमा चुरोटको ब्रान्ड प्रवर्द्धन हुनेगरी रङरोगन गरिएको छ। टेबलमा पनि सो कम्पनीको ब्रान्डिङ हुनेगरी स्टिकर टाँसिएको छ। बानेश्वर, देविनगर, अनामनगर, बुद्धनगरलगायतका भोजनालय, चियापसल र रेस्टुरेन्टमा समेत उक्त कम्पनीको प्रचार सामग्री राखिएको छ। काठमाडौंको मुख्य ठाउँमै भइरहेको उक्त कार्यलाई लिएर हालसम्म नियमनको जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले वास्ता गरेका छैनन्।
मीनभवनस्थित एक रेस्टुरेन्टको बाहिर गरिएको भित्तेलेखन, लोगो, सङ्केत तथा टेबलमा टाँसिएको स्टिकर
चौधरी ग्रुपका विनोद चौधरी सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट सांसद् छन्। उनकै छोरा निर्वाण चौधरी उक्त कम्पनीको म्यानेजिङ डाइरेक्टर रहेको पाइएको छ। पहुँचवालाकै कम्पनीले कानुन विपरित कार्य गरिरहेकाले सरकारका निकायहरुले अनदेखा गरिरहेका छन्। नियामक निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा गृह मन्त्रालयमा कांग्रेस नेताहरु मन्त्री छन्।
सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि काम गरिरहेको गैरसकारी संस्था एक्सन नेपालले उक्त कार्यको घोर भत्सर्ना गरेको छ। एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले भने, 'विभिन्न सार्वजनिक कार्यक्रमका प्रायोजक बन्ने, चुरोट उपहार दिने लगायतका गतिविधि अन्य उत्पादकले पनि गरेका थिए। प्रचार सामाग्री बनाएर सार्वजनिक ठाउँमा झुन्ड्याउने तथा भित्ता रंगरोगन गर्ने कार्य यो कम्पनीले गरेको देखिन्छ। सत्तामा रहेको पार्टीकै सांसद्को कम्पनीले गरेको कानुन मिच्नेको कामको हामी घोर भत्सर्ना गर्दछौं र कानुनी दायरमा ल्याउन माग गर्दछौं।'
स्वास्थ्य जनसंख्या मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मी सूर्तिजन्य पदार्थको प्रवर्द्धनलाई कानुनले निषेध गरेको बताउँछन्। त्यस्तो गरेको पाइएमा कानुनी कारबाही गरिने उनले बताए। उनले भने, 'यदि त्यस्तो गरिएको छ भने कानुन बमोजिम कारबाही हुन्छ।'
'क्यामेल' ब्रान्डको उक्त चुरोट 'पर्फेक्ट ब्लेन्डस् नेपाल'ले चौधरी उद्योग ग्राम नवलपरासीमा उत्पादन गर्ने गरेको पाइएको छ। उक्त कम्पनीका विषयमा लिंकडेनमा उल्लेख गरिएको छ- पिबिएन अर्थात् पर्फेक्ट ब्लेंड्स नेपाल पिभीटी. एलटिडी भनेको सिजी कोर्प ग्लोबलको सिगरेट उत्पादन इकाई हो, जसले जे.टि.आइका वैश्विक फ्ल्यागशिप ब्रान्डहरूको लागि जे.टि इन्टरनेसनल एस.एसँग उत्पादन र अनुमति सम्झौता सम्बन्धी काम गर्दछ। जे.टि.आइ भनेको एक बहुराष्ट्रिय सूर्तिजन्य उत्पादक कम्पनी हो।
कानुनका हरेक दफा उलंघन
सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ ले स्वास्थ्यका लागि हानिकारक सुर्तिजन्य पदार्थको प्रवर्द्धनमा रोक लगाएको छ। तर, उक्त कानुन विपरित कम्पनीले चुरोटको प्रवर्द्धनका लागि भित्ता रंग्याउने, प्रचार सामाग्री झुन्ड्याउने, लाइटर लगायत उपहार दिने, रेस्टुरेन्ट तथा चिया पसलमा उक्त चुरोट इंगित गर्ने लोगोहरु झुन्ड्याउने र कतिपय पसलेलाई नि:शुल्क चुरोट उपहार समेत दिएको पाइएको छ।
दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भन्दै लेखिएको छ, '... होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।'
त्यसरी प्रबर्द्धनमा राखिएको सामाग्रीमा ऐनको दफा ९ उल्लेख भएअनुसार चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गरिएको छैन। जबकी सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट तथा पार्सलमा समेत ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्नुपर्छ।
दफा ११ को (५) मा कसैले पनि निःशुल्क रुपमा सूर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन नपाउने भनिएको छ। तर, यो नियमविपरित खाजाघर, रेस्टुरेन्ट तथा चिया पसलमा नि:शुल्क उपलब्ध गराइएको छ। एक चिया पसलले भने, 'भर्खरै आएकाले अहिले हामीलाई नि:शुल्क दिइएको छ।'
दफा ११ को (७) मा कसैले पनि सुर्तिजन्य पदार्थ आकर्षण हुनेगरी विक्रीस्थल सजावट गर्न तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न नपाउने उल्लेख छ । तर, कम्पनीले खाजाघर तथा रेस्टुरेन्ट नै आफ्नो ब्रान्ड प्रवर्द्धन हुनेगरी सजावट र प्रदर्शन गरेका छन्।