'इन्फ्लुएन्जा लाइक इल्नेस' (आईएलआई) अर्थात् फ्लु जस्तो रोग देखिने स्वास्थ्य समस्या पछिल्लो केही दिनयता समुदायमा बढ्दै गएको देखिन्छ।
केही दिन अगाडि एक २३ वर्षीय युवक उच्च ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने र श्वास-प्रश्वासमा असहजता देखिएपछि आकस्मिक कक्षमा आइपुगेका थिए। ती बिरामीमा फ्लु भाइरस पुष्टि भएको थियो। त्यस्तै एक अर्का बिरामीमा फ्लु भाइरस पुष्टि हुँदै गर्दा परिवारका अन्य सदस्यमा पनि सो बिरामीमा देखिए जस्तै लक्षणहरु देखिएको बताएका थिए।
यसरी सर्सती हेर्दा 'आईएलआई' परिभाषा अन्तर्गतका बिरामीमा पछिल्लो समय फ्लु भाइरस पुष्टि हुने क्रम एकपछि अर्को गरी बढ्दो देखिन्छ। यस्तो देखिनु स्वभाविक पनि हो। किनभने, नेपालमा वर्षेनी फ्लु भाइरस उत्कर्षमा देखिने दुई समय अवधिमध्ये एक फेब्रुअरी-मार्च महिनालाई पनि लिने गरिन्छ।
तर, 'आईएलआई' परिभाषा अन्तर्गत पर्ने ठूलो संख्यामा भने कारण थाहा हुने गरेको देखिँदैन। अर्थात् फ्लु नेगेटिभ देखिन्छ। आईएलआई कडा हुँदा अस्पताल भर्ना समेत हुनपर्ने हुन्छ। यस्तो अवस्थालाई 'सारी' अर्थात् 'सेवियेर एक्युट रेस्पिरेटोरी इन्फेक्सन' अर्थात् 'कडा श्वास-प्रश्वासको संक्रमण' भनिन्छ।
तथ्यांक हेर्ने हो भने 'सारी' का बिरामीहरु पनि उल्लेखनीय संख्यामा देखिन्छन्। यद्यपि, यसैको कारणले मानवीय क्षति भने खासै देखिँदैन। अधिकांश आईएलआई वा सारीका बिरामीमा भने कारक अज्ञात (वा फ्लु नेगेटिभ) नै देखिन्छ।
विश्व स्वास्थ संगठनका अनुसार आईएलआई वा इन्फ्लुएन्जा लाइक इल्नेस भन्नाले कुनै व्यक्तिलाई ३८ डिग्री सेल्सियस (१००.४ डिग्री फरेनहाइट) वा सो भन्दा बढी ज्वरो देखिए, खोकी लाग्ने/घाटी दुख्ने जस्ता लक्षणहरु १० दिनभित्र देखिएको अवस्थालाई परिभाषित गरिएको छ।
त्यस्तै सारी अर्थात् सेवियेर एक्युट रेस्पिरेटोरी इल्नेस भन्नाले कुनै व्यक्तिलाई ३८ डिग्री सेल्सियस (१००.४ डिग्री फरेनहाइट) वा सो भन्दा बढी ज्वरो देखिनु, खोकी लाग्नु, घाँटी दुख्नु सहितका लक्षणहरु १० दिनभित्र देखिएको र अस्पताल नै भर्ना हुनुपर्ने अवस्थालाई परिभाषित गरिएको छ। समानतया आईएलआई परिभाषा अन्तर्गत पर्ने बिरामीलाई फ्लु भाइरसको जाँच गर्न चिकित्सकले सिफारिस गर्ने गर्छ। यस्तो सिफारिस विशेष गरी फ्लु भाइरसको संक्रमण समुदायमा फैलिरहेको अवस्थामा गर्ने गरिन्छ।
पछिल्लो केही दिनयता काठमाडौँमा फ्लु 'ए' र 'बी' को संक्रमण बिरामीमा पुष्टि हुने क्रम बढ्दो छ। बयस्क मात्र नभई बालबालिका पनि फ्लु भाइरसबाट उल्लेखीय संख्यामा प्रभावित भएको देखिन्छ। नेपालमा पछिल्लो केही दिनयता फ्लु ए अन्तर्गत एचवानएनवान पिडिएम ०९ (सर्वसाधारणले स्वाइन फ्लुको नामले चिन्छन्) र एच ३ (सर्वसाधारणले हङकङ फ्लुको नामले चिन्छन्) बढ्दै गइरहेको तथ्यांकले देखाउँछ।
हाल आईएलआई बिरामीको सानो संख्यामा मात्र फ्लु भाइरस पुष्टि हुने गरेको देखिन्छ। अर्थात् ठूलो संख्यामा भने फ्लु नेगेटिभ नै देखिने गरेको वा कारण अज्ञात देखिन्छ। यसबाट नेपालमा फ्लुसँग मिल्दो अरु संक्रमणहरु पनि रहेको र त्यसको पहिचान हुन नसकेको भन्न सकिन्छ।
विगतमा कतिपय गाउँहरुमा फ्लु जस्तो लक्षण फैलदा मानवीय क्षति समेत हुने गरेको अनेकौं अनुभव छन्। सुरुमा कोरोना भाइरस पनि पहिचान हुन सकेको थिएन। तर पछि यही भाइरसको कारणले विश्वले ठूलो मानवीय क्षति बेहोर्नुपरेको थियो।
संक्रमण पहिचान गर्न नसके नियन्त्रणका सटिक उपायहरु अपनाउन सकिँदैन र छोटो समयमा ठूलो संख्यामा मानिसहरु संक्रमित/बिरामी हुने सम्भावना हुने गर्छ।
नेपालमा कोरोनाको चुनौतीसँगै जिन सिक्वेंसिङ प्रविधि पनि स्थापित भएको छ। तर कोरोना सिथिल भएसँगै सिक्वेंसिङ प्रविधिको खासै प्रयोग भएको देखिँदैन। यो प्रविधिलाई सक्रिय गर्न सके अज्ञात संक्रमणको पहिचान गरी द्रुत नियन्त्रण तथा उपचार गर्ने अवसर प्रदान गर्न सक्छ।
तसर्थ, हाल ठूलो संख्यामा पहिचान हुन नसकेको आईएलआईको जिन सिक्वेंसिङ प्रविधिमार्फत पहिचान गर्न सके विगतदेखि देखिँदै आइरहेका फ्लु भाइरस जस्ता अज्ञात संक्रमणहरुको पहिचान गर्न सकिने थियो। यसबाट संक्रमणको द्रुत नियन्त्रण र उपचार गर्नमा चिकित्सकलाई सहयोगी हुने थियो।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)