काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। काठमाडौं बाहिरको मतगणना सकिएपछि काठमाडौं उपत्यकाको मतगणना भइरहेको छ। उपत्यकाको मतगणना हुँदा पदाधिकारी तथा अधिकांस सदस्य पदमा डा अनिल कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
अध्यक्षमा डा अनिल कार्की र महासचिवमा डा सन्जिब तिवारीले फराकिलो अन्तरसहित अग्रता लिइरहेका छन्। हालसम्म कुल ४७१७ मत गणना हुँदा अध्यक्ष पदमा डा कार्कीले २६३८ मत ल्याएका छन्। निकटतम प्रतिस्पर्धीको रुपमा रहेका डा सन्तोष पौडेलले १७५८ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेद्धार डा शिवजी विक्रम सिलवालले २१० मत मात्रै पाएका छन्।
यस्तै महासचिव पदमा डा सञ्जीव तिवारीले कुल २११७ मत प्राप्त गर्दा डा रक्षा श्रेष्ठले ११४२ मत र डा अमृत भुसालले ११९४ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा अजय कुमार मिश्रले ७८०, डा महेश महासेठले १०८३ र डा निरज कुमार सिंहले २०८८ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले २३३३ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले १६०१ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा विकास गौचनले १५७९ मत प्राप्त गर्दा डा राजन शर्माले २३१७ मत पाएका छन्।
यस्तै उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा निरज अर्यालले १५८९ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले २२८२ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।