चिकित्सकहरुको छाता संघठन नेपाल चिकित्सक संघको निर्वाचनमा महासचिवको उम्मेदवार हुनुहुन्छ। चुनाव कत्तिको लागेको छ?
गत माघ ६/७ गते उपत्यका बाहिरको निर्वाचन सकिइसकेको छ। चुनाव भनेको परीक्षा दिए जस्तै रहेछ। आफूले उत्कृष्ट गर्ने हो। केही साथीहरुलाई भेट्न छुटेको छ, त्यसलाई मनमा राख्दै हामी चुनावमा होमिएका छौँ। चुनाव अहिले हाम्रो घरको दैलासम्म आइसकेको छ।
काठमाडौं उपत्यकामा यही १९, २० र २१ गते मतदान हुँदैछ। त्यसकारण अहिले चुनावमा एकदमै व्यस्त छु। चुनाव राम्रैसँग लागेको छ भन्दा हुन्छ। काठमाडौं बाहिरको मतदानमा राम्रो प्रतिक्रिया पाएका छौं। अब उपत्यकामा पनि हामीलाई धेरैभन्दा धेरै मत दिएर विजयी गराउनुहुन्छ भन्ने विश्वास छ।
महासचिवमा तपाईंको उम्मेद्वारी किन?
यो गहन प्रश्न हो। म यो भन्दा पहिले टिचिङ अस्पतालमा नेसनल डाक्टर रेजिडेन्ट एसोसिएसनमा सदस्य हुँदा सन् २००९ मा १९ दिने आन्दोलन गरेका थियौं। त्यो आन्दोलन मेरो या हाम्रो लागि नभई सिस्टमको लागि थियो। परीक्षाको पारदर्शिताको लागि थियो। प्रश्न आउट भएर, चोर बाटोबाट आउनु हुँदैन भन्ने थियो।
हामी डाक्टरी पेसामा जाँदा उत्कृष्ट भएर जानुपर्छ, ताकि जनमानसलाई राम्रोसँग उपचार होस्। राम्रो मान्छेबाट उपचार पाउनु हाम्रो मुल धर्म हो भनेर त्यतिबेला आन्दोलन गरियो। त्यो आन्दोलनपछि पुनः परीक्षा भएको थियो। म सचिव हुँदा मेडिकल अफिसर र रेजिडेन्टहरुबीच तलब आकाश-जमिनको फरक थियो। त्यो समयमा पनि कार्यविधि हेरेर तलब हेरफेर भयो। हाम्रै पालोमा होस्टेल बनाइयो।
एमडी गरेपछि जाँच लिने म पहिलो व्याच हो। तर म जाँचसँग कहिल्यै डराएको छैन। डराउनेवाला पनि छैन। तर कस्तो हुन्छ भने, त्यो जाँच उत्तीर्ण भएको मान्छेले कसलाई जाँच लिन पाउने? मैले अहिलेसम्म लिएकै छैन। तर मैले अर्कोलाई लिन्छु भन्नु भनेको असान्दर्भिक हो भनेर हामीले मुद्दा पनि हालेको थियौं।
म यो भन्दा पहिलेको कार्यकालमा केन्द्रीय सदस्य पनि हो र अहिले पनि छु। यो कार्यकालमा विपद व्यवस्थापनको संयोजक पनि छु।
हामीले फागुन १७ मा सपथ लिएलगत्तै चीनमा कोरोना फैलियो। त्यसलगत्तै हामीले नेपाल सरकारलाई सात बुँदे ज्ञापनपत्र दियौं। किनकी, चीन या भारतमा केही भयो भने त्यसको हावा नेपालतिर आउँछ। त्यसपछि हामीले कोरोना अभिमुखीकरण कार्यक्रमहरु पनि गरेका थियौं। हामीले नेपाल चिकित्सक संघमा अहिलेसम्म गरेका काममध्ये यो अतुलनीय काम हो। जबकी, सरकारले हामीबाट सिकेर हाम्रो पथ पछ्याएको थियो। हामीले भेन्टिलेटर बाड्यौं, अक्सिजन प्लान्ट ठाउँठाउँमा लगेर सेट गरियो। डाक्टरहरुलाई हिँड्न सहज होस् भनेर परिचयात्मक ज्याकेट बनायौं। जनमानसलाई अफ्ठ्यारो पर्छ भनेर कल सेन्टर बनायौं। मास्क, सेनीटाइजर बाड्यौं।
जनतालाई पनि सेवा दिने काम गरियो भने डाक्टर साथीहरुलाई पनि प्रोत्साहन दिने काम गरियो। त्यो समयमा नेपाल सरकारले नगरेको ठाउँमा पनि हामीले काम गर्यौं। त्यो कमिटीको म संयोजक हो।
धेरै जनाको माझबाट मलाई हाम्रा प्रतिनिधिहरुले चिकित्सक संघको महासचिवमा उम्मेदवार बनाउनु भएको हो। देशैभरिका प्रतिनिधिहरुले आफ्नो सुझाव सेलेक्सन कमिटीलाई बुझाउने र सबैको कामको मूल्यांकन गरेर उपयुक्त व्यक्तिलाई उम्मेदवारमा छान्नु हुन्छ। म उहाँहरुप्रति कृतज्ञ छु, मलाई यसको लागि योग्य ठान्नुभयो। म उहाँहरुलाई निराश पर्दिनँ।
भर्खरै देशभरका अस्पतालमा पुगेर मतदाता भेटेर आउनु भएको छ। के पाउनुभयो प्रतिक्रिया? तपाईंहरुसँग उहाँहरुको अपेक्षा के रहेछ?
आफ्नो देशको माटोमा गएर देश बुझ्न पाउनु मेरो सौभाग्य हो। मैले ठाउँठाउँमा अस्पताल कस्तो अवस्थामा छ भन्ने बुझें। मेरा साथीहरुले, सिनियरहरुले कस्तो ठाउँमा काम गर्दै हुनुहुन्छ, उहाँहरुको दु:ख, मर्म के छ भनेर नजिकबाट बुझ्न पाएँ। त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँहरुसँग सल्लाह पनि भयो।
हाम्रो देशमा विश्वविद्यालय र प्रतिष्ठानहरुबीच एकरुपता छैन। देश-विदेशमा जान प्रोत्साहन गर्ने काम हुन्छ। अहिले आईओएमले लेक्चरर हुँदा निजीमा पनि जाँच दिनुपर्ने नियम ल्याएको छ। जाँच नै सबै समस्याको समाधान होइन। उनीहरुको बौद्धिक विकास गर्न के गर्ने भन्ने हुन्छ। किनकी, हामीले सुरुवातमा के गरियो भन्दा पनि कसरी शिक्षकहरु राम्रो बनाउने भन्ने कुरामा जोड दिन जरुरी छ। त्यसले गर्दा राम्रा विद्यार्थीहरु उत्पादन हुन्छन्। त्यसमा विचारै नगरी हतासमा निर्णय गरेर उहाँहरुलाई जाँच लिने बनायौं। त्यो विभेदपूर्ण निर्णय हो।
हामी अन्यायको विरुद्ध बोल्नुपर्छ। निजी क्षेत्रका शिक्षकहरुलाई तालिम दिने, रिसर्चहरु गर्न सहयोग गर्ने, देश विदेशमामा जाँदा सहज वातवरण बनाउने जस्ता कामहरुमा सहजीकरण गर्दिनुपर्छ जसले गर्दा राम्रा विधार्थीहरु उत्पादन गर्न सकिन्छ।
संघको निर्वाचन होस् वा अन्य समय। जहिले पनि चिकित्सकको तलब लगायत सेवा-सुविधाको विषय उठ्छ। चिकित्सकको तलब बढाउने विषय कहाँ अड्किएको हो? के छ अवस्था?
तत्कालीन स्वास्थ्य मन्त्रीको पालामा चिकित्सकको तलब बढाउने कुरा लगभग पास भइसकेको थियो। तर चुनावको मुखमा थियो। त्यसैले थम्थम्याइयो। नेपालको राजनीति भनेको आज राति सुतेर भोलि बिहान उठ्दा फरक परिसकेको हुन्छ। त्यस्तै परिस्थिति मन्त्रीको पनि फरक पर्यो। र, मन्त्री जानुभयो।
चिकित्सकको तलब र सुरक्षा सम्बन्धी कानुन कार्यान्वयनको अवस्था कस्तो छ?
चिकित्सकहरुको तह, अनुभव र कार्यविभाजनका आधारमा तलब, भत्ता लगायतका सेवा सुविधामा रहेको विभेद समाधानका लागि हाम्रो पहलमा गठन भएको चिकित्सकको सेवा सुविधा निर्धारण समितिले प्रतिवेदन तयार पारी स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा लगियो। अर्थ मन्त्रालयले बजेट अभाव देखाएर फर्काइदियो। अर्थ मन्त्रालयले फर्काएपछि यो कार्यकालमा पुनः लग्यौँ र अहिले अर्थमै छ। यो कार्यकालमा कसरी रोकियो भन्दा हामीले सपथ लिएको सात दिन मात्र भएको थियो। त्यो बेला देशमा कोरोना महामारी फैलियो। देशको आर्थिक अवस्था डामाडोल भयो।
म जनताको सेवा गर्नका लागि डाक्टर भएको हुँ। सेवालाई नै हामी आफ्नो पहिलो धर्म सम्झिन्छौं। यस्तो अवस्थामा हामीले आफ्नो मात्र हेरेर हुँदैन। देश महामारीमा भएको बेला जनताको सेवामा खटिनुपर्छ। महामारीमा हाम्रो तलब बढाइदेऊ नत्र हामी काम नै गर्दैनौं जस्ता अस्वभाविक र अमानवीय काम गर्न हुँदैन भनेर हामी कोरोना महामारी विरुद्धको लडाईंमा जुट्यौँ।
कोरोना महामारी कम भएपछि हामीले पुनः यो मागलाई अघि सारेका थियौं। यो पटक कानुन पास हुनै लागिसकेको थियो तर फेरि सरकार परिवर्तन भयो। तर हामी यो पटक चुप लागेर बस्दैनौँ। अब अति धेरै भयो। अब हामी एक पटक वार्ता पनि गर्छौं। भएन भने पुनः संघर्षको बाटोमा जान सक्छौं। बाटो तताउन हामीलाई पनि आउँछ। हामी एक कदम पनि पछि हट्ने छैनौँ। यो पटक हामी जुनै हदसम्म पनि जान सक्छौं।
फेरि आन्दोलनको चेतावनी हो?
यो आन्दोलन होइन, उहाँहरुलाई विनम्र अनुरोध हो। हाम्रा जाजय मागहरु पूरा गर्नुपर्छ। सामाजिक सुरक्षा हाम्रो मुख्य माग हो। चिकित्सक, चिकित्सक नै हुन्छन्। सरकारी र निजीका भन्ने हुँदैनन्। सरकारले चिकित्सक भइसकेपछि उनीहरुको स्वास्थ्य बिमा, जीवन बिमा, क्रिटिकल केयर बिमा गरिदिनु पर्यो। यो सँगै प्रोफेनसल लाइफ इन्स्योरेन्स पनि गर्नुपर्छ। किनभने, काम गर्दा गल्ती हुन्छ। हामी मान्छे हौँ, भगवान होइनौं।
सरकारले अध्ययनको शुल्क तोक्ने मात्र काम गरेको छ। एमबीबीएस अध्ययनको लागि ५० लाख तोकेको छ। तर उनीहरुको तलब भने थोरै हुन्छ। त्यसो भए बीएको अध्ययनमा लाग्ने शुल्क नै राख्नूस् न त एमबीबीएसको फि! त्यसपछि मात्र हामी मान्छौं कि यति नै हाम्रो तलब हो।
५० लाख शुल्क अनुसार तीन वर्षमा एक लाख साढे ३६ हजार हुन्छ। हामीले त्यो पाउनुपर्छ। पाँच वर्षमा बढ्नुपर्यो। एमडीको हिसाब गर्नुहोस्, २ लाख ८ हजार हुन्छ। हामीले धेरै मागेका छौँ र? त्यसको त ब्याज पनि मागेका छैनौं। सरकारले तोकेको रकम हामीलाई फर्काउनु त पर्यो नि। माग्न चाहिँ माग्ने अनि नफर्काउने? त्यसैले सरकारले दुवै पक्षलाई हुने गरी निर्णय गर्नुपर्छ। हाम्रो तलब पनि पनि सोही अनुसार बढ्नुपर्छ। र, सामाजिक सुरक्षा र बिमा र विभिन्न ऋणको व्यवस्था गर्नुपर्छ। हामीले पनि घर, जग्गा, सवारी साधनको ऋण पाउनुपर्छ भन्ने हाम्रो माग छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७९ संशोधन गर्न सफल हुनुभएको छ। तर यसको कार्यान्वयन भएको छैन। किन होला?
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७९ हो। यसको कार्यान्वयनमा सबै जना लाग्नुपर्छ। हामी आफैं पनि यो ऐनप्रति सचेत हुनुपर्छ। ऐन कार्यान्वयनका लागि प्रहरी, जिल्ला प्रमुखले सबैलाई बुझाउनुपर्छ। घटना घटेपछि उहाँहरु एक्सनमा जानुपर्छ। जनतालाई पनि बुझाउनुपर्छ। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता देशका अग्रज कलाकारहरुमार्फत नाटकद्वारा यो ऐनबारे जनता माझ लैजान र बुझाउन सक्छौं। जारी भएको ऐनलाई सरकारले कडा रुपमा कार्यान्वयन गराउनुपर्छ। हामी कानुनको पालनकर्ता हौँ। त्यसैले यो ऐन पनि अक्षरस कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग छ।
चिकित्सक संघले सबै चिकित्सकको आवाज बोक्न सकेन भन्ने गुनासो छ नि?
आफूले बेस्ट दिने हो। काम गर्दा हामी चिकित्सक हो। म कुनै पदमा उठें, अरु अर्कोबाट उठ्नुहोला। तर हामी डाक्टर हो। डाक्टरलाई कसरी वेयलफेयर गर्ने भन्ने हाम्रो मुल उद्देश्य हुनुपर्छ। जब हामी त्यो त्यताको, म यताको भन्ने धारणा राख्छौं, तब हामी काहीँ पुग्न सक्दैनौं।
संघको मुख्य उद्देश्य नै युनिटी र सर्भिस हो। हामीले हाम्रो डाक्टरलाई साथी चिकित्सकलाई अन्याय पर्दा कसरी लडेर न्याय दिलाउने? कसरी राम्रो गर्ने भन्ने हाम्रो मुख्य उद्देश्य हो। हामीले राम्रो काम अरुबाट नै सिकेर पनि युनाइटेड हुनुपर्छ।
हामी एकजुट भएर ऐन कसरी कार्यन्वयन गर्ने, चिकित्सकको तलब, सुविधा बढाउने, बिमाको कुरा, सहुलियतपूर्ण ऋणको कुरामा बोलेनौं भने हाम्रो समस्या समाधान हुँदैन।
सरकारले हाम्रो कुरा सुन्दैन। सरकार हुलमुल र हुलदंगाबाट मात्र सुन्ने खालको भइसकेको छ। सरकारले राम्रो ढंगले अनुशासित भएर माग गर्दा नसुन्दो रहेछ। त्यसैले चिकित्सकहरु एकीकृत नभएसम्म केही उपलब्धि हासिल गर्न सकिँदैन।
चुनाव भइराख्दा विभाजित भएजस्तो देखिन्छ। तर डेमोक्रेसीको ब्युटी नै त्यही हो। चुनाव सकिएपछि फेरि युनाइटेड हुन्छौं। चुनाव जितेपछि म सबैको महासचिव हो।
संघको निर्वाचन तपाईं र तपाईंको टिमले जित्छ भन्ने आधार के हो?
चुनावको माहोल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हर्षोउल्लास थियो। बिहानीले नै दिउँसो झल्काउँछ भनेजस्तै चिकित्सक साथीहरुको माया, प्रेम उहाँहरुको आत्मीयता देख्दा जितको अनुभूति भइसकेको छ। उहाँहरुको वेदना सुन्दा हामीले गर्नुपर्ने कामहरु पनि याद दिलाएको छ।
चिकित्सकको टिडिएसको कुरा छ। सपोज म टिचिङ अस्पतालमा काम गर्छु। टिचिङ अस्पतालबाहेक काम गरेको ३६ प्रतिशत कर काटिन्छ। वकिल, सिएहरुको अफ अफिस टाइमपछि गरेको कामको १५ प्रतिशत मात्र कर काट्ने गरिन्छ। हामीले यसमा पनि आवाज उठाउनुपर्छ।
हाम्रो टिममा पाकोदेखि नयाँ जुझारु युवाहरु पनि हुनुहुन्छ। त्यसैले हामीले प्रत्येक एनएमएको इँटा-माटो बुझेका छौं, चिकित्सकहरुको भावना बुझेका छौं। रेजिडेन्ट चिकित्सकहरु कसरी अन्यायमा परेका छन्? निजीमा कार्यरत चिकित्सकलाई कसरी अन्यायमा पारिन्छ? हामी यति उपेक्षित छौं कि मेडिकल अफिसरदेखि प्रोफेसर सम्म, हामी त्यो बुझेका छौं।
प्रोफेसर भनेको विशिष्ट श्रेणी अरे। नामको मात्र विशिष्ट राखेर हुन्छ? केही सुविधा छैन। तलब मात्रै दिएर हुँदैन। अन्य सहसचिवले गाडी, तेल भत्ता पाउँछन्। हाम्रा प्रोफेसरहरुले के पाएका छन्? टाइटल मात्रै पाएर हुन्छ। भित्तामा फोटो राखिदिन्छन्, त्यो फोटोले के हुन्छ? त्यसैले हामीले आवाज उठाएर सबै वर्गलाई समेटेर यो पालि हक-अधिकार जसरी पनि सुनिश्चित गर्ने संकल्प गरेका छौं। त्यसैले हामीलाई भोट दिएर जिताइदिनुहुन्छ भन्ने आसा गरेका छौं।
चिकित्सकहरुको दरबन्दी लगायतका विषयमा के हो यहाँको अजेण्डा?
चिकित्सकहरुको दरबन्दी थप्नुपर्छ भन्ने हाम्रो मुल नारा छ। हाम्रो मुल नारा स्वस्थ नेपालको लागि स्वस्थ चिकित्सक हो। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा पनि बलियो हुनुपर्छ भनेको छ। हाम्रो देशमा केही पनि छैन।
मानसिक रुपमा पनि डाक्टरहरु टर्चरमा छन्। डाक्टरहरुकै डिप्रेसन, आत्महत्या, कार्यक्षत्रको तनाव, ह्यामेरमेन्ट बढेको छ। उपचारका लागि आएका बिरामीले नै चिकित्सकलाई कुटपिट गरिदिन्छन्।
अरु बेला भगवान् मान्ने डाक्टरलाई कोरोना लाग्दा डाक्टरको घर भन्ने वित्तिकै छिछि दूरदूरको व्यवहार भयो। शारीरिक रुपमा पनि हामी दिनरात काम गर्दा हामी आफ्नो लागि समय दिन सकेनौं। हामी नै स्वस्थ नभएपछि स्वस्थ नेपाल कसरी बनाउन सकिन्छ?
सरकारी चिकित्सकको दरबन्दीको विषयमा सरकारले चोर बाटो अपनाएको छ। सबै करार। कति मान्छे चाहिन्छ भन्ने थाहा छ तर स्थायी पदपूर्तिको लागि लोकसेवा नै खुल्दैन। अरु विषयमा वर्षमा दुई पटक लोकसेवा खुल्छ। चिकित्सकहरुको कुम्भ मेलाजस्तो वर्षौं पछि बल्लतल्ल खुल्छ।
सरकारले वर्षमा दुईपटक दरबन्दी खोल्नुपर्छ। कारारमा जहाँजहाँ चाहिन्छ त्यहाँ डाक्टरहरु पदस्थापना गर्नुपर्छ। डाक्टर मात्रै पठाएर हुँदैन। डाक्टरसँगै भौतिक संरचना, प्रविधि, उपकरण, औषधि र आवश्यक सबै प्रकारका जनशक्ति सँगै हुनुपर्छ।
दुर्गममा डाक्टर मात्रै गएर के गर्ने? दुर्गममा न बस्ने घर छ न भौतिक संरचना, न प्रविधि न उपकरण र औषधि। स्टेथेस्कोपले मात्र उपचार त हुँदैन।
नेताहरु भन्नुहुन्छ, दुर्गममा डाक्टर पठाएका छौं। डाक्टर मात्रै पठाएर हुने हो र! नेताहरुले त डाक्टरको लागि आवास छ, अस्पतालको भवन राम्रो र भौतिक संरचना र प्रविधि उपकरण औषधि छ भन्नुपर्यो नि।
मतदाताहरुलाई के भन्न चाहनुहुन्छ?
हामीले अहिले भोग्दै आएका सामान्य कुराहरुलाई अजेण्डा बनाएका छौं। जुन, हामी पूरा गर्न सक्छौं। हामी हाम्रा अजेण्डाहरु जसरी पनि पूरा गर्छौं। हामी मतदातालाई निराश पार्दैनौं। हामीले स्वस्थ र खुसी चिकित्सक बनाउने संकल्प लिएका छौं।