नाक, कान, घाँटीको क्यान्सर क्यान्सर अन्यको तुलनामा कम चर्चामा आउने गर्छ। धुम्रपान तथा मद्यपानको सेवन गर्नेहरुलाई यस्ता पदार्थको सेवन नगर्नेलाई भन्दा नाक,कान घाँटीको क्यान्सरको जोखिम ५–१० प्रतिशत बढी हुने चिकित्सकहरु बताउँछन्।
नेपालमा नाक, कान, घाँटीको क्यान्सर पाँचौं नम्बरमा पर्छ। विश्वको तुलनामा नेपाल लगायत एशियाका मुलुकहरुमा यस क्यान्सर रोगीहरुको संख्या धेरै रहेका छन्।
यो कस्तो प्रकारको क्यान्सर हो,नेपालमा यस क्यान्सरको पछिल्लो अवस्था, अन्य र यस प्रकारको क्यान्सरबीचको भिन्नताबारे काठमाडौं क्यान्सर सेन्टरका नाक,कान ,घाँटी रोग विशेषज्ञ डा दिपक यादवसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको भिडियो वार्ताः
नाक, कान, घाँटीको क्यान्सर कस्तो प्रकृतिको क्यान्सर हो?
एशियाका धेरै मुलुकहरुमा सूर्तीजन्य पदार्थको सेवन बढी हुने भएकोले नाक, कान घाँटीको क्यान्सर बढी देखिने गरेको छ। चुरोट, जाँडरक्सी,गुट्का,पराग लगायतका सूर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा पनि नाक,कान,घाँटीको क्यान्सर बढ्दै गएकोे छ।
नाक, कान घाँटीको क्यान्सर जुनसुकै अंगमा पनि हुनसक्छ। भारत, बंगलादेश तथा पाकिस्तानमा बढी मात्रामा मुखको क्यान्सर देखिने गर्छ । त्यहाँ धेरै देखिने क्यान्सरहरुमध्ये यो पाँचौं नम्बरमा पर्छ। नेपालमा सूर्तीजन्य पदार्थको सेवन गर्नेहरुको संख्या बढी भएका कारण नेपालमा पनि यो क्यान्सर बढी देखिएको हो।
अन्य क्यान्सर भन्दा नाक, कान घाँटीको क्यान्सर कसरी फरक छ? यो क्यान्सर उपचारपछि निको हुने दर कस्तो छ?
क्यान्सर साधारण उपचार विधीले निको नहुने पृथक किसिमको रोग हो। यो रोग लागिसकेपछि यसलाई निको बनाउन एकैसाथ धेरै प्रकारका उपचार विधीहरुको समेत प्रयोग गर्नुपर्ने हुनसक्छ। एउटै क्यान्सरको उपचारमा सर्जरी, रेडियोथेरापी केमोथेरापी लगायतका धेरै उपचार विधीहरुको प्रयोग हुनसक्छ। नाक, कान घाँटीको क्यान्सरको कुरा गर्नुपर्दाे अंग अनुसार क्यान्सर निको हुने दर फरक–फरक रहेको छ। थाइराइडको क्यान्सर चाँडै निको हुन्छ। यसको उपचार सफलता ९० प्रतिशत भन्दा बढी रहेको छ।
तर बोल्ने यन्त्र,जिब्रो तथा खानेनलीको क्यान्सर भने उपचारपछि पनि पूर्णरुपमा निको हुने सम्भावना न्यून हुने गर्छ। यद्यपि जुनसुकै क्यान्सर पनि सुरुवाती अवस्थामा पहिचान हुनसके निको हुने सम्भावना बढी रहन्छ।
पहिलो र दोस्रो चरणमा भन्दा तेस्रो चौथो चरणमा पुगिसकेपछि निको हुने सम्भावना ५० प्रतिशतले घट्ने गर्छ।
त्यसैले क्यान्सर निको हुने सम्भावना क्यान्सरको प्रकृति, चरण तथा उपचारमा बिरामीको पहुँचमा निर्भर रहन्छ।
क्यान्सर लागिसकेपछि मानिसको शरीरमा के कस्ता लक्षणहरु देखिन सक्छन्?
नाक, कान घाँटीको क्यान्सरमा अंग अनुसार फरक फरक लक्षणहरु देखा पर्ने गर्छन्। कुनै क्यान्सर भइसक्दा पनि सुरुवाती चरणमा केही लक्षणहरु नदेखिन सक्छन्। सामान्य स्वास्थ्य समस्या पनि निको हुनुको साटो बढ्दै गएको अवस्थामा एक पटक चिकित्सकको परामर्शमा जानु राम्रो मानिन्छ । जस्तै मुखमा आएको सानो धाउ खटिरा पनि लामो समयसम्म निको नभएमा चिकित्सक कहाँ जानुपर्छ।
बालबालिकामा भन्दा वयस्कमा क्यान्सर जोखिम बढी हुन्छ । अझै ४० वर्ष कटिसकेका तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुमा अन्यमा भन्दा क्यान्सरको जोखिम बढी हुन्छ। त्यस्तै आकस्मिक मानिसको स्वरमा परिवर्तन हुँदा तथा घाँटीमा लामो समयसम्म इन्फेक्सन हुँदा पनि क्यान्सरको जोखिम बढ्छ।
सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुमा अन्यमा भन्दा क्यान्सरको जोखिम कतिले बढ्छ?
धूम्रपान तथा मद्यपान दुवैले क्यान्सरको जोखिम बढाउँछ। यद्यपि सेवनको मात्रामा पनि यो निर्भर रहन्छ। सामान्यतया धुम्रपान तथा मद्यपान गर्नेहरुमा अन्यमा भन्दा क्यान्सरको जोखिम ५ देखी १० प्रतिशतले बढ्छ।
त्यस्तै उमेर अनुसार फरक– फरक प्रकृतिका क्यान्सर लाग्नसक्छ। बालबालिका र वयस्कमा लाग्ने क्यान्सर फरक हुन्छ।
बच्चाहरु घाँटीमा गाँठो देखिएपनि क्यान्सर भयो भनि आत्तिहाल्नुपर्दैन। तर ४० कटिसकेपछि क्यान्सरको जोखिम पनि बढ्दै जाने भएकोले शरीरमा आकस्मिक रुपमा केही परिवर्तन आउनासाथ स्वास्थ्य परीक्षणमा जानुपर्ने हुन्छ।
नेपालमा नाक, कान घाँटीको क्यान्सरको पछिल्लो अवस्था कस्तो छ?
नेपालमा मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ। धेरै देखिएका क्यान्सर मध्ये यो पाँचौ स्थानमा पर्छ। विश्वमा कम मात्रै देखिने यो क्यान्सर नेपालमा भने धेरै मात्रामा देखिएको छ।
त्यस्तै नेपालमा धेरै देखिने क्यान्सरमा थाइराइडको क्यान्सर पनि हो। हिमाली तथा पहाडी भ–ूभाग धेरै हुनु तथा आयोडिनयुक्त नुनको सेवनको अभावमा पनि नेपालमा थाइराइडको क्यान्सर बढी देखिएको हो। बढी मसालेदार तथा चिल्लो खानेकुराको सेवन गर्नेहरुमा यस्तो क्यान्सरको जोखिम अन्यमा भन्दा बढी हुन्छ।
थाइराइडको क्यान्सर महिलाहरुमा बढी हुने गरेको पाइन्छ। यसको अर्थ पुरुषहरुमा थाइराइडको क्यान्सर हुँदै नहुने भन्ने चाहिँ होइन। धुम्रपान तथा मद्यपान महिलाहरुले तुलनामा पुरुषले बढी गर्ने भएकोले मुखको क्यान्सर पुरुषहरुमा बढी देखिने गरेको छ।
नाक, कान घाँटीको क्यान्सरको उपचारका लागि आउने बिरामीहरुको संख्या कस्तो छ?
पछिल्लो समय मानिसहरुमा क्यान्सर सम्बन्धि जनचेतना बढ्दै गएको पाइन्छ । क्यान्सर उपचार विगतमा भन्दा सहज भएका कारण पनि बिरामीको संख्या बढेको होला भन्ने मलाई लाग्छ। त्यस्तै खानेकुरामा विषादी बढी प्रयोग ,जंकफुडको सेवन बढी हुनु तथा निष्क्रिय जीवनशैलीका कारण पनि क्यान्सर बढेको अनुमान सहजै गर्न सकिन्छ।
घाँटीको क्यान्सर पश्चात् शल्यक्रिया पछि कतिपय बिरामीको स्वरमा समेत परिवर्तन हुन्छ। यद्यपि कुन भागको शल्यक्रिया गराइन्छ त्यसका आधारमा स्वरमा पनि परिवर्तन आउन सक्छ। स्वर बाहिर निकाल्ने काम गर्ने अंग ल्यारिङस वरिपरिको भागमा गरिने शल्यक्रियाका आधारमा स्वरमा परिवर्तन आउने गर्छ। स्वरयन्त्रमा हुने क्यान्सर पहिलो चरण भएमा लेजर प्रविधिबाट क्यान्सरको उपचार गरिएमा स्वरमा खासै धेरै परिवर्तन आउँदैन।
क्यान्सर दोस्रो चरणमा पुगिसकेपछि रेडियोथेरापी प्रविधिको प्रयोगले यस प्रकारको क्यान्सरको उपचार गर्नुपर्ने हुन्छ। यद्यपि दोस्रो चरणमा लेजर प्रविधिको प्रयोग भएमा त्यसले स्वरमा पहिलेभन्दा धेरै नै परिवर्तन गराउन सक्छ। चौथो चरणमा पुगिसकेको क्यान्सरका लागि भने बोल्ने यन्त्र नै निकाल्नुपर्ने हुँदा उपचार पश्चात् पनि उनीहरुको स्वर पहिलाको जस्तै नहुन सक्छ।
नाक, कान घाँटीको क्यान्सर हुनबाट कसरी जोगिने?
धुम्रपान तथा मद्यपान नगर्ने तथा शरीरमा शंकास्पद लक्षण देखिएमा उपचार गराउन सकेमा नाक, कान घाँटीको क्यान्सरबाट जोगिन सकिन्छ ।
नाक, कान घाँटी क्यान्सर दिवसको महत्व के छ?
प्रत्येक वर्ष जुलाई २७ मा ‘इन्टरनेशनल फेडेरेशन अफ हेड एण्ड नेक अंकोलोजी’ नामक संस्थाले सर्वसाधारण तथा स्वास्थ्यकर्मीहरुमा क्यान्सर सचेतना बढाउनका लागि यो दिवस मनाउन प्रोत्साहन गर्दै आएको छ।
उक्त दिवसका अवसरमा नाक,कान,घाँटीको क्यान्सरका कारण,लक्षणहरु तथा उपचार प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिने गरिन्छ। स्वास्थ्यकर्मीहरुलाई पनि यस दिवसका अवसरमा यस क्यान्सरको वर्तमान अवस्था तथा पछिल्लो उपचार प्रविधिका बारेमा ज्ञान समेत दिने गरिन्छ। नेपालमा पछिल्लो समय नाक,कान,घाँटीको क्यान्सर बढ्दै गएकोले दिवस मनाउनु महत्वपूर्ण छ।