काठमाडौं - वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुन्छ। बढ्दो वायु प्रदूषणले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि उत्तिकै असर गर्छ।
वायु प्रदूषणले विशेषरी फोक्सोमा असर गर्ने छातिरोग विशेषज्ञ डा अशेष ढुंगानाले बताए। चिसोमा वायु प्रदूषण बढ्ने भएकाले श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्ने गरेको उनी बताउँछन्।
वायु प्रदूषणले श्वासप्रश्वासमा कसरी असर गर्छ ? बच्ने उपायहरु के के छन् ? लगायत विषयमा हामीले डा ढुंगानासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
वायु प्रदूषणले श्वासप्रश्वासमा कसरी समस्या गर्छ ?
– स्वास्थ्यमा प्रभाव पार्ने विभिन्न तत्वहरु हावामा मिसियो भने वायु प्रदूषण हुन्छ।
– प्रदूषित हावामा धूलो धूवाका मसिना कणहरु र विषाक्त ग्याँसहरु मिसिएको हुन्छ।
– वायु प्रदूषणले शरीरका सबै अंगमा असर गर्छ। तर विशेषगरी फोक्सोमा असर गर्छ।
– हावामा रहेका विषाक्त पदार्थहरु र मसिना कणहरु सिधै फोक्सोमा छिर्न सक्छ।
– फोक्सोको माध्यमबाट ती मसिना कणहरु र विषाक्त पदार्थहरु शरीरका अन्य भागमा पनि पुग्छ।
– दीर्घ श्वासप्रश्वास रोग, फोक्सोको क्यान्सर, फोक्सो सम्बन्धी संक्रमणको कारक वायु प्रदूषण हुन सक्छ।
वायु प्रदूषणले निम्त्याउने तत्काली र दीर्घकालीन स्वास्थ्य समस्याहरु के के हुन् ?
– वायु प्रदूषणले सुरुमा फोक्सोलाई असर गरेपछि रोग प्रतिरोधात्मक क्षमतालाई प्रभाव पार्छ।
– छाति सम्बन्धी विभिन्न संक्रमण, ब्रोन्काइटिस जस्ता असर तत्कालीन हुन्।
– विभिन्न दम रोगहरु, फोक्सोमा क्यान्सरहरु वायु प्रदूषणको दीर्घकालीन असरहरु हुन्।
वायु प्रदूषणका कारण बिरामी भएर अस्पताल आउनेहरु कत्तिको छन् ?
– वायु प्रदूषणकै कारण कति बिरामी भएर आउँछन् भन्ने यकिन तथ्यांक छैन।
– माथि भनिएका समस्याहरु लिएर आउने बिरामीहरुमा अन्य विभिन्न कारणहरु पनि हुन्छन्।
– तर जाडोमा वायु प्रदूषण बढ्छ। र, श्वासप्रश्वास सम्बन्धी समस्या लिएर आउने बिरामीहरुको संख्या पनि बढी हुन्छ।
– यी रोगहरु निम्त्याउन वायु प्रदूषणको महत्वपूर्ण भूमिका छ भनेर बुझ्न सक्छौ।
– बाहिरका मात्र नभई घर भित्रको वायु प्रदूषणले पनि स्वास्थ्यमा असर गर्छ।
– कहिल्यै पनि धूम्रपान नगरेका व्यक्तिहरुमा पनि छाति रोग सम्बन्धी समस्या देखिन थालेको छ।
वायु प्रदूषणबाट बच्न मास्कको भूमिका के छ ? कस्तो मास्क प्रयोग गर्ने ?
– कोरोना महामारीको बेला धेरैले मास्कको प्रयोग गरे।
– कोरोना बढेको बेला फोक्सो, छाति सम्बन्धी संक्रमण भएका बिरामी कम थियो।
– दम बिग्रेर आउने बिरामीको संख्या पनि कम थियो।
– मास्कले कोरोनाबाट मात्र नभई अन्य संक्रमण र वायु प्रदूषणबाट पनि बचाउँछ।
– हामीले प्रयोग गर्ने सर्जिकल मास्कले पनि वायु प्रदूषणबाट बचाउँछ।
– कपडाको मास्कले वायु प्रदूषणबाट बचाउँछ। तर विषाक्त ग्याँसबाट भने बचाउँदैन।
चिसो मौसममा हुने वायु प्रदूषणबाट बच्न यहाँको सुझावहरु के के छन् ?
– चिसोमा वायु प्रदूषण बढ्ने भएकाले सचेत हुनुपर्छ।
– सकेसम्म धेरै वायु प्रदूषण हुने स्थानमा नजाने।
– बाहिर जानै परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने।
– धेरै सवारी साधन गुड्ने, धूलो धूवा हुने ठाउँमा मर्निङ वाक गर्नु हुँदैन।
– चिसोमा इन्फ्लुएन्जाको समस्या पनि देखिने भएकाले यसको खोप लिन सक्नु हुन्छ।
– विशेषगरी दीर्घ रोगीहरु सचेत हुनुपर्छ। र, समस्या बढ्ने बित्तिकै चिकित्सकलाई भेट्नुपर्छ।
– वायु प्रदूषण घटाउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।
भिडियो – निमेषजंग राई