काठमाडौं- प्राडा दिनेशबिनोद पोखरेलले ४४ वर्षे जागिरे जीवनबाट अवकाश लिएको दुई वर्ष भयो। तर जोश–जाँगर कत्ति पनि कम भएको छैन। उमेरले ६४ वर्ष पुगिसकेका डा पोखरेलमा स्फुर्ति अझै ताजा छ। कामप्रतिको लगाव उस्तै छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक थिए उनी। चिकित्सकीय रुपमा छाला रोग विशेषज्ञ पनि हुन्। अध्यापनसँगै उनी बिरामीहरुको उपचारमा अहिले पनि सक्रिय छन्। डा पोखरेल सरकारी जागिरे जीवनबाट मात्र अवकाश प्राप्त हुन्। तर पढाउने र बिरामी जाँच्ने काम अझै पनि गर्छन्। अवकाश शब्दले उनको सक्रियतालाई पूर्णबिराम लगाउन सकेको छैन।
बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा पढाउँछन्। साँझ एक क्लिनिकमा छालाका बिरामीको उपचार गर्न पनि भ्याउँछन्। अवकाशले व्यक्तिको सक्रियता र कामलाई रोक्न सक्दैन भन्ने गतिलो उदाहरण हुन् उनी। उनको यो ४४ वर्षको यात्रा बडो रोमाञ्चित छ। लाग्छ, संयोगले नै उनलाई चिकित्सक बनायो। र, संयोगले नै उनलाई छाला रोग विशेषज्ञ पनि। संयोगले जुराएको यो ४४ वर्षको यात्रामा उनी निकै कटिवद्ध भएर काम गरे।
इञ्जिनियरको सपना, बने चिकित्सक
पढाइमा अब्बल अधिकांश विद्यार्थीको सपना ‘डाक्टर बन्छु’ भन्ने नै हुन्छ। तर पोखरेलले भने डाक्टर बन्ने सपना कहिल्यै देखेनन्। ‘डाक्टर बन्छु, बिरामीको सेवा गर्छु’ भन्ने सपना थिएन। उनी त इञ्जिनियर बन्न चाहन्थे। भवनसँग निकै लगाव थियो। त्यसैले त एसएलसी परीक्षासम्म पनि डाक्टर बन्छु होला भन्ने उनले कल्पनासम्म गरेका थिएनन्। सानैदेखि पढाइमा निकै अब्बल थिए उनी। पाँच कक्षासम्म सधैं टप। १० कक्षासम्म आइपुग्दा पनि दोस्रो कहिल्यै हुनु परेन। तीक्ष्ण बुद्धि थियो, डा पोखरेलको। आफ्नै सहपाठीलाई पढाउँथे पनि।
२०१६ साल वैशाख ३१ गते नुवाकोटमा उनको जन्म भएको थियो। बाबुआमाका सात सन्तानमध्ये उनको जन्म चौथो सन्तानका रुपमा भएको थियो। बुवापछि उनको दोस्रो अभिभावक दाइ थिए। दाइले नै उनलाई पढाउने, सिकाउने गर्थे। दाइसँग एक किसिमको भावनात्मक लगाव थियो। साढे दुई वर्षको उमेरमै दाइसँगै पछि लागेर स्कुलसम्म पुग्ने गरेको उनी सम्झन्छन्।
खेल्ने कुद्ने उमेरमा कक्षा आठमा पढ्दै गर्दा पोखरेललाई मेनेन्जाइटिस भयो। जसका कारण डेढ महिना अस्पतालमा भर्ना हुनुपर्यो। शारीरिक रुपमा कमजोर भएपछि पढाइमा पनि असर ग¥यो। तर पनि पढाइमा टप नै गर्थे।
बुवा सरकारी जागिरे। बेलाबेलामा हुने सरुवाका कारण उनको विद्यालयको अध्ययन एकै ठाउँमा हुन सकेन। पाँच कक्षासम्म धादिङ र एसएलसी (२०३१ साल) उनले वीरगञ्जबाट दिएका हुन्।
एसएलसीपछि उनले इञ्जिनियरिङ पढ्ने निधो गरे। इन्ट्रान्स (प्रवेश) परीक्षा पनि दिएका थिए। सेकेन्ड टपर पनि भए। तर परिवारको इच्छा चिकित्सक बनाउने थियो।
परिवार र दाइको सुझाव अनि आग्रहमा उनले हेल्थ असिस्टेन्ट (एचए) अध्ययनका लागि पनि परीक्षा दिएका थिए। इञ्जिनियरिङको नतिजा आइसकेकाले उनी यही विषय पढ्ने ढुक्कै भइसकेका थिए। केही सातापछि एचएको पनि नतिजा आयो। उनले हतारमा आफ्नो नाम खोजे तर भेटेनन्। त्यसपछि उनी इञ्जिनियरिङको पढाइका लागि भर्ना हुने सुरमा थिए। तर आफ्नो नाम एचएमा निस्किएको पछि मात्र पत्तो पाए।
‘एचएको रिजल्ट आएको थियो। यसो हेरेँ, आफ्नो नाम देखिनँ। असाध्यै खुसी लाग्यो। किनभने, भित्री इच्छा त इञ्जिनियर बन्ने थियो,’ उनी सम्झन्छन्, ‘त्यसपछि म भर्ना हुन जाँदै थिएँ। बाटोमा पुरानो साथी भेटियो। उसले तेरो पनि नाम छ भन्यो। मैले होइन भन्दाभन्दै उसले हेर्न जाऔँ भन्यो। जाँदा नाम रहेछ।’
इञ्जिनियरिङमा भर्ना हुन हिँडेका पोखरेल यता आफ्नो नाम देखेपछि घर फर्किए। परिवारको इच्छा र नाम पनि निस्किएकाले एचए नै पढेको उनी बताउँछन्। सुरुवाती दिनमा आफूले रोजेको विषय पढ्न नपाउँदा मन खिन्न पनि भएको उनले सुनाए। पहिले प्लस टुपछि सिधै एमबीबीएस अध्ययन गर्न पाउने व्यवस्था थिएन। एसएलसीपछि हेल्थ असिस्टेन्ट (एचए) को अध्ययनपछि मात्र एमबीबीएस अध्ययन गर्न पाइन्थ्यो। एचएको अध्ययनपछि २०३९ सालमा उनी आइओएममा एमबीबीएस अध्ययनका लागि भर्ना भए।
इच्छा कार्डियोलोजी, संयोगले छाला रोग विशेषज्ञ
एमबीबीएस अध्ययन सुरु गरे पनि उनलाई डाक्टरप्रति रुचि जागिसकेको थिएन। परिवारको इच्छा र आग्रहलाई नकार्न नसक्दा उनले एमबीबीएस पढे। तर समय बित्दै गएपछि मन परिवर्तन भएको उनी बताउँछन्।
‘खासै मलाई मेडिसिन पढेर डाक्टर बन्ने इच्छा त थिएन। तर पढ्दै गएपछि इच्छा जागृत हुँदै जाने रहेछ,’ उनले भने। डा पोखरेल आँटेका काम पूरा गरेरै छाड्थे। उनी एमबीबीएसमा पनि राम्रो विद्यार्थी। त्यसैले एमबीबीएसमा उनी सेकेण्ड टपर भए र गोल्ड मेडलिस्ट समेत बने।
आजभन्दा ४० वर्षअघि डर्माटोलोजी (छालासम्बन्धी चिकित्सक) विषय निकै कमको मात्र रोजाइमा पथ्र्यो। डा पोखरेलका अनुसार त्यो बेला यो बेवास्ता गरिएको विषय थियो। उनको इच्छा पनि कार्डियोलोजी (मुटु रोग विशेषज्ञ) पढ्ने थियो।
डा पोखरेलले त्रिवि शिक्षण अस्पतालमै मेडिकल अधिकृतको रुपमा काम गरे। काम गर्ने सिलसिलामा छाला रोग विभागमा कोही पनि नभएकाले उनलाई केही महिना यो विभाग हेर्न भनियो। सुरुमा उनलाई यो विभागमा जान मन लागेन। ‘त्यतिखेर राम्रो विद्यार्थीको डर्मामा जाने चाहना हुँदैनथ्यो। डर्मा, साइकियाट्रिक विषयलाई बेवास्ता गरिन्थ्यो,’ उनले भने।
सुरुको एक महिना उनलाई पनि रुचि लागेन। यो विभागबाट कतिखेर छुटकारा पाएर कार्डियोलोजी विभागमा जाउँ भन्ने लागेको थियो। तर समय बित्दै जाँदा उनलाई छाला रोगको विषयमा रुचि जाग्न थाल्यो। त्यसपछि डर्माटोलोजीमै एमडी गर्ने निधो गरेको डा पोखरेल सुनाउँछन्।
भन्छन्, ‘सुरुको एक महिना बोर लाग्यो। अढाइ महिना भएपछि यति रुचि जाग्यो कि यो त धेरै राम्रो विषय रहेछ भन्ने लागेर कार्डियोलोजी छोडेर यही विषय पढ्ने निधो गरेँ।’ डर्माटोलोजी विषय पढ्ने निर्णय गर्दा उनलाई आफ्नै सहकर्मीहरुले नपढ्न भनेका थिए। तर उनी आफ्नो अठोटप्रति अडिग थिए। साथीभाइले डर्माटोलोजी नपढ्न सुझाव दिए पनि परिवारले उनको निर्णयप्रति साथ दिएको बताउँछन् डा पोखरेल। अध्ययनमा राम्रो भएकाले सबैले उनलाई कार्डियोलोजी नै पढ्न सुझाव दिन्थे। तर उनी आफ्नो निर्णयप्रति अटल थिए। उनले २०५४ सालमा बंगलादेशमा डर्माटोलोजी विषयमा एमडी अध्ययन गरे। उनले एमबीबीएस र एमडी दुवै छात्रवृत्तिमा अध्ययन गरेका हुन्।
जब बिरामीले रिसाउँदै औषधि र कागज फाले...
डा पोखरेल धेरै घटना र संयोगले आफूलाई डर्माटोलोजी पढ्ने इच्छा जगाएको मान्छन्। मेडिकल अधिकृतको रुपमा त्रिवि शिक्षण अस्पतालमा काम गर्दाको एउटा घटना उनी आज पनि सम्झन्छन्।
उनी छाला रोग विभागमा भएका बेला जनकपुरबाट उपचारका लागि एक जना बिरामी आएका थिए। डा पोखरेलले सबै स्वास्थ्य परीक्षण गरेपछि ती बिरामीलाई औषधि लेखेर पठाए। करिब १५ मिनेटपछि बिरामी आए। र, औषधि र कागज सबै फालेर रिसाउन थाले।
ती बिरामीले आफ्नो रोगको उपचारमा धेरै पैसा खर्च गरिसकेका रहेछन्। तर डा पोखरेलले १४ रुपैयाँको औषधि लेखिदिएका रहेछन्। १४ रुपैयाँको औषधिले निको नहुने भन्दै डा पोखरेलसँग बिरामी रिसाएका रहेछन्। तर आफूले जानेको र पढेअनुसार नै उपचार गरेर औषधि दिएको उनले बताए।
बिरामीलाई सम्झाउँदै डा पोखरेलले भने, ‘मैले जानेको त्यही हो। तपाईंलाई विश्वास लाग्छ, यही औषधि प्रयोग गर्नूस्। होइन भने जहाँ गएर, जति खर्च गरेर पनि उपचार गर्न सक्नुहुन्छ भनेँ।’ त्यसको एक महिनापछि ती बिरामी परिवारसहित फेरि डा पोखरेललाई भेट्न आए। यो पटक बिरामीको अनुहारमा रिस थिएन। यस पटक लज्जित र मलिन थियो अनुहार। डा पोखरेलले लेखिदिएको औषधिले नै ती बिरामीको रोग निको भएछ। लुतोको कारणले छालामा एक्जिमाको समस्या भएको थियो ती बिरामीलाई। यसअघि उनलाई उपचारका लागि भारत जाने र केही समय निको हुने र फेरि बल्झिने समस्या रहेछ। ‘माफ गर्नुहोस् डाक्टरसाब, तपाईंले लेखिदिएको औषधिले मेरो वर्षौंदेखिको पुरानो रोग ठिक भयो भनेर आउनुभयो। यो घटनाले पनि मलाई थप प्रेरणा मिल्यो,’ उनले भने।
डर्माटोलोजी धेरैको रोजाइमा नपर्ने भएकोले छालासम्बन्धी रोगका बिरामीले सही उपचार पाउने अवस्था थिएन। सही उपचारको अभावमा सानो समस्याले पनि बिरामीले धेरै दुःख पाउने गरेको घटनालाई उनले नजिकबाट अनुभव गर्ने मौका पाए। सामान्य रोगका बिरामी पनि सही उपचारको अभावमा प्रताडित हुने गरेको उनले बताए। ‘जति पनि बिरामी आउँथे, सामान्य रोग भए पनि अति नै प्रताडित थिए। औषधि पसलमा गयो, केही दिन निको हुने अनि फेरि बिग्रने अवस्था थियो। यो विषयमा मान्छेको चेतना नै रहेनछ भन्ने मलाई लाग्यो,’ उनले भने।
बंगलादेशमै पुग्थे बिरामी
एमडी अध्ययनका लागि डा पोखरेल बंगलादेशमा थिए। उनी होस्टेलमा बस्थे। एक दिन एकाबिहानै कसैले उनको ढोका ढक्ढक्यायो। एक नेपाली परिवार उनको ढोका अगाडि थिए। उनीहरुको साथमा १७÷१८ वर्षकी छोरी थिइन्। उनीहरु डा पोखरेललाई भेट्न विराटनगरदेखि बंगलादेशमै पुगेका रहेछन्। उनीहरुको छोरीलाई दुबीको समस्या रहेछ। कयौँ उपचारमा निको नभएपछि उनीहरु आफूलाई खोज्दै बंगलादेश पुगेको उनी बताउँछन्।
त्यो दिन सम्झदै डा पोखरेल भन्छन्, ‘जति ठाउँमा जँचाए पनि दुबी ठिक नभएको रहेछ। कसले मेरो नाम बताएको रहेछ। उहाँहरु मलाई खोज्दै बंगलादेश पुग्नु भएछ। यसले पनि मानिसहरु कतिसम्म पीडित रहेछन् भन्ने मलाई लाग्यो।’ उनले ती बिरामीलाई परामर्श गरी औषधि लेखिदिए। आफू नेपाल फर्किएपछि पनि ती बिरामीले आफूलाई नै देखाउने गरेको डा पोखरेल बताउँछन्। बिरामीहरुको विश्वास र आसाका कारण आफूलाई थप प्रेरणा मिल्दै गएको उनी बताउँछन्।
जहाँ पढे पनि स्वदेशमै काम गर्छु भन्ने अठोट
उनका बुवा सरकारी जागिरे। डा पोखरेलले पनि सानैदेखि छात्रवृत्तिमा अध्ययन गरे। सानैदेखि नै देशप्रति माया थियो। विदेशको मोह कहिल्यै जागेन। काम गर्ने सिलसिलामा उनलाई विदेशमा काम गर्ने अवसर नआएको होइन। तर बाहिर जाने सोच कहिल्यै बनाएनन्।
सन् २००० मा उनी यूएनएचसीआरको एक कार्यक्रममा स्वीजरल्याण्ड पुगेका थिए। उनको चिनजान स्वीजरल्याण्डस्थित युनिभर्सिटी अफ ज्युरिचका डिन प्रोफेसर गन्ट्रोवर्गसँग थियो। स्वीजरल्याण्ड पुगेका बेला उनको भेट ती प्रोफेरससँग भयो। ती प्रोफेसरले उनलाई घुमाउन लगे। घर देखाए। गाडी देखाए। र, एउटा सम्झौतामा हस्ताक्षर गर्न भने। त्यो सम्झौता पाँच वर्षसम्म स्वीजरल्याण्डमा काम गर्ने विषयमा थियो।
‘यो पेपरमा हस्ताक्षर गरिहाल। यो राम्रो अवसर हो। तिम्रो परिवारको भिसाको लागि प्रक्रिया यो हो भनेर मलाई भन्न थाले। एकछिन त छक्क परेँ। मेरो लागि निकै राम्रो अवसर थियो त्यो,’ डा पोखरेलले भने।
उनले ती प्रोफेसरलाई स्वीजरल्याण्डमा काम गर्न नसक्ने र नेपालमै काम गर्ने आफ्नो इच्छा भएको बताए। नेपालमा देखेको स्वास्थ्य समस्यालाई नजरअन्दाज गरेर उनी विदेशमा बस्न सकेनन्। आफ्नो यस निर्णयप्रति आज पनि कुनै पश्चाताप नभएको उनी बताउँछन्।
‘देशप्रतिको माया, परिवारप्रतिको माया र आफ्नो जिम्मेवारी यी सबैले मलाई त्यहाँ बस्न दिएन। मलाई कहिले पनि विदेश जाने मन लागेन,’ उनले भने।
विकास हुँदै गएको छाला रोगको उपचार
अहिले धेरेको रोजाइमा पर्ने विषयमध्ये एक हो, डर्माटोलोजी। तर पहिले अवस्था यस्तो थिएन। छाला रोगको उपचारमा आएको परिवर्तनलाई डा पोखरेलले नजिकबाट नियालेका छन्।
पहिले समस्या जटिल खालका हुँदैनथे। सामान्य औषधिले पनि निको हुन्थे। लुतो, एक्जिमा, घाउ–खटिरा सबैभन्दा बढी हुन्थ्यो। आजभन्दा ३० वर्ष पहिले छालासम्बन्धी रोगको उपचारका लागि तीन÷चार वटाभन्दा बढी औषधि नहुने र त्यही औषधिबाट ९० प्रतिशत रोगहरु निको हुने गरेको उनले बताए।
डा पोखरेलले भने, ‘अहिले जस्तो डरलाग्दो फंगल इन्फेक्सन त्यतिबेला थिएन। सामान्य औषधिले पनि ठिक हुन्थ्यो। तर अहिले फंगल इन्फेक्सनले पनि धेरै औषधिलाई प्रतिरोध गर्न थालिसक्यो।’
उनले एमबीबीएस अध्ययन गर्ने बेला औंलामा गन्न सकिने छाला रोग विशेषज्ञ मात्र थिए। त्यो पनि अधिकांश डिप्लोमा गरेका मात्र।
हालको जस्तो लेजरथेरापी, पिलिङ जस्ता कस्मेटिक आधुनिक प्रविधि पहिले नभएको उनले बताए। लेजरथेरापी नेपाल भित्रिएको करिब १५ वर्ष भएको उनले सुनाए।
जागिरे जीवनबाट अवकाशप्राप्त भए पनि काममा सक्दो सक्रिय रहने डा पोखरेलको योजना छ।