काठमाडौं– ‘सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो? प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालम नाम दर्ता गर्न समेत किन घण्टौसम्म कुर्नु पर्दछ?,’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसदमा प्रश्न गरे, ‘सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि तीन चार महिना किन कुर्नुपर्ने गरेको हो?’
संसदमा प्रधानमन्त्री दाहालको संवोधन चल्दै गर्दा मंगलबार नै वीर अस्पतालमा भने बिरामीले शल्यक्रियाका लागि २०८० कात्तिक ९ गतेको पालो पाएका छन्।
वीर अस्पतालको युरोलोजी विभागमा उपचारका लागि पुगेकी ४५ वर्षीया एक महिलाले मिर्गौलाको पत्थरीको उपचारका लागि आगामी कात्तिक ९ गते पालो पाएकी हुन्।
युरोलोजी विभागका चिकित्सकले ती महिलालाई कात्तिक ५ गते अस्पतालमा सम्पर्क गरी ७ गते भर्ना भएर ९ गते शल्यक्रिया हुने जानकारी दिएर पठाएका छन्।
ती महिलाले मिर्गौलाको पत्थरीको शल्यक्रियाका लागि १० महिना कुर्नुपर्ने अस्पतालको रेकर्डमै देखिन्छ।
युरोलोजी विभागका प्रमुख प्राडा रविन बहादुर बस्नेतका अनुसार ती महिलाको मिर्गौलाको तल्लो भागमा पत्थरी छ। जसलाई आकस्मिक उपचारको अवस्था मानिदैंन।
पहिला नै पालो कुरेका बिरामी अरु पनि भएकालले ती महिलाका लागि २०८० को कात्तिक ९ गतेको पालो दिइएको हो। त्योभन्दा अघि शल्यक्रियाको पालो नै छैन। अब नयाँ आउने बिरामीले त्यसपछिको पालो पाउँछन्।
ती महिला मात्र होइन, अन्य बिरामीले पनि शल्यक्रियाका लागि महिनौं पालो पर्खिनुपर्ने अवस्था छ। वीर अस्पतालको युरोलोजी विभागजस्तै अन्य विभागहरुमा पनि यस्तै पालो कुर्नुपर्ने अवस्था छ।
शल्यक्रियाका लागि ९–१० महिना पालोमा रहेका बिरामीको विवरण र फोन नम्बर राखेर अस्पतालले पालो आएपछि सम्पर्र्क गर्दै आएको छ।
यो समस्या वीर अस्पतालमा मात्र होइन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, कान्ति बाल अस्पताल, पाटन अस्पताल, गंगालाल लगायतका सबै ठूला अस्पतालमा छ। केन्द्रीय अस्पतालहरुमा बिरामीले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुरिरहेको अस्पतालको रेकर्डले देखाउँछ।
बिरामीले ओपिडीदेखि शल्यक्रियासम्म एकदिन देखि एकवर्षमा पालो कुर्नुपर्ने अवस्था त्रिवि शिक्षण अस्पतालमा पनि रहेको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले बताए।
‘बिरामीले एक दिनदेखि एकवर्षसम्म पालो कुर्नुपर्ने अवस्था छ,’उनले भने,‘न्युरो सर्जरी, युरो सर्जरी, इएनटीमा बिरामीले धेरै समय पालो कुर्नुपर्ने अवस्था देखिएको छ।’
उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा धेरै समय नाक, कान तथा घाँटी विभागमा शल्यक्रियाका लागि कुर्नुपर्ने हुन्छ।
‘अहिले आइरहेका बिरामीलाई सर्जरीका लागि अर्को वर्षको क्यालेन्डर नै पल्टाएर मिति तय गर्नुपर्ने अवस्था छ’ उनले भने।
त्रिवि शिक्षण अस्पतालको उपकरण तथा पूर्वाधार, जनशक्ति र आर्थिक सहयोगका लागि सरकारले वेवास्ता गर्ने गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिए।
अस्पतालले आफ्नै आम्दानीको भरमा सेवा सञ्चालन गर्नुपर्ने हुँदा सिमित स्रोत साधन र जनशक्तिले बिरामीको चाप समयमै व्यवस्थापन गर्न असम्भव रहेको उनले बताए।
शल्यक्रिया बाहेकको सेवामा पनि लामो लाइन
सरकारले जुनसुकै सरकारी सेवाका लागि पुग्ने सेवाग्राहीले लाइनमा बस्नुपर्ने बाध्यता हटाउन निर्देशन दिइसकेको छ।
तर सरकारी अस्पतालहरुमा बिहान ८ बजेदेखि नै उपचारका लागि टोकन लिनदेखि टिकट लिन र विशेषज्ञ चिकित्सकको उपचार र परामर्श लिन तथा ल्याब टेष्टहरु गराउन र अस्पतालको र्फामेसीमा औषधि लिन पनि लामो समय पालो नै कुनुपर्ने अवस्था छ।
'अहिलेकै जनशक्ति र पूर्वाधारमा पालो कुर्ने अवस्था हटाउन सकिँदैन'
वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेत अहिलेकै जनशक्ति र पूर्वाधारका आधारमा उपचारका लागि बिरामीले पालो कुर्नुपर्ने अवस्था हटाउन सम्भव नै नभएको बताउँछन्।
‘उभिनुपर्ने अवस्था हटाउन सकिन्छ तर लाइन नै त हटाउन सकिँदैन,’ उनी भन्छन्, ‘अस्पतालको क्षमता भन्दा धेरै बिरामी आउनुहुन्छ। धेरै बिरामी हुँदा लाइन बस्नुपर्ने बाध्यता त हुन्छ।’
सर्जरीमा महिनौं कुर्नुपर्ने बाध्यता हटाउन सम्भव छ?
‘मैले सचिवज्युहरुलाई भनिसकेको छु। सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तिव्र बनाउन नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु। तर नतिजामुखी कार्यसम्पादनको जिम्मा तपाईंहरुले लिनुपर्दछ’ प्रधानमन्त्री दाहालले मंगलबार नै दिएको अर्को अभिव्यक्ति हो यो।
तर सरकारी अस्पतालहरुमा देखिएको अवस्थाले भने सरकारले समस्या समाधानको जिम्मा लिएजस्तो देखिँदैन।
अस्पतालका चिकित्सकहरुका अनुसार जनशक्ति, उपकरण लगायतका पूर्वाधारहरुको पर्याप्त व्यवस्था नभएका कारण नै महिनौं कुर्नुपर्ने अवस्था आएको हो।
वीर अस्पतालका युरोलोजी विभागका प्रमुख एव प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा रविन बहादुर बस्नेत वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि महिनौं पालो कुनुपर्ने अवस्थाको थुप्रै कारणहरु भएको बताउछन्।
उनले देखेको मुख्य कारण हो– वीर अस्पताल जस्तै कम शुल्कमा विशिष्टकृत सेवा दिने अस्पताल प्रदेशहरुमा सञ्चालन नहुनु।
डा बस्नेत भन्छन्, ‘वीर अस्पतालमा जस्तै विशिष्टकृत सेवा यहीको जस्तो शुल्कमा सबै प्रदेशमा दिने हो भने वीर अस्पतालमा मात्र बिरामीको चाप हुँदैन। अनि बल्ल बिरामीले पालो कुनुपर्ने अवस्था हुँदैन।’
सामान्यदेखि आकस्मिक अवस्थासम्मका बिरामीहरु उपचारका लागि वीर अस्पतालमै आइपुग्ने हुँदा युरोलोजी विभागले बिरामीहरुको स्वास्थ्य अवस्थालाई तीन प्रकारमा विभाजन गरेर सोही अनुसार पालो तोकिदिने गरेको डा बस्नेतले सुनाए।
उनका अनुसार युरो सर्जरी विभागमा आउने बिरामीलाई आकस्मिक, सेमि आकस्मिक र सामान्य गरी तीन प्रकारमा विभाजन गरेर सोही अनुसार बिरामीको अस्वस्थताको अवस्था अनुसार शल्यक्रियाका लागि पालो दिइने गरिन्छ।
सरकारले सबै प्रदेशमा भौतिक पूर्वाधार, जनशक्ति, उपकरण सहित सेवा विस्तार गरेर जनतालाई घर नजिकको अस्पतालमा गुणस्तरीय सेवाको विश्वास जगाउन पनि आवश्यक रहेको उनको भनाइ छ।
‘काठमाडौं बाहिर पनि जनरल सर्जनले युरोलोजी सर्भिस दिइरहेको हुन्छ। अर्को अहिले धेरैजस्तो ठूलो शहरहरुमा युरोलोजी सर्भिस पुगेको छ,’ उनले भने, ‘प्रादेशिक अस्पतालहरुमा वीर अस्पताललाई जस्तै सेवासुविधा र उपकरण दिएर जनतामा विश्वास जगाउनुपर्छ।’
डा बस्नेतले उपचार प्रादेशिक अस्पताल तथा मेडिकल कलेजहरुमा पर्याप्त जनशक्ति, प्रविधि तथा उपकरण र सस्तो सेवा उपलब्ध भएमा वीर अस्पतालमा बिरामीको चाप ७५ प्रतिशत कम हुने बताए।
‘हामीलाई लोड बढी भयो र विशिष्टकृत अस्पतालको रुपमा जुन सेवा दिनुपर्ने हो हाम्रो त्यसमा चाँही समस्या भयो। जसलाई विशिष्टकृत सेवा चाहिएको छ त्यो बिरामीले पनि कुर्नुपर्ने अवस्था भयो,’ उनले भने, प्रादेशिक अस्पतालहरु स्तरउन्नति गर्यो भने धेरै समस्या समाधान हुन्छ।’
अस्पतालमा लाइन बसेर सेवा लिनुपर्ने तथा महिनौं पालो कुरेर शल्यक्रिया गर्नुपर्ने अवस्था हटाउन सरकारले चाहेमा असम्भव भने नभएको डा बस्नेतले बताए।
‘सरकारले भनेको जस्तो अस्पतालमा सेवा लिनेको लाइन हटाउन असम्भव छैन। तर सम्भव हुन निर्देशन दिएर भोलिदेखि हटाउ भनेर मात्र हुँदैन’ उनले भने, ‘सरकारले पहिला काठमाडौं बाहिरका सरकारी अस्पतालको स्तरोन्नती गर्नुपर्यो। जनतामा घर नजिकको अस्पतालमा विश्वास जगाउने काम सरकारले गर्नुपर्यो।’
वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेत पनि हाल अस्पतालमा भएको जनशक्ति, भौतिक पूर्वाधारबाट शल्यक्रिया सेवामा बिरामीले महिनौं कुनुपर्ने बाध्यताको अन्त्य हुन नसक्ने बताउँछन्।
उनी भन्छन्, ‘सर्जिकल भवन पूर्ण रुपमा चलेपछि ४ महिना कुर्नुपर्ने अवस्था कम भएर २ महिना हुन सक्छ, तर आजको भोलि नै त, अहिलेको जनशक्ति र भौतिक पूर्वाधारले सम्भव छैन। सरकारले भौतिक पूर्वाधार, जनशक्ति उपकरण सबैको व्यवस्था गर्नुपर्छ।’
यसकारण सरकारी अस्पतालमा लामो लाइन र शल्यक्रियामा पालो कुर्नुपर्ने अवस्था– डा बस्नेत
सह प्राडा रविन बहादुर बस्नेत, प्रमुख कन्सल्टेन्ट युरोसर्जन
विभागीय प्रमुख, वीर अस्पताल
वीर अस्पतालको युरोलोजी विभाग भनेको विशिष्टकृत सेवा हो। जनरल सर्जरीको विशिष्टकृत शाखा हो। काठमाडौं बाहिरका प्राय अस्पतालहरुमा युरोलोजी सेवा जनरल सर्जरी विभागले नै दिएको हुन्छ। तर वीर अस्पतालमा सर्जरीको पनि डिभिजनहरु छ। विभागहरु नै छुट्टा छुट्टै छन्। जस्तो न्युरो सर्जरी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, प्लाष्टिक सर्जरी, कार्डियोथोरासिक सर्जरी भनेर छुट्टाछुट्टै विभाग छ। त्यो मध्येको एउटा युरोलोजी विभाग हो।
युरोलोजी विभागमा क्लिनिकल सेवा र न्याम्सको पठनपाठन सेवा गरेर दुईथरीको सेवा हुन्छ।
पठनपाठनमा युरोलोजीको एमसीएचसम्मको पढाइ हुन्छ।
क्लिनिकल सेवामा पनि ओपिडी र शल्यक्रिया दुईथरी सेवा छ। ओपिडी हप्तामा तीन दिन हुन्छ, आइतबार, मंगलबार र शुक्रबार हुन्छ। शल्यक्रिया दुईथरी हुन्छ। जनरल युरोलोजी हप्तामा तीन पटक हुन्छ, सोमबार, बुधबार र बिहीबार । मंगलबार मिर्गौला प्रत्यारोपण गर्छौं।
अहिले बिरामीबाट गुनासो आउने भनेको शल्यक्रियाका लागि एकवर्ष पछिको मिति दिइयो भन्ने छ। यो कुरा सहि हो। एकवर्ष पछिको मिति राखेर शल्यक्रियाको समय दिइरहेका छौं।
सबैभन्दा पछिल्लो मितिको हेर्ने हो भने २०८० को कात्तिकसम्मको समय दिएका छौं। आज मंगलबार आएको बिरामीले शल्यक्रियाका लागि २०८० साल कात्तिकको समय पाएको छ।
तर आज आएका सबै बिरामीले त्यही मितिको समय पाउने होइन। युरोलोजीको सबै समस्या हाम्रो युरोलोजी विभागले हेर्छ। त्यसमाथि वीर अस्पताल भनेको अन्यत्रबाट रेफर भएर आउने केन्द्रीय अस्पताल हो। नेपालभरका जिल्ला अस्पतालले बिरामी रेफर गर्ने ठाउँ यही अस्पताल हो। अर्को सरकारी स्वास्थ्य बिमा सेवा पनि यही अस्पतालमा छ। बिरामीहरु आफैं वीर अस्पतालनै रोजेर आउने पनि हुन्छन्।
हाम्रो रेकर्ड अनुसार युरोलोजीमा मात्र दैनिक १५० देखि २०० जना बिरामी ओपिडीमा आउँछन्। हप्तामा तिन दिन ओपिडी सेवा सञ्चालन हुँदा हप्तामा ४५० देखि ६०० बिरामीहरु हेर्छौं। यो भनेको युरोलोजीकै टिकट काटेर आएको र अन्य विभागले हाम्रोमा हेर्नुपर्ने भनेर पठाएको बिरामी सहित हो।
यस्तै एकदिनमा १५ देखि २० जनाको शल्यक्रिया गर्छौं।
जनरल युरोलोजीको शल्यक्रिया हप्तामा तीन दिन हुँदा ४५ देखि ६० जना मात्र गर्न सक्छौं। वीर अस्पतालको पछिल्लो तीन वर्षको रेकर्ड नै हेर्ने हो भनेपनि वीर अस्पतालको सबैभन्दा धेरै शल्यक्रिया गर्ने विभाग युरोलोजी विभाग नै हो। अधिकतम सेवा दिँदा पनि एक दिनमा १५ वटा केसभन्दा बढी शल्यक्रिया गर्न सकिँदैन। यति जनशक्तिले १५ देखि २० वटा केस शल्यक्रिया गर्ने भनेको धेरै नै हो।
हाम्रोमा आएका बिरामीहरु शल्यक्रियाका लागि किन २०८० सालसम्म कुनुपर्ने अवस्था भयो? यसको कारण छ।
आकस्मिक अवस्थामा आएका बिरामीलाई हामीले २०८० सालमा आउनुस् भनेर पठाउँदैनौं।
हामीले आकस्मिक बिरामी भनेर छुट्टाएका छौं। जस्तो दुर्घटनाका केस, अण्डकोस घुमेका केसहरु आकस्मिक केसको रुपमा ३ देखि ४ घण्टा भित्रमै पनि सुरु गर्छौं।
उनीहरुले कुर्नु पर्दैन।
आकस्मिक बिरामीलाई २४ घण्टा नै सेवा खुल्ला हुन्छ, शल्यक्रिया पनि हुन्छ।
अर्को सेमी आकस्मिक बिरामी छन्। सेमी आकस्मिकमा क्यान्सरका बिरामीहरु पर्छन्।
किनकी क्यान्सरका बिरामीलाई एकवर्ष पछि बोलायो भने क्यान्सर फैलिसकेको हुन्छ। शल्यक्रिया गर्ने स्थिति नै हुँदैन। कोही बिरामीको जन्मजात एउटा मात्र मिर्गौला भएको वा एउटा मिर्गौला झिकिसकेको बिरामीमा फेरि मिर्गौलाको समस्या भयो तर तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छैन भने त्यो बिरामीलाई सेमी आकस्मिक अवस्थामा राखिन्छ। उनीहरुले पनि एकदुई हप्तामा पालो पाउँछन्।
अब तेस्रो थरीका बिरामीहरु हुन्छन् जो प्रोस्टेटको कारणले पिसाब अड्किएर आएको हुन्छ, जो केही हप्ता कुर्न सक्छन्। उनीहरुलाई एकडेढ महिनाभित्र शल्यक्रिया गर्न सक्छौं। प्रोस्टेटको समस्या भएर पिसाब अड्किएको बिरामीलाई तत्काललाई पाइप राखेर एक डेढ महिनाभित्र गर्न सक्ने, मिर्गौलामा पथ्थरी भएकाहरुलाई एक डेढ महिनामा शल्यक्रिया गर्छौं।
एक वर्षपछिको पालो कसले पाउँछ त भन्दा जसको मिर्गौलामा पत्थरी छ तर त्यसले मिर्गौलामा केही पनि असर गरेको छैन। अर्थात मिर्गौलाको छेउछाउमा पत्थरी रहेका बिरामी ।
मिर्गौलाको छेउछाउमा पत्थरी हुँदा बिरामीलाई त्यति असर पर्दैन। पिसाबको बाटोमा भयो भने मात्र असर पर्छ। मिर्गौलाको पत्थरीमा पनि पिसाब आउने बाटोमा छ भने छिटो नै शल्यक्रिया गर्छौं।
हाम्रोमा धेरैजस्तो बिरामी आउने भनेको यही समस्याको हो। उनीहरुलाई असजिलो हुन्छ तर मिर्गौलामा पनि असर पर्दैन। बिरामीलाई पनि धेरै अप्ठ्यरो हुँदैन, कुर्न पनि सक्छन्। मिर्गौलाका बिरामीलाई अप्ठ्यारो पर्यो भने आकस्मिक उपचारका लागि बोलाउछौं। उनीहरुले आकस्मिक उपचार नै पाउँछन्।
अर्को भनेको कस्मेटिक सर्जरी गर्न बिरामीहरु आउँछन्। त्यो भनेको उपचार आवश्यक नै हुन्छ भन्ने होइन। उनीहरुलाई अरु सबैकोभन्दा पछाडि सबैभन्दा अन्तिमको दिनको पालो राखिन्छ।
आकस्मिक अवस्थामा नरहेका र केही समयपछि शल्यक्रिया गर्दा पनि समस्या नहुने बिरामीलाई हामीले पछाडिको मिति दिने गरेका हौं। यसरी मिति तोकिदिएको सबै बिरामीको फोन नम्बर हामीले राख्छौं। उनीहरुलाई हामीले प्राथमिकताको आधारमा पनि फोन गरेर पनि बोलाउँछौ।
कुनै सातामा शल्यक्रियाको लिष्ट खाली छ भने बिरामीलाई हामी फोन गरेर सोध्छौं। काठमाडौं बाहिर हुनुहुन्छ भने फोन गरेर बोलाउछौं।
बिरामीले एकवर्ष पालो कुनुपर्ने अवस्थाको अन्त्य कसरी गर्ने भन्ने कुराको समाधान पनि छ।
सबै बिरामीको भार वीर अस्पताललाई मात्र पार्नु भएन। विशिष्टकृत सेवा दिने अस्पताल भएपनि सिधै वीरमै आउने बिरामीलाई पनि सेवा दिनैपर्छ। कतिपय देशहरुमा बिरामी सिधै आउँन पाउदैनन्। अन्य अस्पतालबाट रेफर भएर मात्र विशिष्टकृत सेवा लिन पाउँछन्।
वीरमा विशिष्टकृत युरोलोजी सेवा छ। तर काठमाडौं बाहिर पनि जनरल सर्जनले युरोलोजी सर्भिस दिइरहेको हुन्छ। अर्को अहिले धेरैजस्तो ठूलो शहरहरुमा युरोलोजी सर्भिस पुगेको छ। सबै बिरामी काठमाडौं नै आइपुग्नुपर्ने अवस्था छैन। एउटा त बिरामीले नै आफ्नो ठाउँको अस्पताललाई विस्वास गर्नुपर्छ।
मिर्गौलामा पत्थरी छ भन्दैमा काठमाडौंमै आइहाल्नु पर्दैन। नजिकको प्रादेशिक तथा क्षेत्रिय अस्पतालहरुमा सेवा लिन सक्छन्।
अब किन वीर अस्पतालमै सेवा लिन आउँछन् भने एउटा काठमाडौं भनेर पनि हो। अर्को वीर अस्पतालको सेवा सस्तो भएर पनि हो। वीर अस्पतालको सेवा निजी अस्पतालको भन्दा १५ गुणा कम छ। हामीले ५ हजारमा गर्ने मेजर सर्जरी निजीमा गर्नुपर्दा एकदेखि डेढलाख रुपैयाँ लाग्छ।
अब सरकारले वीर अस्पतालमा भएको सेवालाई सबै प्रादेशिक अस्पतालमा वीर अस्पतालकै शुल्कमा दियो भने त बिरामीहरुले त्यहीँ उपचार गराउछन्।
प्रादेशिक अस्पतालहरुमा वीर अस्पताललाई जस्तै सेवा सुविधा र उपकरण दिएर, वीर अस्पतालको जस्तै शुल्कमा सेवा दिनुपर्यो।
हामीकहाँ आएका बिरामीको तथ्यांकलाई केलाएर हेर्दा लगभग ७० देखी ७५ प्रतिशत बिरामी काठमाडौं आउन नै नपर्ने खालका छन्। उनीहरुको उपचार प्रादेशिक अस्पताल तथा मेडिकल कलेजहरुमै सम्भव छ। तर त्यसका लागि त्यहाँ जनशक्ति पर्याप्त हुनुपर्छ। प्रविधि र उपकरण हुनुपर्छ। अर्को सेवा शुल्क पनि सस्तो हुनुपर्छ र जनतामा विस्वास जगाउन पर्छ।
त्यो भयो भने वीर अस्पतालको लोड ७५ प्रतिशत कम हुन्छ। जस्तै प्रोस्टेटको सर्जरी गर्न काठमाडौं नै आउनुपर्दैन। झापादेखि धनगढीसम्म नै उपचार हुन्छ। तर सस्तोमा उपचार पाइन्छ भनेर वीरमा नै आउँछन्। त्यसले गर्दा हामीलाई लोड बढी भयो र विशिष्टकृत अस्पतालको रुपमा जुन सेवा दिनुपर्ने हो हाम्रो त्यसमा चाँही समस्या भयो। जसलाई विशिष्टकृत सेवा चाहिएको छ त्यो बिरामीले पनि कुर्नुपर्ने अवस्था भयो।
प्रादेशिक अस्पतालहरुको स्तरोन्नति गर्यो भने धेरै समस्या समाधान हुन्छ।
हाम्रो वीर अस्पतालको युरोलोजी विभागमा पनि कन्सल्टेन्ट ६ जना छौं। एमसिएच गरिरहेका ७ जना गरी १३ जना छौं। युरोलोजी विभागमा अहिले दिइरहेको सेवाका लागि युरोलोजिष्टको टिम छ। तर युरोलोजीमा सर्जरीका लागि डाक्टर पनि दुईथरीको चाहिन्छ। युरोलोजिष्टसँगै एनेस्थसियोलोजिष्ट पनि चाहिन्छ। नर्स चाहिन्छ र अन्य सपोर्टिप स्टाफ चाहिन्छ।
अहिले तीन दिन चलिरहेको शल्यक्रिया हप्ताको ६ दिन नै गर्नका लागि युरोलोजिष्ट पुग्छौं। तर हामीलाई समस्या कहाँ छ भने वीर अस्पतालमा युरोलोजिको एनेस्थेसिया भनेर छुट्टै छैन। एनेस्थेसियको विभाग छ। उनीहरु सबै विभागको सर्जरीमा जानुपर्छ। उनीहरुले युरोलोजिमा काम गर्दा अन्य विभागमा असर पर्छ। एनेस्थेसियोलोजिष्टको कमी छ। युरो सर्जरीका लागि एकदिनमा ४ जना एनेस्थेसियोलोजिष्ट चाहिन्छ।
अर्को भनेको नर्सको कमी छ।
वीर अस्पतालको सर्जिकल भवनमा अहिले १५ वटा शल्यक्रिया थियटर छ। १५ वटा शल्यक्रिया थियटर एकैपटक चलाउनका लागि नर्सको मात्रा पुग्दैन। युरोलोजिमा शल्यक्रियाका लागि एकपटकमा ४ जना नर्स चाहिन्छ।
हाम्रो युरोलोजीको २ वटा शल्यक्रिया थियटर छ। अहिलेको अवस्थामा अभाव नै छ। युरोलोजीको कतिपय औजारहरु सबैले चलाउन सक्दैनन्। हाम्रो डेडिकेट सामान चलाउने नर्सहरु ३–४ जना मात्र छन्। उहाँहरुलाई हप्ताको ६ दिन नै काम लगाउन सक्दैनौं। यसैगरी, फ्लोर स्टाफको पनि संख्या कम छ।
कहिलेकाँही युरोलोजीमा आवश्यक पर्ने औजारहरु बिग्रिन्छ तर समयमा मर्मत हुँदैन। जसले गर्दा पनि उपचारमा समस्या हुन्छ। वेवले पथ्थरी फुटाउने इएसडब्लुएल विधिको उपचारका लागि मेसिन बिग्रिएको छ। यो सानो फुस्रो ढुंगा फुटाउने मेसिन हो।
अर्को ४ वर्ष अघि आएको युरो डाइनामिक मेसिन जडान नै भएको छैन। यो मेसिन पिसाब रोकिएर आएको बिरामीको कारण पत्ता लगाएर उपचार गर्ने मेसिन हो। हामीले यो जाँच गर्न बाध्य भएर निजी अस्पतालमा पठाउनु परेको छ।
अर्को डिस्पोजेबल सामानहरु जस्तोः प्रोस्टेटको शल्यक्रिया गर्दा प्रयोग हुने लुपहरु, फोर्सेप, आरआइआरएस (नचिरी प्वाल नपारी पिसाब नलिबाट पथ्थरी फुटाउने विधि) छ । तर यो एउटा औजार ३० घण्टा चलाउनुपर्छ। त्यसपछि त्यो रिप्लेस हुनुपर्छ। तर ३० घण्टापछि सकिँदा फेरी उपलब्ध हुन नै समय लाग्छ। यस्ता औजारहरु समयमा खरिद नहुँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था भइरहेको हुन्छ।
अर्को चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलको कुरा पनि छ।
हामीले अधिकतम क्षमतामा काम गरिरहेका छौं। तर त्यो अनुसार कुनै इन्सेन्टिभ छैन। शल्यक्रिया गर्दा हुने कम्प्लिकेसनको व्यवस्थापन संस्थाले गर्दैन। शल्यक्रिया सेवा दिँदा करिअर नै दाउमा राखेर गरिरहेका छौं। हाम्रो मनोबल बढाउने केही सुविधा छैन।
सरकारले भनेको जस्तो अस्पतालमा सेवा लिनेको लाइन हटाउन असम्भव छैन। तर सम्भव हुन निर्देशन दिएर भोलिदेखि हटाउ भनेर मात्र हुँदैन।
सेवा शुल्कको सरकारले मोनिटरिङ गर्नुपर्छ। निजी अस्पतालहरु सरकारी अस्पतालभन्दा १५ गुणा महंगो भयो त्यो पनि नियन्त्रण गर्नुपर्यो। यसले पनि केही राहत हुन्छ।
अर्को समस्या भनेको चिनजानको भरमा छिटो शल्यक्रिया गरिदेऊ भन्दै फोर्स गर्नेहरुको दबाब पनि हो। यो कारणले त हामीलाई ठूलै समस्या पर्छ। दैनिक १५ जनाको पालो छ शल्यक्रियाको अर्को एकजना भनसुन गरेर आउँदा साँच्चै त्यही दिन सेवा चाहिनेलाई त असर परिरहेको हुन्छ। कहिले कस्को मान्छे कहिले कस्को मान्छे भनेर प्रेसर दिनु भएन। अस्पतालकै कर्मचारीको मान्छे भनेर बरु एकदिन छुट्टाइदियो भने हामीलाई अनावश्यक तनाब हुँदैन।
(रिता लम्सालसँगको कुराकानीमा आधारित)