काठमाडौं- बाँकेको नेपालगन्जका ६४ जना बालबालिकामा दादुरा रुबेला रोग देखिएको छ। पुस २३ गते साँझ ५ बजेको तथ्यांक अनुसार नेपालगन्जमा ६४ जना बालबालिकामा दादुरा रोग देखिएको हो। जसमध्ये एक जनाको मृत्यु समेत भएको छ।
गत पुस १२ गते नेपालगन्जमा यो वर्ष पहिलो पटक दादुराका बिरामी भेटिएका थिए। हालसम्म नेपालगन्जको १० वटा वडाहरुमा दादुराका बिरामी भेटिएको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।
१, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ वडाहरुमा गरी ६३ र खजुराको वडा नम्बर २ मा १ जना गरी ६४ जनामा दादुरा देखिएको शाखा प्रमुख सागर दाहालले जानकारी दिए। शाखाका अनुसार २३ गते मात्र २८ जना बिरामी थपिएका छन्।
यी वडाहरुमध्ये पनि ७, ८, ५, १४ वडा सबैभन्दा बढी प्रभावित देखिएको छ। वडा नम्बर ७ मा सबैभन्दा बढी २५ जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ। वडा नम्बर ८ मा १९, ५ मा ८, १४ मा ४, ९ मा २ र १, १०, ११, १५ र २२ मा एक/एक र खजुराको वडा नम्बर २ मा १ जनामा दादुरा देखिएको शाखाको तथ्यांक छ।
खोप नलगाएका बालबालिकामा दादुरा
नेपालगन्जमा दादुरा रुबेला प्रकोप के कसरी फैलियो? भन्ने यकिन विवरण हालसम्म प्राप्त भइसकेको छैन। यद्यपि प्रारम्भिक अध्ययनले खोप नलगाएका बालबालिकामै बढी दादुराको समस्या देखिएको छ।
पुुस २२ गते दादुराका शंकास्पद लक्षण भएका १९ जना बालबालिकामध्ये पाँच जनाको नमूना परीक्षण गरिएको थियो। नमूना परीक्षण गरिएका पाँच जनामै दादुरा पुष्टि भएको शाखा प्रमुख दाहाल बताउँछन्।
‘दादुरा जस्तै लक्षण भएका पाँच जनाको नमूना संकलन गरियो। जसमा सबै जनाको पोजेटिभ देखियो,’ उनले भने, ‘त्यसपछि कहाँ कहाँसम्म फैलिएको रहेछ भन्ने खोजी गर्ने काम सुरु भयो। तर दादुराकै महामारी भयो भन्ने आधार चाँही प्रयोगशालाको परीक्षणले दियो।’
यी १९ बालबालिकामध्ये १५ जना बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप नलगाएको पाइएको उनले बताए। खोप नलगाएका बालबालिकाको संख्या धेरै भेटिएपछि सरकारले शनिबारदेखि प्रभावित स्थानमा दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन गरेको छ।
हालसम्म ६१५ बालिका र ६४३ बालक गरी १ हजार २ सय ५८ जनाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन्। ६ महिनादेखि १५ वर्ष समूहका बालबालिकाका छन्।
पुस २२ गते ४४१ बालिका र ४३४ बालक गरी ८७५ र २३ गते १७४ बालिका र २०९ बालक गरी ३८३ जनाले खोप लगाएका हुन्। सरकारले निशुल्क उपलब्ध गराउँदै आउने खोपमध्ये दादुरा रुबेला विरुद्धको खोप पनि एक हो।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा चार प्रतिशत बालबालिका खोप लगाउन छुटेको देखाएको छ। सरकारले वर्षेनी एक वर्ष मुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरेको छ। जसमध्ये करिब २१ हजार ५२० बालबालिका छुटेको एनडीएचएसको रिपोर्टले देखाएको छ।
‘दादुराबाट सुरक्षा दिने भनेको दादुरा विरुद्धको खोप हो। त्यहाँ कुनै बालबालिका खोप लगाउनबाट छुटेका छन् भनेपनि त्यो जोखिमपूर्ण हुन्छ। छुटेका बालबालिका संक्रमित भए उसले अरुलाई पनि सार्दै गएर महामारीको जोखिम हुने हो’ उनले भने।
दादुरा रोग लागेपछि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले भिटामिन ए तत्काल दिनुपर्ने उनले बताए।
विद्यालय बन्द गर्न सुझाव
दादुरा एक संक्रामक रोग हो। यो रोग एकबाट अर्कोमा सहजै सर्न सक्छ। त्यहाँ संक्रमणलाई रोक्न दुई साता विद्यालय बन्द गर्न स्थानीय निकायलाई सुझाव दिइएको दाहालले जानकारी दिए।
‘दादुराको इन्क्युवेसन पिरियड हुन्छ। शरीरमा यसको भाइरस प्रवेश गरेपछि रोग देखापर्ने अवधि इक्युवेसन पिरियड हो। यो पिरियड ७ देखि १४ दिनको हुन्छ। यदी विद्यालय बन्द गर्ने हो भने १४ दिनसम्म गर्नुपर्ने सुझाव हामीले दिएका छौँ,’ उनले भने।
दुई साता विद्यालय बन्द गर्न सुझाव दिएपनि बन्द गर्ने/नगर्ने अधिकार स्थानीय सरकारले हुने उनले बताए।
दादुरा रुबेला रोग नियन्त्रणका लागि बाँकेमा बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म जनचेतनामूलक सन्देश सहितको माइकिङ गर्ने, दादुरा प्रभावित क्षेत्रमा बिरामीको खोज, उपचार तथा खोप अभियानको अनुगनम तथा सुरपरिवेक्षण गरिएको शाखाले जनाएको छ। खोप केन्द्रमा आवश्यक मात्रामा दादुरा रुबेला खोप तथा भिटामिन ए क्याप्सुल मौज्दात रहेको उनले बताए।
सन् २०२३ सम्म दादुरा निवारण गर्ने लक्ष्यमा असर
दादुरा रुबेलाका बिरामी यस वर्ष मात्र भेटिएका होइनन्। गत वर्ष जाजरकोटमा पनि दादुराका बिरामी भेटिएका थिए।
सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्य छ। नेपालले सन् २०१९ भित्र दादुरा उन्मुलन गर्ने लक्ष्य लिएको थियो। तर यो रोगको संक्रमणदर बढ्न थालेपछि उन्मुलनको लक्ष्य सन् २०२३ मा सारिएको हो।
दादुरा उन्मुलन गर्ने आफूहरुको प्राथमिकतमा परेपनि वर्षेनी देखापर्ने समस्याका कारण उन्मुलनमा चुनौती थपिएको दाहाल बताउँछन्।
‘यो घटनाको हामीले विस्तृत रुपमा विश्लेषण गर्छौ। हामीले गर्नुपर्ने कामहरुको रणनीति यिनै हुन्। तर रणनीतिमा परिवर्तन पो गर्नुपर्ने हो की लगायत विषयमा छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन खोपको उपलब्धता भएपनि दादुराको संक्रमण फैलिनु लक्ष्य प्राप्तिमा चुनौती रहेको बताउँछन्। दादुरा विरुद्धको खोप अहिले पनि उत्तिकै प्रभावकारी मानिने उनले बताए। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडीसीका अनुसार दादुरा विरुद्धको खोप ९७ प्रतिशत प्रभावकारी हुने उनले बताए।
उनले भने, ‘खोप उपलब्ध हुँदा हुँदै पनि दादुरा संक्रमणको लक्षणहरु कडा देखिनु र झन् मृत्यु नै हुनु दादुरा निर्मुल गर्ने लक्ष्यलाई चुनौती नै दिएको संकेतको रुपमा लिन सकिन्छ।’
दादुरा र रुबेला के हो?
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ। बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ।
रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ।