अस्पतालको बेडमा छ्ट्पटाइरहेका हुनेछन् मान्छेहरु
चुसेर मान्छेका रगत
खाएर मान्छेका मुटु, कलेजो, फोक्सोहरु र क्रमशः प्रत्येक अङ्ग अङ्ग
विजय उल्लास मनाइरहेका हुनेछन् ‘माइक्रोअर्ग्यानिजम्स’
रित्तिनेछन् एन्टिबायोटिक्सका बट्टाहरु
इन्जेक्सनका बोतलहरु
आफन्तका पैसाहरु।
यति हुँदाहुँदै पनि पाउने छैन
बिरामीको घाउले शीतल
जतिबेला शक्तिशाली माइक्रोअर्ग्यानिजम्सका सामु
निरीह बन्नेछन् एन्टिबायोटिक्सका कडा डोजहरु
डक्टरका प्रयासहरु
आफन्तका झिना आसहरु र
सम्पूर्ण रुपमा फेल हुनेछ ‘चिकित्सा विज्ञान’।
आत्तिनेछन् डक्टरहरु
आत्तिनेछन् आफन्तहरु र
आत्तिनेछ पूरा विश्व।
आत्तिँदा-आत्तिँदै
आत्तिन ढिलो भएपछि
आत्तिनेछ समय र
आत्तिँदै बिरामीले छट्पटिन बिर्सनेछ।
आत्तिँदै किटाणुले सास रोकिदिनेछ मान्छेको
र आत्तिँदा-आत्तिँदै किटाणु
अर्को आलो रगतको खोजीमा निस्क्नेछ
उसैगरी अत्याउन।