काठमाडौं- चिकित्सकहरुको छाता संस्था ‘नेपाल चिकित्सक संघ’को निर्वाचन नजिकिँदै छ। माघमा हुने निर्वाचनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। स्वास्थ्यखबरले अध्यक्षका उम्मेदवाहरुसँग क्रमशः कुराकानी गरेको छ। यो श्रृंखलामा लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा अनिल विक्रम कार्कीसँग रिता लम्सालले गरेको कुराकानी:
चुनाव कत्तिको लागेको छ?
हाम्रो निर्वाचन माघमा हुँदैछ। काठमाडौं बाहिर माघको पहिलो साता र काठमाडौं उपत्यकामा माघको तेस्रो साता निर्वाचन हुँदैछ। म अहिले एउटा समूहलाई नेतृत्व गरेर अध्यक्षको उम्मेदवार भएका हिसाबले म हाम्रो समूहको अजेन्डा बनाउने, सबै उम्मेदवारहरुलाई भोटर चिकित्सकसँग भेटाउने लगायतको काममा व्यस्त छु।
अध्यक्षमा तपाईंको उम्मेदवारी किन?
म यो भन्दा अगाडिको कार्यकालमा उपाध्यक्ष भएर काम गरिसकेको हुनाले अहिले मेरो दावी अध्यक्षमै रहने भयो। दुई दशकको मेडिकल क्षेत्रको यात्रामा मैले सधैं चिकित्सकहरुको आवाजलाई प्रतिनिधित्व गरिरहेको थिएँ। समाज, सरकार वा सडक जहाँ पनि।
मैले चिकित्सक संघलाई नेतृत्व गरिरहँदा हाम्रा अग्रजहरुलाई सम्मान गर्दै युवाहरुलाई साथमा लिएर अध्यक्षका लागि म योग्य छु भनेर उम्मेदवारी दिएको हुँ।
संघको उपाध्यक्ष हुँदा तपाईंले के–के काम गर्नुभयो?
हाम्रो कार्यकाल सुरु हुँदै गर्दा कोभिड आयो। त्यतिबेला सरकार, जनता, स्वास्थ्य मन्त्रालय, प्रहरी प्रशासन सबै अन्योलमै थिए। यस्तो अवस्थामा हामी नेपाल चिकित्सक संघको टिम कोभिड विरुद्ध लड्नुपर्छ भनेर लाग्यौं। हामीले स्वास्थ्य मन्त्रालयमा गएर अध्यक्षज्यूको नेतृत्वमा निजी तथा सरकारी साझेदारीमा अस्पतालहरुमा आइसोलेसन सेन्टर बनाउन सुरु ग¥यौं। त्यतिबेला हामीले अग्रज चिकित्सकदेखि युवा चिकित्सकसम्मको अभिभावकत्व लिनुपर्ने अवस्था आयो।
चिकित्सकहरुलाई डेरामा, समाजमा प्रवेश गर्दा पनि अस्पतालबाट कोभिड लिएर आउँछ जस्तो गरेर व्यवहार भयो। कोभिडबारे सचेतनाका लागि सामाजिक व्यक्तित्वहरु डा भोला रिजाल, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतमार्फत कोभिडबारे सचेतना जगायौं।
लकडाउनको समयमा युवा चिकित्सकलाई ज्याकेट बनाएर बाँड्यौं। दाताहरुमार्फत मास्क, पिपिई ल्याएर वितरण ग¥यौं। कोभिडको समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य बीमा चाहिन्छ भनेर राज्यसँग मिलेर बीमा कार्यक्रम ल्यायौं। जनता अक्सिजन नपाएर छट्पटाइरहेको अवस्थामा कतिपय ठाउँमा अक्सिजन कन्सन्टेटर बाँड्यौं। अक्सिजन प्लान्ट बनाउन सहयोग गर्यौं।
त्यतिबेला रेम्डेसिभिर औषधि नेपाल ल्याउन पनि औषधि व्यवस्था विभागमार्फत पहल गर्यौं। कोभिडको समयमा यस्ता थुप्रै काम ग¥यौं। कोभिडकै समयमा हामीले नीतिगत रुपमा पनि काम गर्नुपर्छ भनेर दुई वर्षसम्म नियमित रुपमा राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्यौं। त्यसबाट पोलिसी गाइडलाइन नेपाल सरकारलाई दिएका छौं। त्यसमा पनि हामीले धेरै चिकित्सकका समस्यालाई समेटेका छौं।
हाम्रो कार्यकाल अगाडिसम्म महिला चिकित्सकलाई सम्मान गर्ने परम्परा थिएन। हामीले महिला चिकित्सकलाई सम्मानको कार्यक्रम सुरु गरेका छौं। जो चिकित्सक दिवंगत हुनुहुन्छ, उहाँहरुलाई सम्झना गर्ने ठाउँ थिएन। त्यसैले उहाँहरुका लागि अमर चिकित्सक स्तम्भ बनाएका छौं।
२०६२/०६३ को आन्दोलनपछि अस्पतालहरुमा तोडफोड हुने, आगजनी हुने, चिकित्सकमाथि कुटपिट भइरहन्थ्यो। कोभिडकै समयमा पनि यस्ता घटना भए। हामीले समस्या भएको ठाउँमा पुगेर समाधान गर्यौं। हाम्रो पहलकै कारण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन ल्याउन सफल भयौं।
एकेडेमिक क्षेत्रमा पनि पहिले हाम्रो जर्नल प्रत्येक ३ महिनामा निस्किन्थ्यो। अहिले प्रत्येक महिना प्रकाशन गर्ने गरेका छौं। चिकित्सकका अन्य समस्यामा हामी सधैं सहयोगीको रुपमा छौं।
अब अध्यक्षका रुपमा थप के गर्ने योजना बनाउनुभएको छ?
नेपाल चिकित्सक संघको मुल नारा नै अनेकतामा एकता ल्याउने र पेसागत हकहितको संरक्षण र सुनिश्चितता गर्ने हो। हामी चिकित्सकहरु धेरै हिसाबले विभाजित छौं। आर्थिक रुपमा सक्षमदेखि निम्न अवस्थाका, सरकारीदेखि निजी क्षेत्रमा काम गर्ने, बेरोजगारदेखि स्वरोजगार, ८ घण्टामात्र काम गर्नेदेखि ७२ घण्टासम्म निरन्तरण काम गर्ने चिकित्सकहरु छौं। यी सबै चिकित्सकको अभिभावक नेपाल चिकित्सक संघ हो। यो सबैबीचको पुल संघ हो। राज्यले सधैं खोज्ने संस्था पनि हो यो। त्यसैले हाम्रो पेसागत हकहितका लागि हामीमै एकता हुनुपर्छ।
संघ अहिलेको अवस्थासम्म पुग्न अग्रजहरुको धेरै ठूलो भूमिका छ। त्यसैले अग्रजलाई सम्मान गर्ने, उहाँहरुको सल्लाह लिने र युवाहरुलाई सम्मान गर्ने, उनीहरुलाई समान हक–अधिकार दिलाउने र उहाँहरुको समस्यामा सँगै जुध्दै जाने। मैले सोचेको र मलाई लागेको कुरा, हामी स्वस्थ नेपाल भन्छौं। स्वस्थ नेपाल हुन पहिला स्वस्थ चिकित्सक हुन आवश्यक छ। त्यसैले हामीले स्वस्थ चिकित्सक स्वस्थ नेपालको नारा बनाएका छौं। एउटा अस्पतालमा अनिद्राको समस्याको उपचार गर्ने चिकित्सक आफैं सुत्ने समय भने पाइरहेको छैन।
उसका पारिवारिक समस्या, सामाजिक समस्या छन्। आर्थिक समस्या छन्। यी समस्या समाधानका लागि हामीले आवाज उठाउँछौं। तर राज्यले सुन्न चाहँदैन। कोभिडको समयमा हामी बर्दीविनाको सेनाको रुपमा खटियौं। बर्दीवाला सेनाले राज्यबाट सम्मान पाउँछ, प्रोत्साहन पाउँछ तर हामीले केही पाएका छैनौं।
७२ घण्टा खटिएका चिकित्सकलाई राज्यले उपयुक्त तलब सुविधा र आर्थिक सुविधा दिन सकेको छैन। आर्थिक सुविधा भनेको तलब मात्र होइन, करमा सुविधा, दोहोरो करका समस्या छन्।
अन्य देशमा चिकित्सकले लाइसेन्स पाएको दिनदेखि बैंकले शून्य प्रतिशतमा ऋण दिन्छ। यी सबैं समस्याका समाधानका लागि म राज्यसँग प्रश्न गर्नेछु र उत्तर खोज्नेछु।
नीतिगत रुपमा सरकारसँग हातेमालो गर्ने र अधिकारका लागि लड्ने हो। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन ल्याउन धेरै संघर्ष गर्नुपर्यो।
यसलाई कार्यन्वयनमा लैजान अझै चुनौती छ। अबको कार्यकालमा यो ऐनलाई कार्यन्वयन गर्ने मेरो मुख्य योजना छ। हेल्थ सिस्टमको जग भनेको भौतिक पूर्वाधार, उपकरण तथा स्वास्थ्य सामग्री र जनशक्ति हो। दुर्भाग्य, हामीले कोभिड जस्तो क्राइसिसमा धेरै पटक आवाज उठाउँदा पनि करार, दैनिक ज्यालादारीमा मात्रै राख्ने गर्छन्।
तीनै तहका सरकार भवन बनाउन, उपकरण किन्न आतुर हुने तर चिकित्सकको दरबन्दी स्थायी खुलाउन तयार नहुने गरेको देखिन्छ। यस पटक चिकित्सा ऐन बन्नुपर्छ र चिकित्सा सेवा आयोग बन्नुपर्छ। लोकसेवाको कोटा सिस्टमबाट हाम्रो समस्या समाधान हुँदैन।
चिकित्सक संघले नै पटकपटक आन्दोलन गरेर स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फका सचिव ल्याउन सफल भयौं। तर राजनीतिक नेतृत्वले कुनै बेलामा स्वास्थ्यको सचिव नै बनाएनन्। अहिले प्रशासनको पनि सचिव ल्याएर झनै समस्याग्रस्त बनाएका छन्। अब राज्यले स्वास्थ्यतर्फका सचिव पनि मुख्यसचिव हुने व्यवस्था गर्नुपर्छ । होइन भने स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै मात्र सचिव राखेर चलाउनुपर्छ भनेर पहल गर्नेछु।
संघको यस पटकको निर्वाचनमा धेरै पद त निर्विरोध नै भयो। निर्वाचनमा अन्य पक्षको अरुचि हो कि, ती पदमा उम्मेदवारी दिएकाहरुको लोकप्रियता?
पहिलो त हामी समूहमा चुनावमा गइराख्दा यो कार्यकालमा गरेका राम्रा कामका हिसाबले पनि साथीहरु त्यो पदमा प्रतिस्पर्धामा आउन नचाहनु भएको हुनसक्छ। अर्को, उम्मेदवार आफैं पनि अलिकति सबैले रुचाएको भएर पनि अर्को प्रतिस्पर्धी उम्मेदवार नभएको हुनसक्छ। यस्तै अघिल्लो निर्वाचनमा अर्को प्यानलबाट उठेका साथीहरु अहिलेको चुनावमा यही प्यानलबाट पटकपटक इच्छा देखाएको र यो समूहलाई विस्तार गरेर पनि होला।
नेपालमा भएका चिकित्सकको संख्या र यहाँहरुको संघमा भएको सदस्य संख्यालाई हेर्दा निकै कम देखिन्छ नि? संघमा किन कम चिकित्सक मात्र आवद्ध छन्?
नेपाल मेडिकल काउन्सिलमा डाक्टर भएर प्राक्टिस गर्न लाइसेन्स लिनै पर्छ। नेपाल चिकित्सक संघमा सदस्यता लिने भनेको ऐक्षिक विषय हो। नियामक निकायको रुपमा संघ छ भने त त्यहाँ सदस्य पनि धेरै हुन्छन्। होइन भने अन्य देशहरुको तुलनामा नेपालको चिकित्सक संघमा भएको सदस्य संख्या राम्रो हो। भारतमै पनि दर्ता भएका चिकित्सकमध्ये संघमा २५ प्रतिशत पनि छैनन्।
धेरैलाई चिकित्सक संघ राजनीतिक संस्था हो भन्ने पनि बुझाइ छ। तर यस्तो होइन। चिकित्सकको हितका लागि एकवद्ध भएर लाग्ने संस्था हो चिकित्सक संघ। नेपालमा करिब ३० हजार चिकित्सक छन् भने संघमा १२ हजार सदस्य छन्। हामीले संघको भवनमा विशेषज्ञ चिकित्सकहरुको सोसाइटीहरु पनि ल्याएका छौं। धेरै चिकित्सकलाई संघका सदस्य भएका, नभएका सबैलाई समेटेर कोभिडको समयमा तालिमहरु दिएका छौं। सबै चिकित्सकलाई लक्षित गरेर नै कार्यक्रमहरु ल्याएका छौं।
चिकित्सक संघले युवा चिकित्सकको आवाजलाई बुलन्द बनाउन सकेन, उनीहरुको समस्या समाधानमा चासो दिएन भन्ने गुनासो पनि छ नि?
यो गुनासोलाई म स्वीकार गर्दिनँ। युवा चिकित्सकको आवाजलाई उठाउन सहयोग गरिरहेका नै छौं। हामीले काम गर्दै नगरेको होइन, उहाँहरुलाई कम भएको जस्तो लागेको हुनसक्छ। युवा चिकित्सकलाई नै समेट्न जुनियर डाक्टर्स कमिटी छ। यसमा मेडिकल अफिसर र रेजिडेन्ट चिकित्सक हुनुहुन्छ। उहाँहरु आफैं खटिएर फरक किसिमले विभिन्न कार्यक्रम पनि गर्नुहुन्छ।
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाको विषयमा समस्या देखिएको छ। यसमा हामीले आयोगसँग कुराकानी पनि गरेका छौ। जहाँ समस्या छ, त्यहाँ भौतिक रुपमा पुगेरै पनि समाधानका लागि पहल गरेका छौं।
उहाँहरुको स्नातकोत्तर अध्ययनका लागि चाहिने एक वर्षको अनुभवको कुरालाई सम्बोधन गर्न पनि पहल गरिरहेका छौं। आयोगले नियमित परीक्षा चलाओस् भनेर पनि पहल गरिरहेका हुन्छौं। उच्च शिक्षामा अध्ययन सिट बढाउन पनि पहल गरेर अघि बढेका छौं। यो समस्या कहिल्यै सकिँदैन। त्यसैले हामी निरन्तर समस्या समाधानका लागि सम्बन्धित निकायमा आवाज उठाइरहनेछौं।
२२ वर्षअघि यो क्षेत्रमा मैले जति दुःख पाएँ, अहिलेको अवस्था परिवर्तन भएको छ। तर कसैलाई समस्या छ भने मलाई पर्सनल रुपमा पनि युवा चिकित्सकहरुले सम्पर्क गरेर आफ्नो समस्या सुनाउन सक्नुहुनेछ। म उहाँहरुको समस्या समाधानका लागि पहल गर्नेछु। मेरो अहिलेको मुख्य विषय नै युवाका अजेण्डासँग सम्बन्धित छ।
अन्त्यमा, आगामी निर्वाचनको विषयमा थप केही भन्न चाहनुहुन्छ?
म सबै चिकित्सकहरुलाई आश्वस्त पार्न चाहन्छु- समस्यामा परेका अग्रज तथा युवा चिकित्सकहरुलाई मेरो सहयोग रहनेछ। चुनाव त आउँछ, जान्छ। तर हाम्रो पेसागत दक्षता र सम्मान रहिरहनुपर्छ भनेर लागिरहेको छु। यो पेसाको हकहित सुनिश्चित गर्न भोलि पनि लाग्नेछु।