काठमाडौं - मिर्गौलासम्बन्धी हुने विभिन्न समस्यामध्ये मिर्गौला पत्थरी पनि एक हो। पानीको मात्रा कम हुँदा, गर्मीमा बस्ने, वंशाणुगत, शारीरिक सक्रियता कम भएका व्यक्तिहरुमा मिर्गौला पत्थरी हुन्छ। पत्थरीको आकार, ठाउँ र बिरामीको अवस्था अनुसार उपचारका विधिहरु फरक फरक हुन्छन्। तर बेलैमा समस्या निदान भए उपचार प्रक्रिया पनि सहज हुन्छ।
पत्थरी हुँदैमा के शल्यक्रिया नै गर्नुपर्छ? पत्थरी के कारणले हुन्छ? लगायत विषयमा हामीले खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीका सिनियर कन्सल्टेण्ट युरोलोजिस्ट डा सञ्जय खड्गीसँग कुराकानी गरेका छौँँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
मिर्गौला पत्थरी भनेको के हो? यो समस्या के कारणले हुन्छ?
– पिसाबमा हुने स–सानो कणहरु मिलेर ठूलो बन्नुलाई नै मिर्गौला पत्थरी भनिन्छ।
– मिर्गौला पत्थरी ८० प्रतिशत शरीरको मेटामोलिबजमका कारण हुन्छ।
– शरीरमा पानी कम हुँदा, गर्मीमा बस्ने, वंशाणुगत, शारीरिक सक्रियता कम भएका व्यक्तिहरुमा मिर्गौला पत्थरी हुन सक्छ।
– आन्द्रा सम्बन्धी रोग भएका व्यक्तिमा पनि मिर्गौला पत्थरीको समस्या हुन सक्छ।
मिर्गौला पत्थरीको लक्षणहरु के–के हुन्छन्?
– पत्थरी कुन भागमा छ भन्ने आधारमा लक्षणहरु देखिन्छन्।
– पत्थरी मिर्गौला भित्र छ तर कुनै अप्ठ्यारो गरेको छैन भने लक्षण विहीन पनि हुन सक्छ।
– मिर्गौला ठूलो भएर ज्वरो आउने लक्षण देखिन्छन्।
– पत्थरी मिर्गौला नलीमा बनेको छ भने दुखाई अत्यधिक हुन सक्छ।
– पिसाबमा रगत आउने, पिसाब छिन छिनमा लाग्ने हुन सक्छ।
– पत्थरी कुन भागमा छ र आकार कति ठूलो छ भन्ने आधारमा पनि लक्षणहरु फरक हुन्छन्।
कति साइजको पत्थरीलाई औषधिले निको पार्न सकिन्छ र कुन अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
– ५÷६ एमएम आकारको पत्थरी छ भने ७०/८० प्रतिशत आफैँ जान सक्छ।
– पहिले पत्थरीको निदान गर्नुपर्छ। पत्थरी कहाँ छ र कति ठूलो आकारको छ भन्ने हेर्नुपर्छ।
– एक सेन्टिमिटर भन्दा ठूलो भयो भने शल्यक्रिया गर्नुपर्छ।
एक पटक पत्थरीको उपचार गरिसकेका व्यक्तिलाई पुनः यो समस्या हुन्छ/हुँदैन?
– एक पटक गरिएको शल्यक्रियाले अर्को पटकलाई नहुने भन्ने हुँदैन।
– एक पटक पत्थरीको शल्यक्रिया गरिसकेका व्यक्तिलाई पाँचमा पुनः पत्थरी हुने ५० प्रतिशत संभावना हुन्छ।
– तर स्वस्थकर जीवनशैली अपनाएका व्यक्तिलाई नहुने संभावना पनि हुन्छ।
मिर्गौला पत्थरीको समस्या कसरी निदान गर्न सकिन्छ?
– मिर्गौला र नलीको पत्थरी एउटा सामान्य एक्सरे गरेर पनि निदान गर्न सकिन्छ।
– एक्सरेमा शंकास्पद छ भने अल्ट्रासाउण्ड गरेर पत्थरीको आकार थाहा पाउन सकिन्छ।
– विस्तृत रुपमा थाहा पाउन र सर्जिकल योजना गर्न सिटी स्क्यान गर्नुपर्छ।
– सिटी स्क्यानले शत प्रतिशत पत्थरीको निदान गर्न सक्छ।
मिर्गौला पत्थरीको उपचार सुविधा के के छन्?
– पत्थरी मिर्गौलादेखि नली र नलीदेखि पिसाब थैली जहाँ पनि हुन सक्छ।
– पत्थरी नरम छ, १०/१५ एमएमसम्मको पत्थरी छ भने लिट्रोट्रिस्पी अर्थात् बाहिरबाट रे मार्फत उपचार गर्न सकिन्छ।
– पत्थरी ५/६ एमएम मिर्गौलामा छ तर बिरामीलाई कुनै समस्या भएको छैन भने पर्ख र हेरको अवस्थामा राख्नुपर्छ।
– पत्थरी नलीमा छ र बिरामीलाई पीडा भइरहेको छ भने दूरबीनको माध्यमबाट शल्यक्रिया गर्न सकिन्छ।
– १०/१५ एमएमको पत्थरी मिर्गौलामा छ भने साइडमा सानो प्वाल बनाएर दूरबीनको माध्यमबाट शल्यक्रिया गरेर बाहिर निकालिन्छ।
– १०/१५ एमएमको पत्थरी भएकाले बिना प्वाल नपारी आरआईआरएस प्रविधिबाट पनि उपचार गर्न सकिन्छ।
– बिरामीको अवस्था, पत्थरीको आकार र भएको ठाउँ अनुसार शल्यक्रिया र उपचार गर्न सकिन्छ।
– अहिले नयाँ प्रविधिका कारण पहिले जस्तो धेरै दिन अस्पताल बस्नुपर्ने, पीडा हुने गरी शल्यक्रिया गर्नुपर्दैन।
मिर्गौला पत्थरी हुँदा गहतको झोल अनि बियर खाँदा पखालिन्छ भनिन्छ। यो कत्तिको सत्य हो?
– गहत र बियर खाँदा यसले धेरै पिसाब लाग्ने हुने भएकाले यसो भनिएको हो।
– तर शरीरलाई आवश्यक पर्ने पानीको मात्रा खानु भयो भने बियर खानु पर्दैन।
– शारीरिक व्यायाम गरे, आवश्यक मात्रामा पानी खाए पत्थरी बन्नै पाउँदैन।
मिर्गौलालाई स्वस्थ राख्न कति लिटर पानी पिउनुपर्छ?
– पानीको मात्रा व्यक्तिको शारीरिक अवस्था अनुसार फरक पर्छ।
– सामान्य भाषामा बुझाउँदा एउटा व्यक्तिले आफुले गर्ने पिसाबको मात्रालाई नापेर थाहा पाउन सकिन्छ।
– २४ घण्टामा कुनै व्यक्तिले दुई हजार लिटर पिसाब फेर्छ भने त्यसमा ७ सय जोडेर हिसाब गर्न सकिन्छ।
– सामान्य रुपमा भन्दा एउटा व्यक्तिले दिनमा कम्तीमा दुई लिटर पानी भयो भने पुग्छ।
यस खड्गी इन्स्टिच्युटले गरिब तथा असाह्य बिरामीका लागि कस्तो सुविधा उपलब्ध गराउँछ?
– गरीब तथा असाह्य गरिबलाई प्राथमिकतामा राख्दै हामीले विभिन्न शिविर सञ्चालन गर्छौ।
– आगामी पुष १४ देखि १६ गतेसम्म पुनः हामीले निःशुल्क शिविर सञ्चालन गर्दैछौ।
– हरेक दिन चार जना आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सरकारी शुल्कमा पनि शल्यक्रिया गर्छौ।
भिडियो – मनिष अर्याल