काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिध र प्रदेश सभा निर्वाचनमा देशका विभिन्न स्थानमा चिकित्सकहरु समेत उम्मेदवार बनेका थिए। चुनावी मैदानमा होमिएका चिकित्सकहरु मध्ये केहीले राजनीतिक दलबाट नै टिकट पाएका थिए भने केही स्वतन्त्र उम्मेद्धार बनेका थिए।
जसले जित हासिल गरे
निर्वाचनपछिको मतगणना अनुसार चुनावमा होमिएका धेरै चिकित्सकहरु पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की विजयी भएकी छिन्। ललितपुर क्षेत्र नम्बर ३ बाट डा कार्कीले जित हासिल गरेकी हुन्।
शल्यचिकित्सक डा कार्कीले ३१ हजार १३६ मत ल्याएर जित हासिल गरेकी हुन्। उनले नेकपा एमालेका अमृत खड्का र मन्त्री पम्फा भुसाल सहितका अन्य उम्मेदवारहरुलाई पराजित गरेकी हुन्। एमालेका खड्काले १२ हजार ९६३ र भुसालले ८ हजार ७६९ मत ल्याएकी छिन्।
डा शेखर कोइराला र सशांक कोइरालाले पनि जित हासिल गरेका छन्। यद्यपि उनीहरुले चिकित्सकिय अभ्यास छाडेर राजनीतिमा होमिएको लामो समय भएका कारण उनीहरुलाई चिकित्सकका रुपमा भन्दा पनि राजनीतिक दलका नेताका रुपमा नै चिनिन्छ। डा शेखरले मोरङ क्षेत्र नम्बर ६ बाट र डा सशांकले नवलपरासी पूर्व-१ बाट निर्वाचित भएका हुन्।
नोबल मेडिकल कलेजका सञ्चालक डा सुनिल शर्माले पनि यस निर्वचनमा जित हासिल गरेका छन्। डा शर्माले पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ४५०९७ मत ल्याई विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भानुभक्त ढकाललाई २११०४ मतान्तरले पराजित गरेका हुन्। पराजित भानुभक्त ढकालले २३९९३ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले १०२८९ मत पाएकी छन्।
जो पराजित भए
सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार डा भोजराज अधिकारी भने पराजित भएका छन्। चितवन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिएका डा अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पराजित गरेका हुन्।
अन्तिम मत परिणाम अनुसार पाण्डेले ३४ हजार ६६२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी डा अधिकारीको २४ हजार ६७१ मत आयो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले १४ हजार ७८९ मत ल्याएकी छिन्। बराल नर्स हुन्।
काठमाडौं क्षेत्र नं ५ मा राप्रपाको तर्फबाट उम्मेदवार बनेका डाक्टर रामप्रसाद उप्रेती पनि पराजित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा होमिएका डा उप्रेतीले ३ हजार १६२ मत ल्याएका छन्। त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका डा उप्रेती निर्वाचनमा होमिए पनि जित भने हासिल गर्न असफल भए। उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेलले जित हासिल गरेका छन्। पौडेलले १५ हजार २६९ मत ल्याएर जित हासिल गरेका हुन्। पौडेलका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इश्वर पोखरेल हुन्। पोखरेलको १० हजार १९० मत ल्याएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका डा अर्चन शम्शेर राणा पराजित भएका छन्। उनले एक हजार २१४ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका महामान्त्री गगनकुमार थापा निर्वाचित भएका छन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले २१ हजार ३०२ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्।
डा शाक्य पराजित तर दिए 'सरप्राइज'
निर्वाचन मत परिणाम सार्वजनिक भइरहँदा ललितपुर क्षेत्र नम्बर २ भने एकाएक चर्चामा आयो। निर्वाचन अघिसम्म नेकपा एमाले र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवारको चर्चा हुने गरेको उक्त क्षेत्रमा डा शाक्यले ल्याएको मत देखेपछि धेरै चकित परेका थिए। निर्वाचनमा डा शाक्य पराजित भए पनि उनले सबैलाई सरप्राइज दिन सफल भए।
दन्त रोग विशेषज्ञ डा शाक्य लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार हुन्। निर्वाचन मतपरिणाम अनुसार डा शाक्य दोस्रो भएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले जित हासिल गरेका हुन्। महर्जनले १५ हजार २५ मत ल्याउँदा डा शाक्यले ८ हजार ८८६ मत ल्याएका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत ल्याएर चौथो स्थान ल्याए। तेस्रोमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्ध रत्न महर्जन भए।
हाम्रो नेपाली पार्टीबाट सप्तरी ३ बाट चुनावी मैदानमा होमिएका डा नविन मण्डल पनि पराजित भएका छन्। मण्डलले २८५ मत मात्र ल्याएका छन्। उक्त क्षेत्रमा २६ हजार १६६ मत ल्याउँदै कांग्रेसका दिनेश कुमार यादव निर्वाचित भएका छन्।
बाबु विवादित हुँदा छोरा पराजित!
रौतहट २ मा नेपाली कांग्रेसबाट डा फिर्दोस आलम पनि पराजित भए। उनी ईट्टाभट्टमा जिउँदै मानिस जलाएको आरोपमा जेल परेका मोहमद आफताव आलमका छोरा हुन्। बुबाको विवादित आपराधिक छविका कारण डा आलमले उम्मेदवारको टिकट पाउँदा नै विवाद भएको थियो। डा आलमलाई स्वतन्त्र उम्मेदवार किरणकुमार साहले पराजित गरेका हुन्।
साहको ३२ हजार ८४२ मत आएको छ भने कांग्रेसबाट उम्मेदवार बनेका डा आलमको २८ हजार २४८ मत आएको छ। यस्तै जसपका शैलेन्द्र साहको २ हजार १२२ मत आएको छ।
यसैगरी, रौतहट-१ मा राष्ट्रिय जनमत पार्टीबाट राजेन्द्रप्रसाद साह पराजित भएका छन्। साहले १ हजार ४११ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन्। नेपालले ३३ हजार ५२२ मत ल्याउँदै जित हासिल गरेका हुन्।
पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर यादव पनि पराजित
यस निर्वाचनमा चिकित्सकिय पेशा छाडेर पाँच वर्षअघि मात्र संसदमा आएका डा सुरेन्द्र यादव पनि पराजित भएका छन्। जसपाबाट महोत्तरी क्षेत्र नम्बर ४ मा चुनावी मैदानमा उत्रिएका डा यादवलाई नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार रायले पराजित गरेका हुन्। कांग्रेसका राय २५ हजार ४२० मतका साथ निर्वाचित भएका हुन्। स्वास्थ्य राज्यमन्त्री समेत भइसकेका डा सुरेन्द्रकुमार यादवलाई रायले ४ हजार १२४ मतले पराजित गरेका छन्। यादवले २१ हजार २९६ मत ल्याएका थिए। तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार मनोजकुमार साहले १० हजार ३९ मत प्राप्त गरे।
यसैगरी, बारा १ बाट राकेश न्यौपाने, सुनसरी २ बाट डा फरेन्द्र शाह र सप्तरी १ बाट डा रोहित पोखरेल पनि पराजित भएका छन्।
बारा १ मा राकेश न्यौपाने हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा होमिएका थिए। डा न्यौपानेले ७३२ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले ३९ हजार १९५ मत ल्याउँदै जित हासिल गरेका छन्।
सुनसरी २ मा स्वतन्त्र उम्मेदवार बनेका डा फरेन्द्र शाह पनि पराजित भएका छन्। डा शाहले २५१ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेका भीमप्रसाद आचार्य ३२ हजार २४ मत ल्याउँदै विजयी भएका छन्।
सप्तरी १ का डा रोहित पोखरल १ हजार ५३६ मत ल्याउँदै पराजित भए। उनको क्षेत्रमा जसपाका नवलकिशोर साह सुडी २३ हजार ६०४ मत ल्याउँदै निर्वाचित भएका छन्।
प्रदेश सभामा उठ्नेहरु
प्रतिनिधि सभामा मात्र नभई प्रदेश सभामा पनि चिकित्सकहरु चुनावी मैदानमा होमिएका छन्। स्याङ्जा-२ (२) मा नेकपा एमालेबाट डा बुद्धिमान श्रेष्ठ चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा विवादका कारण अहिलेसम्म मतगणना हुन सकेको छैन। एमालेले उक्त क्षेत्रमा पुन मतदानको माग गरेको छ।
त्यस्तै, पर्सा ३ (२) मा जसपाबाट उम्मेदवार बनेकी डा मधु गुप्ता पराजित भएकी छिन्। उनी ७ हजार ५०७ मत ल्याउँदै दोस्रो स्थानमा छिन्। उनलाई नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्रीले पराजित गरेका हुन्। क्षेत्रीले १० हजार १९५ मत ल्याउँदै जित हासिल गरेका छन्।
बाँके २ (२) बाट स्वतन्त्र उम्मेदवार डा बिनोद कर्णले १ हजार ३१३ मत ल्याएर पराजित भएका छन्। उक्त क्षेत्रमा जसपाका आदेशकुमार अग्रवालले ८ हजार २४६ मत ल्याएर जित हासिल गरेका छन्।
सिराहा ३ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका डा प्रविन यादवले ५९४ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका प्रमोद कुमार यादवले ९ हजार ९७६ मत ल्याएर जित हासिल गरेका छन्।