सामान्यतया मधुमेहको समस्या ३०/४० वर्ष पार गरिसकेका व्यक्तिहरुलाई देखिने गर्दछ। तर अव्यवस्थित जीवनशैलीका कारण मधुमेहको समस्या युवासँगै बालबालिकामा पनि देखिन थालेको छ।
आरुस लाइफस्टाइल अस्पतालकी मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा सुकान्ति शाह जंक, फास्ट तथा तयारी प्रशोधित खाना र अव्यवस्थित जीवनशैलीबाट बालबालिका पनि प्रभावित भएको बताउँछिन्। यसकै कारण बालबालिकामा मधुमेहको समस्या देखिने गरेको उनले बताइन्।
बालबालिकामा देखिने मधुमेह कस्तो हो ? कसरी रोक्न सकिन्छ लगायत विषयमा हामीले डा शाहसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
बच्चाहरुमा देखिने मधुमेह कस्तो समस्या हो ?
– सामान्यतया मधुमेह भनेको रगतमा चिनीको मात्रा बढ्नु हो।
– मधुमेहको समस्या सामान्यता बुढापाका, युवाहरुलाई देखिने हो।
– तर मधुमेह नवजात शिशुदेखि बालबालिकामा पनि देखिने गरेको छ।
– नवजात शिशुमा देखिने मधुमेह अत्यन्त कम (रेयर) मात्रामा हुन्छ। यो वंशाणुगत कारण हुन्छ।
– नवजात अवस्थामा देखिने मधुमेह ५/६ महिनामा पनि ठिक हुन्छ। तर कुनैमा ठिक नहुन पनि सक्छ।
– मधुमेह टाइप वान र टाइप टु गरी दुई प्रकारको हुन्छ।
– टाइप वान मधुमेहमा शरीरमा इन्सुलिन बन्दैन। र, यो धेरैजसो २० वर्ष मुनिकालाई देखिन्छ।
– टाइप वान मधुमेह तिव्र गतिमा बढ्छ।
– टाइप वान मधुमेह भएको बच्चामा दुईदेखि तीन हप्तामा लक्षणहरु देखिन्छ।
– बच्चा दुब्लाउने, मासुहरु घट्दै जाने, राम्रोसँग खाना नखाने, पानी तिर्खा धेरै लाग्ने, पिसाब पनि धेरै लाग्ने, कहिले काँही बेहोस हुने लक्षण देखिन्छ।
– टाइप वान मधुमेहको समयमै उपचार नभए जीवनभर नै उपचार गर्नुपर्ने हुन्छ।
– यसको उपचार भनेको इन्जेक्सनको माध्यमबाट इन्सुलिन लिनु नै हो।
– चिनी, कार्बोहाइड्रेड युक्त खाना खानु हुँदैन। पोषणविद्सँग सल्लाह गर्नुपर्छ।
बच्चाहरुमा मधुमेह देखिनुको कारण के हो?
– टाइप वान मधुमेह अटोइम्युन समस्या हो। यो भनेको शरीरमा रहेको इम्युन सिस्टमले राम्रोसँग काम गर्दैन।
– यो मधुमेह खानासँग सम्बन्धित हुँदैन।
– टाइप टु मधुेमह विशेषगरी अव्यवस्थित जीवनशैलीले निम्त्याउँछ।
– मोटो बच्चा, परिवारमा कसैलाई मधुमेह भएपनि यसको जोखिम रहन्छ।
– टाइप टु मधुमेहलाई हामीले नियन्त्रण गर्न सक्छौ।
– टाइप टु मधुमेह विशेषगरी ३० वर्ष माथिकालाई हुने हो। तर बद्लिदो जीवनशैलीका कारण यो बच्चाहरुमा पनि देखिन थालेको छ।
– जंक तथा फास्ट फूड, तयारी खानाले गर्दा पनि बच्चाहरुमा मधुमेहको समस्या देखिन थालेको हो।
– शरीरमा चिनीको मात्रा नियन्त्रित नभई आँखा, मुटु, मिर्गौला लगायत अन्य अंगहरुमा असर गर्छ।
बालबालिकालाई मधुमेहको समस्याबाट बचाउन अभिभावकले के गर्नुपर्छ?
– टाइप वान मधुमेहलाई हामीले नियन्त्रण गर्न सक्दैनौ। तर अभिभावकले लक्षण भने नियाल्नुपर्छ।
– टाइप टु मधुमेहमा अभिभावकले खानपान र जीवनशैलीमा परिवर्तन गरेमात्र पनि नियन्त्रण गर्न सकिन्छ।
– घाटीमा कालो लेदो जस्तो बस्ने, मुुसाहरु आउने, काखीमा कालो हुने, घाटीमा, आँखा माथि सेतो–सेतो आउने लक्षणलाई बेवास्ता गर्नु भएन।
– मधुमेह देखिएपनि उपचार सुरु गर्नुपर्छ। आत्तिनु हुँदैन।
मधुमेहको परीक्षण कति समयको अन्तरालमा गराउनु पर्छ?
– बच्चामा कुनै लक्षण र मधुमेहको समस्या छैन भने तीन वर्षको अन्तरालमा परीक्षण गराउनुपर्छ।
– प्रि मधुमेहको समस्या छ भने ६ महिनामा परीक्षण गराउनुपर्छ।
– मधुमेहको समस्या देखियो भने बिरामीको अवस्था अनुसार परीक्षण गराउनुपर्छ।
भिडियो – मनिष अर्याल