त्रिवि शिक्षण अस्पतालमा कलेजको प्रत्यारोपण सेवा सञ्चालन भएको ४ वर्ष भयो। हालसम्म ८ जनाको कलेजो प्रत्यारोपण भइसकेको अस्पतालका ग्यास्ट्रो तथा कलेजो सर्जन डा रमेशसिंह भण्डारीले बताएका छन्। कोभिड महामारीका कारण प्रभावित भएको कलेजको प्रत्यारोपण सेवालाई नियमित गर्न लागिएको डा भण्डारीले बताएका छन्। डा भण्डारीसँग कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेको छ? त्रिवि शिक्षण अस्पतालमा यो सेवा कसरी सुरु गरियो? अब कलेजो प्रत्यारोपण सेवालाई कसरी नियमित गर्न सकिन्छ? कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउछ? कलेजको प्रत्यारोपण गरेपछि कस्ता कुरामा ध्यान दिने लगायतका विषयमा कुराकानी गरेका छौं। प्रस्तुत छ डा भण्डारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेको छ?
हामीले त्रिवि शिक्षण अस्पतालमा कलेजको प्रत्यारोपण सेवा सुरु गरेको झण्डै ४ वर्ष भयो। जुन सोचले हामीले योजना बनाएका थियौं, हाम्रो सोच अनुसार भएको छैन। ४ वर्षको समयमा हामीले जम्मा ८ वटा केस मात्र प्रत्यारोपण गर्यौं। सुरु गरेको पहिलो वर्ष ४ वटा केस प्रत्यारोपण गरेका थियौं। तर कोभिड महामारीका कारण एकवर्ष नै प्रत्यारोपण सेवा रोकियो। कलेजको प्रत्यारोपणका लागि धेरै जनशक्ति चाहिने, संवेदनशील भएकाले पनि सेवा बन्द गर्नुपर्यो। एकवर्ष पछि फेरि सुरु गरेका थियौं। त्यतिबेला २ वटा केस प्रत्यारोपण गरेपछि फेरि दोस्रो लहरको कोभिड महामारी फैलियो अनि प्रत्यारोपण सेवा पनि फेरि एकवर्ष बन्द भयो। त्यसपछि बल्ल सेवा सुरु गरेपछि २ वटा केस मात्र प्रत्यारोपण गर्न सकेका छौं। अहिले भने हामीले आएका बिरामीको प्रत्यारोपण गर्न प्रयास गरिरहेका छौं। यो बीचमा २ जना बिरामी प्रत्यारोपणको तयारी हुदाहुँदै बित्नुभयो। कलेजको प्रत्यारोपणका लागि तयारी गर्न पनि समय लाग्छ। एउटा क्यान्सिल भएपछि अर्को तयारी गर्न एक डेढ महिना लाग्छ। अहिले पनि कलेजको प्रत्यारोपणका लागि बिरामीहरु हुनुहुन्छ। हामीले उहाँहरुको स्वास्थ्यजाँच लगायतका तयारीहरु गरिरहेका छौं।
त्रिवि शिक्षण अस्पतालमा यो सेवा कसरी सुरु गरियो? अलिकति यसको पृष्ठभूमि बताउनुस् न !
त्रिवि शिक्षण अस्पतालमा सर्जनको रुपमा काम सुरु गरेपछि कलेजो रोगको उपचारमा बढी रुचि थियो। आजभन्दा १२ वर्ष अगाडि अस्टे«लियामा कलेजो सर्जरी तालिमका लागि अप्लाई गरेको थिएँ। त्यतिबेला उहाँहरुले मलाई कलेजको सर्जरी तालिम किन दिने भनेर सोधिएको थियो। त्यतिबेला मैले यो तालिम लिएको १० वर्ष भित्रमा नेपालमा कलेजको प्रत्यारोपण सेवा सुरु गर्न चाहन्छु भनेर रिप्लाई गरेको थिएँ। उहाँहरु मेरो कुरामा इम्प्रेस हुनुभयो। त्यसपछि मैले कलेजो सर्जरीमा एक वर्षको तालिम लिने अवसर पाएँ। त्यही तालिमको क्रममा त्यहाँको कलेजको प्रत्यारोपण हुने अस्पतालमा एक महिना तालिम लिने अवसर पाएको थिएँ। त्यो समयमा नेपाल आएँ र पछि फेरि नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिन्छ भनेर कलेजो प्रत्यारोपण विषयकै लागि एकवर्षको तालिम लिन गएँ। एकवर्षको तालिम लिएर फर्किएँ। तर म मात्रै भएर त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्न सम्भव थिएन। त्यसैले मैले आफ्ना साथीहरुलाई पनि तालिमहरु लिन प्रोत्साहन गरेँ। केही साथीहरुलाई आफैंले मिलाएर कलेजको प्रत्यारोपणको तालिम लिन पठाएँ। सुरुको २,३ वर्ष जनशक्ति व्यवस्थापनमै गयो। अर्को कलेजो प्रत्यारोपण सेवा सुरु गर्न आर्थिक स्रोत र साधन आवश्यक थियो। पहिलो चूनौती मलाई अस्पताल प्रशासनलाई बुझाउन नै थियो। मैले अस्पताल प्रशासनलाई भन्दा यो सम्भव होला र भन्ने आशंकामा हुनुहुन्थ्यो। स्वास्थ्य मन्त्रालयमा पनि धाएँ, तर कसैले चासो दिएनन्। तर हामी यता भने जनशक्ति बलियो बनाउन लागिरहेका थियौं। सोही क्रममा सन् २०१६ मा स्वास्थ्य मन्त्रीको रुपमा गगन थापा आउनुभयो। उहाँसँग मेरो पुरानो चिनजान थियो। २०÷२५ वर्ष अगाडि सामान्य चिनजान थियो। त्यसैले मैले उहाँलाई फोन गरेर त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने चाहना छ, त्यसका लागि ‘आइ निड योर सपोर्ट’ भनेँ। उहाँले भोलि बिहानै आउनुस् भनेर बोलाउनुभयो। मैले फोन गरेको भोलिपल्ट नै भेटेर सबै कुराहरु सुनाएँ। कलेजो प्रत्यारोपणको तयारीका लागि भइरहेको योजना सुनाएँ। तपाईंको सपोर्ट भयो भने २,३ वर्षमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्न सक्छौं भनेर सुनाए। त्यसपछि हामीले त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्नकै लागि भनेर ११ करोड बजेट पायौं। त्यसपछि कलेजो प्रत्यारोपणका लागि सर्जरीसँग सम्बन्धित सामानहरु, क्रिटिकल केयरका लागि आइसीयु, एनेस्थेसियाका सामानहरु एकडेढ वर्षमा सकियो। जनशक्तिको तयारी पनि भइसकेको थियो। त्यसपछि हामीले लाइसेन्सको लागि अप्लाई गर्यौं। लाइसेन्स पाएपछि सन् २०१९ को मे मा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजको प्रत्यारोपण सुरु गर्यौं।
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाकै सपोर्टले सम्भव भएको हो?
मैले जुन किसिमले सपोर्ट खोजिरहेको थिएँ, तर पाइरहेको थिइन्। उहाँले मेरो कुरा सुनिदिनुभयो। हामीले गर्न सक्छौं भनेर विस्वास गर्नुभयो । उहाँले गर्न सक्ने सहयोग गर्नुभयो। जसले गर्दा हाम्रो काम तीव्र गतिमा भयो। मैले उहाँलाई २ वर्ष भित्रमा सेवा सुरु गर्छु भनेको थिएँ। बजेट पाएको साढे २ वर्षमा सेवा सुरु गर्यौं।
अहिलेसम्म ८ वटा केस प्रत्यारोपण गरियो भन्नुभयो। खासमा सेवा सुरु गर्दा कस्तो योजना थियो? योजना अनुसार नै सेवा अगाडि बढिरहेको छ?
सुरुको पहिलो वर्ष ७, ८ वटा केस प्रत्यारोपण गर्न सक्छौं भन्ने थियो। ६ महिनामा ४ वटा केस प्रत्यारोपण गरेका पनि थियौं। तर कोभिडले गर्दा रोकियो। अहिले पनि नियमित गर्ने भनेका थियौं तर सोचेको अनुसार भने हुन सकिरहेको छैन। हामीले एक महिनामा एकजनाको प्रत्यारोपण गर्ने भनेका थियौं। एक महिनामा एकजनाको गर्न सक्छौं भन्ने उद्देश्य हो। तर विविध कारणले गर्दा त्यो भइरहेको छैन। महिनामा एउटा केस प्रत्यारोपण गर्ने योजना नै हो।
अब कलेजो प्रत्यारोपण सेवालाई कसरी नियमित गर्न सकिन्छ? यसमा राज्यको भूमिका कस्तो हुनुपर्छ? भौतिक पूर्वाधार र प्रविधि कस्तो र कति आवश्यक पर्छ?
अहिलेसम्म ८ वटा केस प्रत्यारोपण गरिसकेका छौं। अहिलेसम्म भारतका साथीहरुको सपोर्टमा गरेका छौं। अझै २,४ वटा केसमा भारतीय साथीहरुको सपोर्ट लिएर नै गर्ने भनेर उहाँहरुलाई सपोर्ट गर्न भनेका छौं। अहिले महिनामा दुईजना सम्म व्यक्तिको कलेजो प्रत्यारोपण गर्नसक्ने अवस्थाको जनशक्ति र प्रविधि हामीसँग छ। त्यसैले वर्षम २० वटासम्म प्रत्यारोपण सेवा दिन सकिन्छ। तर दीर्घकालिन रुपमा भने अहिलेको जनशक्ति र भौतिक पूर्वाधारले पुग्दैन। अहिले कलेजको प्रत्यारोपणका लागि आउने धेरैजस्तो बिरामी पैसाकै कारण प्रत्यारोपण नगर्नुभएको अवस्था छ। सरकारले मिर्गौला प्रत्यारोपणमा जस्तै कलेजको प्रत्यारोपणमा पनि केही सपोर्ट गर्ने हो भने कलेजको प्रत्यारोपण गराउने बिरामीको संख्या बढ्छ। अहिले नै जनशक्ति र भौतिक पूर्वाधार भन्दा पनि आर्थिक सपोर्ट र बिरामीको कलेजो प्रत्यारोपणका लागि मष्तिष्क मृत्यु सम्बन्धी कानुन सहज भयो भने ब्रेन डेथ भएकाहरुको कलेजो प्रयोग गर्न सकियो भने धेरै बिरामीको सर्जरी गर्न सकिन्छ।
नेपालमा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामी कति होलान्?
हामीसँग एकिन तथ्यांक छैन। सायद सरकारसँग पनि यस्तो तथ्यांक छैन। त्रिवि शिक्षण अस्पतालमा मात्रै दैनिक २÷३ जना बिरामी आउँछन्। वीर लगायत अन्य ठूला अस्पतालहरुमा पनि कलेजोका बिरामीहरु पुग्छन्। सबै हेर्दा वर्षमा एकसय देखि २०० बिरामी कलेजो प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा भेटिन्छन् होला। कतिपय बिरामीहरु भारत लगायत अन्य देशमा गएर प्रत्यारोपण गराउँछन्। त्यसबाहेक आर्थिक स्रोत कम हुनेहरु नेपालमै उपचारको प्रयास गर्दागर्दै मृत्यु समेत हुने गर्छ। हामीले नेपालमै कलेजो प्रत्यारोपण गराउन चाहनेको कलेजो लिने र दिनेको स्वास्थ्य परीक्षणहरु गराएर सम्भव भएकाहरुको प्रत्यारोपणको प्रयास गरिरहेका छौं।
कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउँछ?
धेरै जस्तो कलेजो प्रत्यारोपण गर्न आउने वयस्क व्यक्तिमा सिरोसिसको समस्या हुन्छ। सिरोसिस हुनु भनेको कलेजोले काम गर्न कम गर्नु हो। सिरोसिसको अवस्थामा पुग्ने धेरै कारण हुन्छन्। बिरामीहरुमा देखिएका कारणहरुमा लामो समय मदिरा सेवन गर्ने, हेपाटाइटिस बि, सिको संक्रमण, कलेजोमा बोसोपन लामो समयसम्म रहने, जन्मजात समस्या, कलेजोमा हुने क्यान्सरका कारण पनि सिरोसिस हुन्छ। कुनै बिरामीमा यसको कारण नै पत्ता लाग्दैन। कहिलेकाँही एक्युट लिभर फेलियर अर्थात अचानक हुने स्वास्थ्य समस्या वा बीसको प्रयोगले पनि सिरोसिस हुन्छ।
सिरोसिसको समस्या बच्चाहरुमा हुने कारण वयस्क व्यक्तिमा हुने कारण फरक हुन्छ। हामीले प्रत्यारोपण गरेको एउटा नानीमा जन्मजात नै कलेजको नलि नै बनेको थिएन। जसले गर्दा कलेजो बिग्रिएको थियो।
कलेजो प्रत्यारोपण गरेका व्यक्ति र दान गर्ने व्यक्तिले पछिसम्म कस्तो कुरामा ध्यान दिनुपर्छ?
कलेजो दिने व्यक्तिको सबै प्रकारका स्वास्थ्य परीक्षण गरेर स्वस्थ भएको पुष्टि गरेर कलेजो दिन मिल्ने अवस्थाको बिरामीको मात्रै कलेजो लिन्छौं। कलेजको प्रत्यारोपण गरिसकेपछि कलेजको दिने व्यक्ति १० दिनसम्ममा अस्पतालबाट डिस्चार्ज हुन्छन्। ६ हप्तासम्म भारी काम नगर्न सुझाव दिन्छौं। ६ हप्तामा नियमित स्वास्थ्य जाँचका लागि बोलाउछौं। त्यसपछि कलेजको दिने व्यक्ति सामान्य जीवनमा फर्कन सक्छन्।
कलेजको प्रत्यारोपण गरी लिने व्यक्ति भने अलि फरक हुन्छ। कलेजो प्रत्यारोपण गरेपछि उहाँलाई आइसीयुमा राख्छौं। उहाँहरुको अवस्था अलि क्रिटिकल हुनसक्छ, सर्जिकल कम्प्लिकेसन हुनसक्छ। त्यसैले ८ देखि १० दिन आइसीयुमा राख्छौं। स्टेवल भएपछि वार्डमा राख्छौं। वार्डमा आफैंले औषधि खानसक्ने, सामान्य हिँडडुल गर्न सक्ने अवस्था भएपछि मात्र डिस्चार्ज गर्छौं। उहाँहरुले केही समयपछि समान्य रुपमा आफ्नो कामहरु गर्न सक्नुहुन्छ। तर डिस्चार्ज भएपनि आफ्नो स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्छ। एन्टिबायोटिक तथा अन्य औषधिहरु खानुपर्ने भएकाले शरीर कमजोर बनाएको हुन्छ। जसले गर्दा उहाँहरुमा सामान्य मान्छेमा भन्दा बढी संक्रमणको जोखिम हुन्छ । त्यसैले कुनै रोगको संक्रमण भएको व्यक्तिको नजिक नजाने, भिडभाडमा नजाने भन्छौं। औषधिहरु नियमित खान सुझाव दिन्छौं। हामीले फलोअपमा बोलाएका हुन्छौं। ६ महिना १ वर्ष निगरानीमा राखेपछि विस्तारै उहाँहरुले खाने औषधि कम हुदै जान्छ। उहाँहरु आफ्नो जीवन सामान्य तरिकाले विताउन सक्नुहुन्छ।
अन्त्यमा कलेजोलाई स्वास्थ्य राख्न के कस्ता कुरामा ध्यान दिने? के सुझाव दिन चाहनुहुन्छ?
यो प्रश्न धेरैले गर्नुहुन्छ। म प्रिभेन्टिभ भन्दापनि क्युरेटिभ पार्टमा काम गर्ने परें। हामी चाँही रोग लागिसकेपछि जतिसक्दो छिटो थाहा पाएर त्यसको उपचार गरौं भन्छौं। लामो समय मदिरा सेवनले कलेजो विग्रिन्छ भन्ने थाहा पाएपछि मदिरा खानु भएन। मधुमेह, उच्च रक्तचाप, मोटोपनाका कारण पनि कलेजोमा असर पर्ने भएका यी समस्याहरुको समयमै उपचार गर्नुपर्छ। नियमित व्यायाम गर्ने, स्वस्थकर खानेकुरा खाने गर्दा कलेजोलाई पनि फाइदा गर्छ। यसले प्रिभेन्सनमा सहयोग पुग्छ। कुनैपनि रोग आफूलाई लागेको छ भने समयमै उपचार गराउदा कलेजको कै समस्यामा पनि प्रत्यारोपण नै गर्नुपर्ने अवस्थासम्म पुग्दैन। त्यसैले समयमै स्वास्थ्य परीक्षण गरौं।