काठमाडौं– धादिङको नीलकण्ठ माध्यमिक विद्यालयमा हरेक दिन कुनै न कुनै विद्यार्थीलाई स्वास्थ्य समस्या देखिन्थ्यो। विद्यालयका शिक्षक तथा विद्यार्थीहरु बिरामी बिद्यार्थीलाई स्टेचरमा राखेर दौडाउदै जिल्ला अस्पताल धादिङमा पुर्याउथें।
कोही टाउँको दुख्यो, कोही पेट दुख्यो भन्दै विद्यार्थीहरु पढ्नै छाडेर घर जान्थें। महिनावारी हुँदा छात्राहरु विद्यालय नै आउदैन थिए।
तर अहिले यो समस्या समाधान भएको छ।
विद्यार्थीलाई कुनै स्वास्थ्य समस्या देखिएमा जिल्ला अस्पताल नै दौडाइहाल्नुपर्ने अवस्था छैन। अहिले विद्यार्थीहरु आफूलाई कुनै स्वास्थ्य समस्या देखिएमा विद्यालय नर्सको कक्षमा पुग्छन् र आफ्नो समस्या नर्सलाई सुनाउछन्।
नीलकण्ठ माविमा बागमती प्रदेश सरकारले २०७५ सालदेखि विद्यालय नर्स नियुक्त गरेको छ।
बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम मार्फत विद्यालयमा नर्स नियुक्त गरेपछि विद्यार्थीको सामान्य खालको स्वास्थ्य समस्या विद्यालयमै व्यवस्थापन हुन थालेको विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताए।
‘विद्यालय नर्स भएपछि हाम्रो स्कुल र हाम्रा विद्यार्थीलाई धेरै फाइदा भएको छ,’ उनले भने, ‘अहिले विद्यार्थीहरुमा सामान्य स्वास्थ्य समस्या हुँदा पनि अस्पताल दौडाइहाल्नुपर्ने वा घर पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।’
विद्यालय नर्स भएपछि पहिलो पटक महिनावारी भएका वा स्कुलमै महिनावारी भएका छात्राहरुको समस्या पनि समाधान भएको उनले सुनाए।
शिक्षकसँग खुलेर कुरा नगर्ने वा विभिन्न समस्यामा रहेका विद्यार्थीहरु नर्ससँग खुलेर कुरा गर्दा उनीहरुको समस्या समाधान गर्न पनि सहज भएको प्रधानाध्यापक अधिकारीको भनाइ छ।
विद्यालय नर्सले विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षणसँगै काउन्सिलिङ र स्वास्थ्य सम्बन्धी सचेतना दिने गरेकाले विद्यार्थीहरु पढाइसँगै स्वास्थ्य प्रति पनि सचेत भएको उनले बताए।
विद्यालयमा बिहानको समयमा ११ र १२ कक्षा सञ्चालन हुने भएकाले विद्यालयको आन्तरिक स्रोतबाट थप तलब सुविधा दिएर बिहानदेखि बेलुकासम्म विद्यालय नर्सलाई परिचालन गरिएको छ।
‘सरकारले लागू गरेको विद्यालय नर्स कार्यक्रम हाम्रो विद्यालयमा प्रभावकारी र सफल भएको छ,’ प्रधानध्यापक अधिकारीले भने, ‘विद्यालय नर्स राखेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको छ, सिकाइमा पनि सकारात्मक प्रभाव परेको छ।’
नीलकण्ठ माविमा पहिलो पटक विद्यालय नर्स कार्यक्रम लागू हुँदा विद्या श्रेष्ठ नियुक्त भएकी थिइन्। उनी बिएस्सी नर्सिङ अध्ययनका लागि गएपछि असारदेखि ममता श्रेष्ठ विद्यालय नर्सको रुपमा कार्यरत छन्।
धादिङको नीलकण्ठ मावि जस्तै देशभरका ९५० सरकारी विद्यालयमा हाल विद्यालय नर्स कार्यक्रम लागू भइसकेको छ। यो कार्यक्रम देशभर विस्तार गर्ने सरकारको लक्ष्य छ।
गगन थापा स्वास्थ्यमन्त्री हुँदा विद्यालयमा नर्स राख्ने योजना बनाएका थिए। उनले देशभरका सामुदायिक र निजी विद्यालयमा नर्स राख्ने विषयमा योजना बनाएका हुन्। तत्कालिन स्वास्थ्यमन्त्री थापाले बालबालिकालाई विद्यालय तहबाट नै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, विद्यालयमा आइपर्ने स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई समेत स्वास्थ्य सन्देश फैलाउन विद्यालय नर्स कार्यक्रम अगाडि बढाउने आवश्यक रहेको भन्दै कार्यक्रमहरु बनाएका थिए।
उक्त कार्यक्रमलाई सबैभन्दा पहिला बागमती प्रदेशले सुरु गरेको हो। बागमती प्रदेश सरकारले २०७५ सालमा पाइलट प्रोजेक्टको रुपमा बागमती प्रदेश भित्रका २० विद्यालयमा लागू गर्दा कार्यक्रम सफल भएपछि यसलाई सरकारले निरन्तरता दिएको थियो।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले पनि २०७६/७७ देखि विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्न थालेको नर्सिङ क्षमता विकास शाखाकी प्रमुख नर्सिङ प्रशासक बाला राईले बताइन्।
उनका अनुसार राष्ट्रिय स्वास्थ्य नितिमा एक विद्यालय एक स्वास्थ्यकर्मी भनेर उल्लेख भएको र स्वास्थ्य जीवनशैली, महिनावारी व्यवस्थापन लगायतका कार्यक्रमलाई विद्यालय तहबाटै लागू हुनुपर्ने अवधारणा आएपछि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन थालिएको हो।
विद्यालयमा नर्स नै राख्दा विशेषगरी महिनावारीको समयमा छात्राहरुलाई आफ्नो समस्या सुनाउन सहज हुने भएकाले विद्यालयमा नर्स नै राखिएको उनको भनाइ छ।
संघीय सरकारले सुरु गरेको पहिलो कार्यक्रममा भने बागमती र प्रदेश १ बाहेक अन्य प्रदेशका २०४ विद्यालयमा कार्यक्रम सुरु गरिएको राइले बताइन्।
‘संघीय सरकारबाट हाम्रो माहाशाखा मार्फत बागमती र प्रदेश १ बाहेकका अन्य प्रदेशका २०४ वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागू गरिएको थियो,’ उनले जानकारी दिइन्।
उनले एक विद्यालय एक नर्स कार्यक्रम लागू हुने विद्यालयहरु थपिदै गएको र प्रदेश १ र बागमती प्रदेशका नर्स नियुक्त नभएका विद्यालयहरुमा थप नर्सहरु नियुक्त हुन लागेको उनले जानकारी दिइन्।
‘निर्वाचन आचार संहिता लागू भएकाले अहिले नयाँ नियुक्त गर्ने काम रोकिएको छ,’ उनले भनिन्, ‘निर्वाचन पछि थप विद्यालयहरुमा यो कार्यक्रम लागू हुन्छ।’
विद्यालयमा नर्स नियुक्त भएसँगै सरकारका विद्यालय स्तरमा कार्यान्वयन गर्नुपर्ने सरकारका धेरै कार्यक्रमहरु सञ्चालन गर्न सहज भइरहेको उनको भनाइ छ।
यस्तै विद्यार्थीहरुले बीचमै पढाइ छाड्ने समस्या कम भएको, विद्यालयमा जंक फुडको प्रयोग नियन्त्रण भएको, छात्राहरुको महिनावारी व्यवस्थापन भएको उनले बताइन्।
कुन प्रदेशमा कति विद्यालय नर्स
प्रदेश १ - १४५
मधेश प्रदेश- ८०
बागमती प्रदेश - ४५८
गण्डकी प्रदेश - ८
सुदूरपश्चिम प्रदेश - २७
नर्सिङ महाशाखा - २३२
जम्मा - ९५०
नर्सिङ क्षमता विकास शाखाकी प्रमुख नर्सिङ प्रशासक राईले स्थानीय तहले अपनत्व लिएर सबै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागू गर्नुपर्ने बताइन्।