काठमाडौं– चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको चिकित्सा शिक्षा तर्फको स्नातक तहको भर्ना कार्यक्रममा विभिन्न विषयमा २६ सय भन्दा बढी सिट खाली रहेको पाइएको छ।
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
विद्यार्थी भर्नाका लागि आयोगले अनुमति दिएका ७० मेडिकल तथा नर्सिङ कलेजमा २ हजार ६६० सिट खाली रहेको छ।
आयोगले चिकित्सा शिक्षा तर्फको विभिन्न शैक्षिक कार्यक्रमका लागि ७० कलेजका लागि ८ हजार ५६० सिट निर्धारण गरेको थियो। तर आयोगले गरेको म्याचिङ तथा भर्ना कार्यक्रमबाट ५ हजार ९०० विद्यार्थी मात्र भर्ना भएका छन्।
आयोगबाट प्राप्त तथ्यांकका अनुसार सबैभन्दा धेरै बिपिएचको सिट खाली रहेको पाइएको छ।
ब्याचलर इन पब्लिक हेल्थ (बिपिएच)मा १ हजार ३५० सिट निर्धारण गरिएकोमा ९३१ सिट खाली छ भने ४१९ सिटमा मात्र विद्यार्थी भर्ना भएका छन्।
नर्सिङ तर्फ बिएनएसमा १ हजार १५० सिट निर्धारण गरिएकोमा ५८५ सिट खाली छ भने ५६५ विद्यार्थी मात्र भर्ना भएका छन्। यस्तै बिएस्सी नर्सिङ तर्फ १ हजार ४६० सिटमध्ये ५९७ सिट खाली छ भने ८६३ जना भर्ना भएका छन्।
फार्मेसी तर्फ बिफार्ममा ८७० सिट मध्ये १६२ सिट खाली छ।
एमबिबिएस र बिडिएसमा समेत सिट खाली भएको आयोगको विवरणले देखाएको छ। बिडिएसमा ५६५ सिट मध्ये ९१ सिट खाली छ भने एमबिबिएसमा १ हजार ८९५ सिट मध्ये २५ सिट खाली छ।
यसैगरी, बिएस्सी एमएलटी ४३१ सिट मध्ये १३० सिट खाली, बिपिटीमा १७० सिट मध्ये ४३ सिट खाली, बिएस्सी एमआइटीमा ७१ सिटमध्ये ६ सिट र बिएएमएसमा ८० सिट मध्ये ३ सिट र अन्य विषयका ५१८ सिटमध्ये ८७ सिट खाली रहेको छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले विद्यार्थीहरुले रोजेको विषय र रोजेको कलेजको आधारमा नै विद्यार्थीहरु भर्ना भएका हुन्। उनले भने, ‘विद्यार्थीहरुले जुन जुन विषय र कलेज रोजे ती विषय र सिट भरियो, अरु खाली भएको हो।’
कुन कलेजमा कुन विषयमा कति सिट खाली?