काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक कमला कुमारी पौडेललाई रमाइलो लाग्ने पर्वमध्ये दसैं पनि एक हो।
दसैंसँग उनको धेरै मीठा अनुभव र सम्झनाहरु जोडिएका छन्। काँधमा आएको जिम्मेवारीले दसैं मनाउने शैली फरक भएपनि दसैं प्रति उनको लगाव कम भएको छैन। बिरामीको सेवामा खटिने प्रतिवद्धता गरेकी उनले कयौँ दसैं अस्पतालमै बिरामीहरुसँग मनाएकी छिन्। यस वर्ष पूर्ण बिदा नपाएपनि टीकाको दिन ११ बजेसम्म ड्युटी सकेर भने दसैं मनाउँदै छिन्।
बिरामीको उपचारसँगै जनरल वार्डमा रहेका १७ जना नर्सहरुको ड्युटी मिलाउने जिम्मेवारी उनको हो। टाढा रहेका नर्सहरुलाई घर पठाएर आफु सहित अन्य नर्सलाई टीकाको दिन ड्युटीमा खटाएकी छिन्। उनको लागि यो सहज पक्कै होइन। तर टाढा घर भएकाहरुलाई प्राथमिकतामा भने राखिएको उनले बताइन्।
उनी भन्छिन्, ‘हामी यही नजिकमा भएकाहरु ड्युटी ग¥यो अनि घरमा गएर काम गर्न भ्याइन्छ। बाहिर जानेहरुलाई भने प्राथमिकतामा राख्नुपर्छ।’
गत वर्ष भने टीकाको दिनमा उनको ड्युटी परेको थियो। त्यो बेला सहकर्मी र बिरामीहरुसँग नै उनले दसैं मनाएकी थिइन्। बानी परेर होला, बिरामीहरुसँग दसैं मनाउन उनलाई रमाइलो नै लाग्छ। तर पहिलो पटक टीकाको दिन ड्युटी पर्दा भने उनको मन साह्रै रोएको थियो। ‘किन यो पेशामा आएकी छु’ भन्ने समेत उनलाई लागेको थियो।
‘भर्खर–भर्खर काम सुरु गरेको थिएँ। सधै घरमा बसेर टीका लगाउने म। पहिलो पटक टीकाको दिन ड्युटी पर्दा त साह्रै नरमाइलो लागेको थियो। अहिले त बानी परिसक्यो।’ उनले भनिन्।
श्रीमान पनि चिकित्सक भएकाले परिवारबाट साथ मिलेको उनले बताइन्। तर १४ वर्षे छोरालाई सम्झाउन भने उनलाई कहिले काँही कठीन हुन्छ। दसैंको दिनमा आमा पनि घरमै बसेर मनाउन पाए हुन्थ्यो भन्ने छोराको इच्छालाई उनले पुरा गर्न असमर्थ हुन्छिन्।
दक्षिणामा लोभ लाग्थ्यो
दसैं उनलाई पनि सानो छँदा नै रमाइलो लाग्थ्यो। नयाँ कपडा, पिङ, खसी काट्ने त्यो माहोल उनलाई निकै प्यारो लाग्ने। अझ दक्षिणामा निकै लोभ लाग्ने उनले ठट्याउँलो पारामा बताइन्। दसैं नसकिदासम्म बिहानदेखि बेलुकीसम्म टीका लगाएर नै दिन बित्थ्यो।
‘दक्षिणामा त एकदमै लोभ लाग्थ्यो।’ उनले हाँस्दै भनिन्, ‘२५ पैसादेखि १ रुपैयाँसम्म दिन्थे। मेरो हजुर बुवाले मात्र पाँच रुपैया दिनु हुन्थ्यो। दसैंमा २५/३० रुपैयाँ जम्मा हुन्थ्यो।’
त्यो बेला त एक रुपैयाँ पनि धेरै हुन्थ्यो। जम्मा भएको त्यो पैसा उनले विद्यालय जाँदा खाजा खाने गर्थिन्। अहिले जस्तो घरबाट खाजा लिएर जाने चलन त्यो बेला थिएन। बिहान खाना खाएर विद्यालय गएपछि एकै पटक साँझ खाना मात्र खाने हुन्थ्यो। तर दसैंमा जम्मा गरेको पैसाले भने उनले दिउँसो खाजा खाने गर्थिन्।
‘अहिले जस्तो विद्यालयमा नास्ता लाने चलन थिएन। बिहान खायो दिनभर भोकै हुन्थ्यो। कहिले काँही पैसा भयो भने मात्र खाने हो। दसैँमा जम्मा भएको पैसाले दिउँसो खाने खान्थे।’ उनले भनिन्।
सानोमा उनले धेरै पिङ खेलिन्। तर अहिले पिङलाई नछोएको १० वर्ष भएको उनले बताइन्। अहिले सानोमा जस्तो दसैं रमाइलो नलाग्ने उनले बताइन्।