काठमाडौं– डा भोला रिजाल दशैं आउने वित्तिकै आफ्नो जन्मथलो र बाल्यकालमा व्यतित गरेको धनकुटा, धरान र विराटनगरमा मनाएका दशैंका पलहरुलाई सम्झन्छन्।
डा रिजालका हरेक दशैंमा आफ्नो स्वर्गिय जिजुबुवा ध्रुवलाल रिजाललाई सम्झने गर्छन्। डा रिजालका हजुरबुबा, बुबाहरुले दशैंमा परिवारमा ज्येष्ठताको आधारमा लगाइदिने गरेको र आफ्नो पालो ७८ जनापछि बल्ल आउने गरेको उनलाई अझै सम्झना छ।
उनी भन्छन्, ‘बाल्यकालमा हुँदा म हजुरबुबाको प्यारो थिए, त्यसैले उहाँकै छेऊमा बस्थें तर टिका लागाउने पालो त ७०,८० जनामा मेरो पालो आउथ्यो।’ डा रिजालका ८ जना सन्तान भएकाले उनको परिवारमा दशैंको टिका लगाउने समयमा घरमा ठूलो पारिवारिक जमघट हुन्थ्यो।
‘काठमाडौं आएपछि आफ्नो प्रोफेसनमा बढी व्यस्त भइयो, वास्तवमा भन्नुपर्दा धरान, विराटनगरमा जस्तो दशैंको माहोल काठमाडौंमा हुँदैन,’ उनले भने, ‘दशैं मनाइन्छ, टिका लगाइन्छ, तर धरान, विराटनगरमा जस्तो माहोल यहाँ छैन।’ डा रिजाल आजभोली दशैं काठमाडौंमै मनाउछन्। उनका एकजना काका मात्र विराटनगरमा रहेको डा रिजालले बताए।
दशैंको टिकाको दिन एकपटक धर्ती छोड्नुपर्छ भन्ने मान्यताका साथ पिङ खेल्ने चलन रहिआएको छ।
दशैं सुरुभएसँगै गाउँघरमा पिङ पनि हाल्ने गरिन्छ। तर डा रिजालले भने धेरै वर्षदेखि दशैंमा पिङ खेलेको अनुभव गर्न पाएका छैनन्।
धरान, इटहरीमै हुदा आफुले पिङ खेलेको उनलाई सम्झना छ। डा रिजाललाई आजभोलीको दशैंको महोल भन्दा पनि बाल्यकालमा नयाँ कपडा पाउदा मिलेको खुसी उनलाई विशेष लाग्छ।
उनले सुनाए, ‘धेरै वर्ष भयो पिङ नखेलेको, चङ्गा भने काठमाडौं आएपछि बालबच्चासँग उडाइन्थ्यो।’ चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा रिजाल आजभोली पनि बिरामी जाँच्ने गर्छन् तर दशैंको साइतको टिका लगाउन नपाउने गरी ड्युटी गर्नु पर्ने अवस्था छैन।
तर विगतका दिनहरुमा भने उनले दशैंको टिकाको साइत छाडेर पनि आकस्मिक उपचारका लागि अस्पतालमा खटिएका छन्।
उनले भने, ‘ओम अस्पतालमा काम गर्दा माइलो ठूलो बुबाकोमा टिका लगाउन जाँदा, आकस्मिक फोन आयो, त्यसपछि म टिका लगाउन नगइ ओम अस्पताल आएर बिरामीको अप्रेसन गरेर अनिमात्र टिका लगाउन गएको छु। यस्तो धेरै पटक भएको छ।’