काठमाडौं- गुल्मीकी सुस्मिता रानाको मुख राम्रोसँग खुल्दैनथ्यो। तल र माथिल्लो भागको दाँत जोडिँदैनथ्यो। दुई वटा औंला समेत मुखभित्र नपस्ने अवस्था थियो। राम्रोसँग आँ.. गरेर मुखमा हाल्नुपर्ने र चपाएर खानुपर्ने खानेकुरा खानै सक्दिनथिन्।
सानैदेखि भोग्दै आएको यो समस्यालाई सुस्मिताले सुरु-सुरुमा सामान्य रुपमा लिइन्।
हजुरआमाले उनलाई सुनाए अनुसार सुस्मिता तीन वर्षकी हुँदा लडेर ओठ काटिएको थियो। कानबाट समेत रगत बगेको थियो। त्यसपछि उनी राम्रोसँग आँ.. गरेर खाना खान नसक्ने भइन्।
ओठ काटिएकाले आँ.. नगरी सुरुप्प–सुरुप्प खाने बानीले ठूलो हुँदै गएपछि पनि मुख नखुलेको होला भन्ने सोचेका थिए सुस्मिताका परिवारले।
सानै हुँदा बुबाले अस्पताल लैजाँदा चिकित्सकले चुइगम खाने गर्नु भने उनलाई अझै याद छ।
‘म सानैमा लडेको थिएँ रे। लडेर ओठमा चोट लागेको र कानबाट पनि रगत बगेको थियो रे,’ सुस्मिताले सम्झिइन्, ‘मैले खानेकुरा नचपाई खाएको देख्दा परिवारले पनि यसलाई सुरुप्प–सुरुप्प खाने बानी परेछ भन्ने सोच्नुभएछ।’
तर, उनी भने तल्लो र माथिल्लो भागको दाँत नजोडिँदा खाना चपाउनै सक्दिनथिन्।
मुख राम्रोसँग नखुल्दा सुस्मिताले बाल्यकालदेखि नै विभिन्न समस्याभोग्दै आइन्। तर ती समस्यालाई आफैंमा भएको कमजोरी होला भन्ने सोचिरहिन्।
सुस्मितालाई मनदेखि बोल्न, स्कुलमा हुने अन्य क्रियाकलापमा सहभागी हुन मनपर्थ्यो। तर आफ्नो मुख नै राम्रोसँग खुल्दैन भन्ने सोचेर आफैं पछि सर्थिन्।
साथीहरुसँग खाजा खान जाँदा अरुले मःम चाउमिन, चटपटे र अन्य खानेकुरा मजाले चपाएर खाँदा उनको मुख रसाउँथ्यो तर आफू खान भने सक्दिनथिन्।
‘साथीहरुले पानीपुरी तथा अन्य खानेकुरा खाउँ है भन्दा मैले खान मिल्दैन भन्थें,’ सुस्मिताले सुनाइन्, ‘तर मनमा भने मेरो पनि मुख खुल्ने भए खाने थिएँ भन्ने लाग्थ्यो। तर यी सबै कुरा मलाई सामान्य लाग्थ्यो।’
उमेर बढ्दै जाँदा उनको अनुहारको स्वरुप परिवर्तन हुँदै गयो। ऐना हेर्दा आफ्नो अनुहार बांगो हुँदै गएको महसुस हुन्थ्यो तर उनलाई लाग्थ्यो, ‘मेरो अनुहार नै यस्तै होला। म खासै राम्री छैन।’
०००
पिसिएल नर्सिङ अध्ययन गरेर २०७१ सालदेखि सुस्मिता अस्पतालमा काम गर्न थालिन्। रुपन्देहीमा बस्दै आएकी उनी एक दिन आफ्नो दाइको दाँतको उपचारका लागि बुटवलको एक डेन्टल क्लिनिकमा गइन्।
त्यही समयमा उनले आफ्नो पनि दाँतमा सिमेन्ट भर्ने भनेर परीक्षण गर्दा त्यहाँका स्वास्थ्यकर्मीले भने, ‘तपाईंको त मुख खुल्दैन रहेछ है।’ उनले सहज रुपमा जवाफ दिइन्, ‘म सानैदेखि यस्तै हो, मुख खुल्दैन।’
स्वास्थ्यकर्मीले मुख राम्रोसँग नखुल्दा दाँतको उपचार गर्न गाह्रो भएको सुनाएपछि भने उनले सोचिन्, ‘केही समस्या भएर मुख नखुलेको त हैन?’
दाइको उपचारका लागि गएकी उनी त्यत्तिकै फकिइन्। सोही क्लिनिकमा उनकी दिदीहरु जाँदा ती स्वास्थ्यकर्मीहरुले रानाको स्वास्थ्य समस्याका कारण मुख नखुलेको हुन सक्ने र उपचार गर्न मिल्ने बताए।
उपचार हुनसक्ने थाहा पाएपछि भने सुस्मितालाई आफ्नो मुख नखुल्ने समस्या ठिक हुन्छ कि भन्ने लाग्न थाल्यो। तर विभिन्न कारणले उनले परीक्षण भने गराएकी थिइनन्।
बुटवलमा रहेको एक डेन्टल क्लिनिकका चिकित्सकले सामाजिक सञ्जालमा म्याक्जिलोफेसियल सर्जनसँग भेटघाट भनेर तस्बिर राखेको सुस्मिताले देखिन्। त्यसपछि उनलाई आफ्नो मुख नखुल्ने समस्या पनि म्याक्जिलोफेसियलसँग सम्बन्धित छ भन्ने लाग्यो।
‘मलाई आफ्नो समस्या म्याक्जिलोफेसियल सम्बन्धी हो भन्ने लाग्यो। त्यसपछि त्यही क्लिनिकमा गएर आफ्नो समस्या सुनाएँ,’ उनले भनिन्, ‘यो समस्याबारे भैरहवाको युनिभर्सल मेडिकल कलेजमा हेर्नुहुन्छ भन्ने थाहा पाएपछि म उतै गएँ।’
सुस्मिताले भैरहवामा गएर सबै परीक्षण गराइन्। सिटी क्यान रिपोर्ट हेरेपछि उनलाई आफ्नो अनुहारको वास्तविक आकृति देख्दा अचम्म लाग्यो।
‘सिटी स्क्यान रिपोर्ट हेरेपछि त मेरो अनुसारको आकृति नै टेडो देखें, अनुहारको हड्डी त एक साइड लामो, अर्को साइड छोटो, भाँच्चिएको, भित्र गएको देखें,’ उनले भनिन्, ‘त्यसपछि उपचार हुन्छ कि हुँदैन, खर्च कति लाग्छ सबै सोधें।’
मुख नखुल्ने समस्या उपचारपछि ठिक हुन्छ भन्ने जानकारी पाउँदा सुस्मितालाई सुरुमा विश्वास नै लागेन। झनै अप्रेसनले गर्दा अर्को ठाउँमा पनि समस्या निम्तिने हो कि भन्ने डर पनि थियो।
उनले आफ्नो उपचार हुने कुरा घरमा पनि सुनाइन्। उनकै मामा पनि डाक्टर थिए। आफ्नो समस्या र उपचार हुनेबारे मामासँग कुरा गरिन्। मामाले भैरहवामा भन्दा पनि काठमाडौं गएर उपचार गर्न सुझाए।
परिवारले पनि काठमाडौंमै गएर उपचार गर्न सल्लाह दिएपछि उनले आधुनिक समाज डेन्टल बुटवलमा डा वर्षासँग आफ्नो स्वास्थ्य जाँच गराइन्। डा वर्षाले वीर अस्पतालका म्याक्जिलोफेसियल सर्जन डा किशोर भण्डारीसँग सम्पर्क गराइन्।
डा भण्डारीसँग सम्पर्क भएपछि सुस्मिता बिदा मिलाएर काठमाडौंको वीर अस्पताल आइन्।
वीर अस्पतालमा आइपुग्दासम्म पनि उनले आफ्नो अनुहारको आकृति मिलाउने र जोर्नी प्रत्यारोपण होला भन्ने विश्वास गरेकी थिइनन्।
तर, अस्पतालमा डा किशोर लगायतको टिमले उनको समस्या ठिक हुने भन्दै उपचार विधिबारे जानकारी गराए।
चिकित्सकको परामर्शपछि भने उनी आफ्नो अनुहारको जोर्नी प्रत्यारोपण र आकृति मिलाउने सर्जरी गर्ने निर्णयमा पुगिन्।
‘परिवारले पनि उपचार सम्भव छ भने त उपचार गर्ने नि भन्नुभयो। त्यसपछि म सर्जरी गर्न तयार भए,’ सुस्मिताले भनिन्।
सर्जरीका लागि अन्य स्वास्थ्य परीक्षणहरु भदौ ५ गतेसम्ममा गराएर उनी भदौ ८ गते वीर अस्पतालमा भर्ना भइन्। सुस्मिताको भदौ १० गते १० घण्टा लामो सर्जरी भयो। सर्जरीको दिन उनकी दिदी र भाइ पनि वीर अस्पताल आएका थिए।
१० घण्टा लामो अप्रेसनको समयावधिमा भने उनीहरु आत्तिएका थिए। सफल अप्रेसन भएर होस आएपछि भने उनको परिवार खुसी भयो।
‘अप्रेसन गर्न समय लाग्दा भित्र केही भयो कि भनेर दिदी त अप्रेसन थिएटर बाहिर रुन नै थाल्नुभएछ,’ सुस्मिताले भनिन्, ‘अप्रेसनपछि आइसीयूमा हुँदा ट्वाइलेट समेत जान नसक्दा त म पनि आत्तिएँ। पछि भने खुसी लाग्यो।’
अनुहारको जोर्नी प्रत्यारोपण तथा आकृति परिवर्तनपछि केही दिन आइसीयू बस्दा आत्तिएकी थिइन् उनी।
‘आइसीयूमा बस्दा श्वास फेर्न गाह्रो भएजस्तो लाग्थ्यो। रातभरि मनिटर हेरेर बसें,’ सुस्मिताले हाँस्दै भनिन्, ‘आइसीयूमा रहेका धेरै बिरामी हेरियो। आफैं आइसीयूमा रहँदा डर भने लाग्ने रहेछ।’
अप्रेसन पछि उनलाई आइसीयूमा राखियो। तीन दिन आइसीयूमा राखेपछि १३ गतेदेखि क्याबिनमा भर्ना भइन्। १५ गते अस्पतालले डिस्चार्ज गर्यो।
‘अहिले त मलाई एकदमै खुसी लागेको छ। म ठिक भएँ,’ सुस्मिताले भनिन्, ‘नेपालमै सरकारी अस्पतालमा यस्तो समस्याको पनि उपचार सम्भव रहेछ भनेर खुसी लाग्छ।’
अनुहारको आकृति नै परिवर्तन हुने गरी सर्जरी गरेपछि आफन्त तथा साथीहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेको उनले सुनाइन्।
‘म आफैं नराम्री हुँला जस्तो लाग्थ्यो। खाने बेलामा समस्या हुन्थ्यो। खानेकुरा टोकेर खान सक्दिनथें,’ सुस्मिताले भनिन्, ‘साथीहरुलाई समस्या छ भन्थें। उनीहरुले केही भन्दैनथे। अप्रेसनपछि भने अँ तिम्रो समस्या थियो है, अहिले त कस्तो राम्रो देखिएको भन्छन्। अनुहार नै परिवर्तन भएको छ, राम्रो लागेको छ।’
सर्जरीपछि पनि उनले नरम खानेकुरा नै खाइरहेकी छिन्। तर २८ वर्षसम्म मुख नै नखुल्ने समस्या झेलिरहेकी सुस्मितालाई अहिले आत्मविश्वास भने बढेको महसुस हुन्छ।
‘२८ वर्षसम्म उपचार हुन्छ भन्ने थाहा नहुँदा राम्रोसँग मुख नखोली बस्नुपर्यो। अहिले धेरै खुसी छु। अब त अगाडि सरेर बोल्छु भन्ने कन्फिडेन्ट बढेको छ,’ उनले भनिन्, ‘मेरो जस्तै समस्या भएकाहरु धेरै हुनुहुन्छ होला। उहाँहरुलाई पनि उपचार गराउन सुझाव दिन्छु।’
सुस्मिता हाल रोहिणी गाउँपालिका अन्तर्गतको सिनियर अनमीको रुपमा बगहा स्वास्थ्य चौकीमा कार्यरत छिन्।
के हो सुस्मिताको समस्या?, कसरी गरियो उपचार?
वीर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट ओरल एण्ड म्याक्जिलोफेसियल सर्जन डा किशोर भण्डारीका अनुसार सुस्मितालाई बाल्य अवस्थामा लडेर अनुहारमा चोट–पटक लाग्दा राम्रोसँग उपचार नहुँदा मुख नखुल्ने र अनुहार बांगो हुने समस्या देखिएको थियो।
अनुहारको माथिल्लो र तल्लो भाग जोड्ने जोर्नीको संरचना बिग्रिएपछि राम्रोसँग उपचार नहुँदा अनुहारको हड्डी आफैं जोडिँदै जान्छ। जसले गर्दा उनको अनुहारको जोर्नीमा हड्डीको विकास भएको थिएन। त्यस कारण मुख नखुल्ने, खाना खान, बोल्न समस्या हुने, मुख बांगिदा अनुहारको आकृति बिग्रिएको अवस्था थियो।
दाँतको उपचारको क्रममा आफ्नो समस्याबारे थाहा पाएपछि उनी अप्रेसनका लागि वीर अस्पतालमा आएको र यही भदौ १० गते अप्रेसन गरिएको डा भण्डारीले जानकारी दिए।
‘उहाँको अनुहार बांगिएको थियो। हाँस्दा अनुहार बांगोजस्तो देखिन्थ्यो। त्यसलाई मिलाउन हड्डीहरु काटेर मिलाउने, अनुहारको आकृति मिलाउने, मुख खुलाउन हड्डी र जोर्नीहरु काटेको ठाउँमा पूर्ण रुपमा जोर्नी प्रत्यारोपण गर्यौं,’ उनले भने।
डा भण्डारीका अनुसार सुस्मिताको जोर्नी प्रत्यारोपणका लागि अस्पतालका चिकित्सकहरुले फेस स्क्यान गरेर उनकै नापमा जोर्नी तयार पारी प्रत्यारोपण गरिएको हो।
भारतको कृत्रिम जोर्नी बनाउने कम्पनीका इन्जिनियरहरुसँग सहकार्य गरी उनको सर्जरी गरिएको डा भण्डारीको भनाइ छ।
सुस्मिताको सर्जरीमा डा भण्डारीसहित ओरल एन्ड म्याक्जिलोफेसियल सर्जन युनिटका चिकित्सकहरु डा बन्दना खनाल, डा इस्फा बानु हक, डा सन्ध्या जोशी, र डा गौरभ कर्ण, अर्थोडेन्टिस युनिटका डा मनिष बज्राचार्यको नेतृत्वमा डा अभिलाषा खनाल, डा नेहा श्रेष्ठ, डा पूर्ण खनाल, एनेस्थेसिया युनिटका डा रुपेश यादवको नेतृत्व र डा तीर्थ भण्डारी सर्जरीमा सहभागी थिए।
के हो मुख बांगिने वा मुख नखुल्ने समस्या?
डा भण्डारीका अनुसार अनुहारको जोर्नी जाम हुँदा मुख नखुल्ने, दायाँ–बायाँ गर्न, चलाउन नमिल्ने हुन्छ। बाल्य अवस्थामा लडेर अनुहारको हड्डी भाँचिदा उपचार नभएमा हड्डी गलत ठाउँमा गएर जोडिन पुग्छ। जसले गर्दा मुख बन्द हुन्छ। यस्तै कान धेरै पाक्ने, कानमा संक्रमण हुने समस्या भइरहँदा पनि अनुहारको तल्लो र माथिल्लो भागको जोर्नी जाम हुन सक्छ।
नेपालमा भने बढीजसो लडेर समस्या हुँदा अनुहारको आकृति बिग्रिने वा मुख नखुल्ने समस्या हुने डा भण्डारीको भनाइ छ।
अनुहारको जोर्नीमा समस्या भएको, अनुहार बांगिएको, मुख नखुल्ने समस्या भएका बिरामीहरुको वीर अस्पतालमै उपचार सम्भव भएको डा भण्डारीले बताए।
यस्तो उपचार विधिमा बाहिरी अनुहारमा चिरफार गर्दाको दाग नदेखिने र अप्रेसन मुख भित्रबाट गरिने डा भण्डारीको भनाइ छ।
‘वीर अस्पतालमै अनुहारको हड्डी भाँच्चिएको, जोर्नीमा समस्या भएको कुम बांगिएको बिरामीको उपचार हुन्छ,’ डा भण्डारीले भने, ‘यस्तो सर्जरीमा अनुहारमा काटेको दाग देखिँदैन, जोर्नी प्रत्यारोपणमा पनि कान पछाडिको भागमा झट्ट हेर्दा नदेखिने गरी कस्मेटिकल्ली गर्छौं।’
डा भण्डारीका अनुसार यस्तो सर्जरीमा मुख भित्रबाट नमिलेका हड्डीहरु काट्ने र मिलाउने गरिन्छ।
मुख नै नखुल्ने समस्या भएका बिरामीको उपचारमा शल्यक्रिया गर्नुअघि एनेस्थेसिया दिँदा संवेदनशील हुनुपर्ने डा भण्डारीले बताए।
सुस्मिताको मुखको आकृति मिलाउने तथा जोर्नी प्रत्यारोपण वीर र ट्रमाका चिकित्सक तथा नर्सहरु मिलेर गरिएको डा भण्डारीले बताए।
सुस्मिताको अप्रेसनमा सरिक डा बन्दना खनालले रानाको मुखको आकृति मिलाउने र जोर्नी प्रत्यारोपण एकै पटकमा गरिएको बताइन्।
‘हामी सबै चिकित्सकको टिमले छलफल गरेर अप्रेसनको योजना बनाएर सर्जरी गर्न सफल भयौं,’ उनले भनिन्, ‘अप्रेसन गरेको एक सातामै उहाँको मुख खुलेको छ। उहाँको व्यक्तित्व नै परिवर्तन भएको छ। उहाँ धेरै खुसी हुनुहुन्छ।’
अस्पतालका वरिष्ट कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डा मनिष बज्राचार्यका अनुसार रानाको अनुहारको आकृति मिलाउने तथा जोर्नी प्रत्यारोपणका लागि सिटी स्क्यानपछि वीर अस्पतालमा भएको विशेष सफ्टवेयरमार्फत कृत्रिम जोर्नी निर्माणका लागि डिजाइन गरिएको थियो।
पहिला–पहिला बजारबाट खरिद गरिएको जोर्नी प्रत्यारोपण गर्ने गरिएकोमा सुस्मिताको भने अनुहारसँग मिल्ने गरी कम्प्युटरमार्फत कृत्रिम जोर्नीको डिजाइन गरी सर्जरी गरिएको डा बज्राचार्यले बताए।
सुस्मिताको अप्रेसनका लागि डिजिटल गरिएकाले यो उपचार विधि नयाँ भएको डा बज्राचार्यको भनाइ छ।
अस्पतालका अर्थोडेन्टिस्ट डा अभिलाषा खनालले सुस्मिताको जोर्नी प्रत्यारोपणपछि दाँतको टोकाइ मिलाउने फलोअप उपचार भने अझै चलिरहेको बताइन्।
‘बिरामीको सर्जरीपछि दाँतको टोकाइ पूर्ण रुपमा मिल्न अझै केही समय उपचार गर्नुपर्ने हुन्छ। दाँतमा तार बाँधेर यसको उपचार गरिन्छ,’ उनले भनिन्, ‘अर्थोडेन्टिस्ट उपचार भने अझै ८ महिना चल्छ। उहाँलाई महिनामा एक पटक फलोअपमा आउन भनेका छौं।