काठमाडौं- ‘कस्तो छ अहिले ? ठिक हुनुहुन्छ नि हैन ?’ सशस्त्र प्रहरी अस्पतालका कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट डा सौरभ श्रेष्ठले आइसियु बेडमा सुतिरहेकी कोरोना संक्रमित युवतीको टाउको सुमसुमाउदै सोधे।
‘ठिकै छु’ युवतीले डा सौरभलाई हेर्दै मलिन स्वरमा जवाफ दिइन्।
‘आज त बेडबाट खुट्टा झारेर अलिअलि हिड्नुपर्छ है,’ डा सौरभले भने।
‘सक्छु होला र ?’ ती युवतीले कमजोर महसुस गर्दै डा सौरभलाई सोधिन्।
‘किन आत्तिएको ? एक्लै हिँड्ने होइन नि, म आइहाल्छु नि ! विस्तारै यहीँभित्र मात्र हिँड्ने हो। अब त ठिक हुन लागिसक्नुभयो’ डा सौरभले उनको टाउको सुमसुमाउदै सम्झाए।
‘ल अब हाँस्नुहोस् त हाहाहा...’ डा सौरभ आफू पनि हाँस्दै ती युवतीलाई हसाउने प्रयासमा लागे। युवती पनि मुसुक्क हाँसिन्।
‘ल पन्च हान’ डा सौरभले दाहिने हात मुठ्ठि पार्दै युवतीलाई भने। युवतीले पनि आफ्नो हात उठाउदै हाँस्दै डाक्टरको हातमा पन्च हानिन्।
युवतीको टाउको सुमसुमाउदै कुरा गर्ने डा सौभर ती युवतीका दाजु, भाइ, काका, बुबा वा आफन्त होइनन्।
डा सौभरले ती बिरामीलाई हौसला दिन गरेको त्यो व्यवहार भने एउटा परिवारको सदस्यले अर्को सदस्यलाई गर्ने माया, स्याहार र हौसला भन्दा कम थिएन।
डा सौरभ ती युवतीसँग कुरा गरेपछि अर्को आइसियु बेडमा रहेका वृद्ध पुरुषलाई भेट्न पुगे।
‘नमस्कार बुबा ! ठिक छ हैन ?’ डा सौरभले दुई हात जोड्दै नमस्कार गरे। बेडमा सुतिरहेका ती वृद्ध पुरुषले पनि नमस्कार फर्काए।
डा सौरभले बेडमा सुतिरहेका कोरोना संक्रमित वृद्ध पुरुषको हात समातेर ढाडस दिँदै भने, ‘अब त डिस्चार्ज भएर घर जानुपर्छ। जाने कि नजाने ?’
डा सौरभको प्रश्न नसकिदै ती वृद्ध पुरुषले मुन्टो र हात हल्लाउदै नजाने संकेत गरे।
डा सौरभले लामो हाँसो हास्दै सोधे, ‘किन नजाले ठिक भएपछि त घर जाने हो यहाँ त बिरामी मात्र बस्ने हो नि।’
‘पुरानो घर जाने’ डा सौरभको हाँसोमा हाँसो मिलाउदै वृद्ध पुरुषले पनि जवाफ दिए।
‘पानी खान्छु’ उनले पानी खाने इसारा गरेपछि डा सौरभ र अर्का एक चिकित्सक र नर्सले बेड उठाए र उनलाई पानी खुवाए।
यो दृश्य बलम्बुमा रहेको शसस्त्र प्रहरी बल अस्पालको कोरोना आइसीयू कक्षको थियो।
कोरोना महामारीको लहर उच्च विन्दूको समयमा पुग्दा सबैतिर डर र त्रास थियो। संक्रमितको उपचार हुने आइसीयूभित्र चिकित्सक र स्वास्थ्यकर्मीले समय नै दिँदैनन् भन्ने भ्रम थियो। तर स्वास्थ्यखबरको टोली सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा पुग्दा डा सौरभसहितको टोलीले बिरामीलाई उपचार मात्र होइन हौसला बढाउने काम समेत गरिरहेको पाइएको थियो।
एकदिन मात्र नभई अस्पतालले संक्रमितलाई हरेक दिन उपचार, हेरचाह र हौसला बढाउने क्रियाकलाप गरिरहेको देखिन्थ्यो। आफ्नो स्वास्थ्य सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) लगाएर संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सहरू बिरामीलाई उपचार र स्यहारसँगै आफन्तले जस्तै कुराकानी पनि गर्थें।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले खाजा, पानी नखाई, शौचालय समेत नगई ८ घण्टासम्म पिपिईमा रहेर बिरामीको उपचार र केयरमा खटिन्थे।
अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालका अनुसार सरकारले २०७६ साल चैत ९ गते अस्पताललाई कोभिड बिरामीको उपचार गर्ने अस्पतालको रुपमा सरकारले घोषणा गरेको थियो।
अस्पतालले कोभिड महामारीको समयमा २०० शय्या कोरोना संक्रमितको उपचारका लागि थियो। जसमध्ये सामान्य शय्या १२०, आइसीयू २० शय्या, आइसोलेसन सेन्टरको रुपमा ६० शय्या छुट्याएर कोभिड संक्रमितको उपचार गरेको थियो।
अस्पतालले २०७९ साल भदौ १० गतेसम्ममा ५ हजार १६ जना कोरोना संक्रमितको उपचार गरेको डा नेपालको भनाइ छ। ती मध्ये ४ हजार ७८६ जना डिस्चार्ज भएका थिए भने २२३ जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो। यस्तै ७ जना कोरोना संक्रमित अहिले अस्पतालमा उपचार रहेको डा नेपालले जानकारी दिए।
‘हाम्रो अस्पताल कोरोना संक्रमितको उपचारमा सुरुदेखि नै सक्रिय छ,’ उनले भने, ‘संक्रमितको उपचारसँगै हामीले उहाँहरुलाई परिवारकै सदस्यझैं स्याहार पनि गरेका छौं।’
संक्रमितको उपचारका साथै अस्पतालले कोरोना भाइरसको पिसिआर परीक्षण पनि गर्दै आइरहेको छ। अस्पतालले हालसम्म ४० हजार ४५१ जना व्यक्तिको आरटी पिसिआर परीक्षण तथा ८० हजार ६४९ जनालाई कोभिड विरुद्धको खोप लगाएको जनाइएको छ।
२०६२ साल चैत १२ गतेदेखि ११० शय्याबाट सुरु भएको अस्पताल हाल ३५० शय्या क्षमतामा सञ्चालित छ। अस्पतालमा पिसिआर परीक्षण सहितको ल्याब, एक्सरे, युएसजी, इको, सिटी स्क्यान, एमआरआइ, अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन लगायतको व्यवस्थापन गरिएको जनाइएको छ।
अस्पतालमा कोभिड बाहेक अन्य समस्याका बिरामीहरु ओपिडिमा दैनिक ५००सम्म र आकस्मिकमा ३० जनासम्म उपचार सेवा लिन आउने गरेको डा नेपालले जानकारी दिए।
महामारीको समयमा अस्पतालले गरेको कामको सम्मान स्वरुप स्वास्थ्यखबरले यस वर्ष सशस्त्र प्रहरी अस्पताललाई विशेष सम्मान प्रदान गरेको छ।