हाल दुखाइको लहर उत्कर्ष तिर गइरहेको छ। सर्वसाधारणहरु दुखाइ कम गर्ने औषधीको खोजिमा रहेका देखिन्छन। एक मित्रले भन्दै थिए कि एक डेंगु संक्रमित छिमेकीले टाउकोको दुखाइ सहन नसकेको र दुखाइ कम गर्न सिटामोल पर्याप्त नभएको जिकिर गरेको थिए।
हाल डेंगु फैलाउने लामखुट्टे व्यापक देखिन्छ र संक्रमण पनि बिजुली गतिमा फैलँदै गईरहेको देखिन्छ।टोल-टोलमा, परिवार-परिवारमा डेंगुले दुख दिएको जानकारीहरु आइरहेका छन्। सम्भवत लेखकले देखेको '२०१९ डेंगुको महामारी' अहिले सन् २०२२ मा (अहिले) नदोहोरिएला भन्न सकिँदैन। '२०१९ डेंगुको महामारी'मा नेपालका लगभग सबै जसो जिल्लाहरु डेंगु भाइरसबाट प्रभावित भएका थिए। हाल काठमाडौंमा केन्द्रित जस्तो देखिएको डेंगुको प्रकोप '२०१९ डेंगुको महामारी' मा जस्तै अरु जिल्लाहरुमा फैलदै/सर्दै नजाला भनेर भन्न सकिँदैन।
डेंगु फैलाउने लामखुट्टे विशेषत दिनमा बढी संक्रिय हुने भएकोले संक्रमित हुने सम्भावना पनि सोहि समयमा बढी हुनेछ। सेतोकालो 'जेब्रा लामखुट्टे' भएकोले जो कोहिले सहजै डेंगु फैलाउने लामखुट्टेको पहिचान गर्न सक्दछन्। संकलित सफा पानीमा यो लामखुट्टेको जीवनचक्र सहज हुने भएकोले घरभित्र वा घर वरिपरि तथा आफ्नो कार्य थलो वरिपरि पानी संकलन हुने वातारण सृजना हुन दिनु हुदैन। प्लास्टिक, ड्रम, बाल्टिन, गाडीका फालिएका टाएरहरु आदिमा लामो समयसम्म पानी संकलन हुने हुँदा लामखुट्टे त्यस्ता ठाउँहरुमा बढी देखिने गर्दछ। र जहाँ लामखुट्टे बढी हुन्छ/देखिन्छ त्यहाँ डेंगु फैलने सम्भावना पनि बढी हुने गर्दछ।
अचानक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीर र जोर्नीमा अत्यधिक दुखाइ हुने, शरीरमा स-साना बिबिरा देखिनु (चिलाउनु), वाकवाक वा बान्ता हुनु डेंगुका मुख्य र शुरुवाती लक्षणहरु हुन। संक्रमण भएको ४ देखि १० दिनसम्ममा संक्रमितमा लक्षणहरु देखिने गर्दछ। तर संक्रमित मध्ये ७५ प्रतिशतमा भने लक्षणहरु नदेखिन पनि सक्दछ।
अधिकांश संक्रमितले घरमै स्वास्थलाभ गर्न सक्दछन्। तर कतिपय संक्रमितको स्वास्थमा जटिलता पनि देखिन सक्दछ। लेखकले केहि दिन अगाडि मात्र कस्तो अवस्था देखिए जटिलता तिर जानसक्ने संकेतको रुपमा लिने र जतिसक्दो चाँडो चिकित्सकको सम्पर्कमा रहने भनेर लेख प्रकाशित गरेको थियो। (यी पाँच 'चेतावनीमुलक' लक्षणहरु देखिए डेंगु संक्रमण जटिलता तर्फ जाँदै गरेको संकेत) डेंगु प्रकोप/महामारीमा यो जानकारी सबैभन्दा महत्वपूर्ण हुने गर्दछ।
डेंगु संक्रमितलाई मुख्यतय अधिक दुखाइले समस्या दिने गर्दछ। तसर्थ संक्रमितको रोजाइमा दुखाइ कम गर्ने औषधिहरु पर्ने गर्दछ। तर बजारमा सहजै पाइने फ्लेकसन, ब्रुफेन, एस्पिरिन (अथवा NSAIDs भित्र पर्ने औषधीहरु) जस्ता दुखाइ कम गर्ने औषधिहरुको बढी/व्यापक प्रयोग हुने गरेको पाहिन्छ। जसको प्रयोगले संक्रमितमा रक्तश्राप गराउन सक्ने सम्भावना प्रवल रहन्छ। तसर्थ चिकित्सकको परामर्श बिना कुनै पनि औषधिको प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ।
डेंगु समुदाय स्तरमा फैलिएको छ। आजको मितिसम्म पनि लामखुट्टे नियन्त्रणको लागि विशेष पहल गरेको देखिँदैन। लामखुट्टेको नियन्त्रण बिना डेंगु नियन्त्रणमा आउने सम्भावना हुँदैन। डेंगुको फैलने क्रम दशैंतिहारपछि सम्म रहने र लामखुट्टे नियन्त्रण तर्फ अझै कदम नचालिसकेकोले संक्रमितको संख्या आगामी दिनहरुमा अझै बढ्नेमा दुइ मत देखिँदैन। अर्थात् अर्को शब्दमा, दुखाइको ग्राफले आगामी दिनमा अझै उचाई लिँदै जानेछ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)