डेंगु हाल व्यापक फैलँदो छ। कोभिड बढेको भएता पनि परिवारका सबै सदस्यहरु डेंगु संक्रमित भए भनेर धेरैले परामर्शका लागि लेखकसंग सम्पर्क गर्ने गरेका छन्। यसबाट पनि कोभिडभन्दा डेंगुले नागरिकहरुलाई बढी दु:ख दिई रहेको स्पष्ट देखिन्छ। डेंगु आगामी दसैँ तिहारसम्म लम्बिन सक्नेछ।
सबै डेंगु संक्रमितमा जटिलता देखिन्छ भन्ने हुँदैन। तर जटिलता देखिए संक्रमितको ज्यान नै जोखिममा समेत पर्न सक्दछ। यी निम्न लिखित डेंगुका पाँच लक्षणहरु देखिए जटिलता तिर जान सक्ने 'चेतावनी'को रुपमा लिन सकिनेछ।
१) तारन्तार बान्ता हुनु।
२) अत्यधिक पेटको दुखाई हुनु।
३) नाक, गिजा वा शरीरका अरु ठाउँबाट (दिसा, पिसाब वा बान्ता) रगत बगेमा।
४) अलश्य वा बेचैन हुनु।
५) श्वास प्रश्वासमा तिब्रता/कठिनाई देखिनु।
यी माथि उल्लेखित समस्याका साथ-साथै चिकित्सकले शारीरिक परिक्षण गर्दा पेट/फोक्सोमा पानी जमेको, कलेजोको आकार बढेको (सामान्य भन्दा २ से.मि बढी) र रगतमा प्लेटेलेट्सको संख्यामा तीब्र गिरावट आएको पनि देखिने छन्।
यदि कसैलाई डेंगु पुष्टि भैसकेको अवस्थामा माथि उल्लेखित लक्षणहरु (समस्या) देखिए तुरुन्त चिकित्सकलाई भेटि आवश्यक उपचार गर्न जरुरी हुनेछ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)