अहो! विदेश जान लागेको हेपाटाइटिस 'बी' देखाए छ डा'साब। एक २२ वर्षीय युवकको वैदेशिक रोजगारको लागि स्वास्थ परीक्षण गर्दा हेपाटाइटिस 'बी' पत्ता लागेको थियो। त्यस्तै केही समय अगाडि एक गर्भवती महिला रगत परीक्षण गर्दा हेपाटाइटिस 'बी' संक्रमण देखेर परामर्श लिन लेखककोमा आइपुगेका थिए। अर्को एक युवक वैदेशिक रोजगार जान अनिवार्य स्वास्थ परीक्षण गर्दा हेपाटाइटिस 'सी' देखिएको थियो। यिनीहरु सबै जनालाई परीक्षण अनिवार्य गर्दा मात्र पत्ता लागेको थियो। सो समयमा संक्रमितहरुलाई कुनै स्वास्थ समस्या भने थिएन। अर्थात् परीक्षण नगरेको भए शायद हेपाटाइटिस 'बी' वा 'सी' कहिल्यै पत्ता लाग्ने थिएन होला। अझ भनौ संक्रमण संयोगले पत्ता लागेको थियो।
हरेक वर्ष जुलाई २८ को दिन 'विश्व हेपाटाइटिस दिवस' मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य भनेको हेपाटाइटिस सम्बन्धी जनचेतना बढाउनु नै हो। तर धेरैलाई यो रोगको बारेमा जानकारी नै नभएको पाहिन्छ। यसको ठिक बिपरित हेपाटाइटिस 'बी' संक्रमण भएको थाहा पाएर अरुले (साथीभाई-समक्ष) छिछि र दुरदुर गर्ने गरेको संक्रमितहरुको भनाइ छ। यस्ता उदाहरणहरुले पनि समाजमा हेपाटाइटिस 'बी' बारेमा भ्रम कति व्यापक रहेछ भन्ने पनि बुझिन्छ। अझ कतिपयको बुझाई भनेको हेपाटाइटिस 'बी'एचआइभी/एड्स भन्दा पनि डरलाग्दो हो भन्ने बिश्वास छ। केही दिन अगाडी एक हेपाटाइटिस 'बी' संक्रमित आफू कार्यरत ठाउमा बस्ने र खाने स्थान नै छुट्टै हुने गरेको भनेका थिए।
हेपाटाइटिस 'बी'संक्रमण सामान्यतय संक्रमित आमाबाट नवशिशुमा, संक्रमितको रगत लागेको तिखो/धारिलो बस्तु वा सिरिजले घोचिएमा,यौन सम्पर्क आदीबाट सर्ने गर्दछ। हेपाटाइटिस 'बी'को भाइरस कम्तिमा एक हप्तासम्म शरीर बाहिर जीवित रहन सक्छ। यो अवधिमा भाइरस संक्रिय हुने भएकोले खोप नलगाएका व्यक्तिको शरीरमा प्रवेश गरे संक्रमण गर्न सक्नेछ। हेपाटाइटिस 'बी'भाइरसले बयस्क अवस्थामा संक्रमण गरेको रहेछ भने ५ प्रतिशत भन्दा कम र सानो उमेरमा नै संक्रमित रहेछ भने ९५ प्रतिशत संक्रमितहरु दिर्घ हेपाटाइटिस 'बी'को रोगी हुने सम्भावना बढी रहन्छ। कोभिड महामारी भन्दा अगाडी लेखकले दैनिक जसो नया हेपाटाइटिस 'बी'संक्रमितलाई परामर्श दिने गरेको थियो। सम्भवत बैदेशिक रोजगार जानेको लहर बढ्दै जादा संक्रमितको तथ्यांक पनि बढ्दै गएको देखिन्छ।
हेपाटाइटिस 'सी' बिशेषत बिगतमा एकै सिरिज/सुइ धेरैले प्रयोग गर्नेहरु माझ बढी देखिने गरेको पाहिन्छ। यसबाट पनि थाहा हुन्छ हेपाटाइटिस 'सी' फैलने मुख्य मध्यम भनेको रगत नै हो। संक्रमितले गरेको रक्तदानबाट पनि अरुलाई सर्ने गर्दछ।सहबासबाट पनि संक्रमण सर्ने भएता पनि तुलनात्मक रुपमा रगतबाट भन्दा कम केश नै देखिने गरेको पाहिन्छ।
हेपाटाइटिस 'बी'संक्रमण हुन नदिनको लागि खोप लगाउन सकिन्छ। खोप सुरक्षित र प्रभाबकारी छ। खोप नेपालमा नियमित 'बाल खोप तालिकामा' समाबेश भएकोले भविष्यमा संक्रमण संख्या ओरालो लाग्नेछ। तर सो 'बाल खोप तालिकामा' सन् २००२-२००४ भन्दा अगाडी समाबेश नभएको वा अनिवार्य नहुदा सो समय भन्दा अगाडी जन्मिएकाहरुलाई भने हेपाटाइटिस 'बी'संक्रमणको जोखिम अझै पनि छ भन्दा फरक नपर्ला। यदि संक्रमण भइहालेमा पनि हाल भाइरल लोड कम गर्ने बिभिन्न प्रभावकारी औषधीहरु छन र सहजै पनि पाहिन्छ। औषधिको मुख्य उदेश्य भनेको भाइरसलाई नियन्त्रणमा राख्नु हो। हेपाटाइटिस 'सी' बिरुद्ध भने खोप हालसम्म उपलब्ध छैन। तर संक्रमण बिरुद्ध अतिनै प्रभाबकारी मानिने औषधीहरु विकास भने भएको छ।हेपाटाइटिस 'सी' विरुद्धको 'डाईरेक्ट एक्टिंग एन्टीभाइरल ' औषधी नेपालमा पनि सर्वसुलभ पाइन्छ।
नेपालमा हेपाटाइटिस 'बी' र सी' को वास्तविक तथ्यांक भने छैन। यसको मुख्य कारण भनेको अधिकांश संक्रमित लक्षण बिहिन हुनु र परीक्षण अनिवार्य हुदा मात्र थाहा पाउनु हो। हेपाटाइटिस 'बी'र 'सी' दिर्घ रोगमा परिणत भए क्यान्सरसम्म हुन सक्ने सम्भावना रहन्छ।तर अग्रिम पहिचान गर्न सके भने यसबाट हुने जटिल अवास्थाबाट भने बच्न सक्दछौ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)