नेपालमा केहि दिन अगाडि ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता 'बिए.५' उपप्रजातिको पुष्टि भएको छ। लेखकले यो भाइरसलाई 'अल्ट्राफास्ट भाइरस' को उपनाम दिएको छ। किनभने यो अहिलेसम्मकै कोरोना भाइरसहरु मध्यमा छिटो फैलन सक्ने क्षमता भएको भाइरस मानिएको छ।
तेस्रो लहरको कारक मानिने ओमिक्रोनको लक्षणहरु फ्लूसँग धेरै मिल्दो जुल्दो थियो। ओमिक्रोन लहर भन्दा अगाडि स्वाद वा गन्धमा देखिएको समस्याको आधारमा कोरोना छुट्याउन धेरै हदसम्म सहज हुने गर्दथ्यो यद्धपि पुष्टि भने पिसीआर प्रविधिबाट नमुनाको परिक्षण गरेपछि नै हुने हो।
पछिल्लो समय विश्वमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ताहरु 'बिए.४' र 'बिए.५' उपप्रजातिहरुले अघिल्लो पुस्ताका उपप्रजातिहरुलाई तिब्र विस्थापित गर्दै गैरहेको छ। 'बिए.४' र 'बिए.५' पनि ओमिक्रोन भेरियन्ट नै भएकोले अधिकांश लक्षणहरु मूल ओमिक्रोनमा जस्तै देखिने गरेको छ र यो स्वाभाविक पनि मानिन्छ।
तर नेपालमा फ्लूले पनि केहि दिन यता विस्तारै आफ्नो उचाई लिँदै गर्दा तेस्रो लहरमा जस्तै संक्रमितहरुमा 'कोरोना कि फ्लू' भन्ने अन्यौलतामा रहनु पर्ने देखिनेछ। तर चाखलाग्दो कुरा के छ भने तिब्र गतिमा फैलदै गैरहेको 'बिए.५' संक्रमितमा पनि स्वाद अथवा गन्धमा ह्रास हुने समस्या देखिएको भन्ने जानकारीहरु आइरहेका छन्।
फ्रेन्च स्वास्थ अधिकारीहरुले हालै प्रकाशित गरेको जानकारी अनुसार 'बिए.४' र 'बिए.५' संक्रमितहरुमा मूल ओमिक्रोनमा भन्दा बढी 'स्वाद अथवा गन्धमा' ह्रास देखिने समस्या देखिएको भनेका छन्। केहि दिन अगाडि एक कोरोना संक्रमित युवाले आफूले स्वाद थाहा पाउन छोडेको भनेर लेखकलाई भनेका थिए। लेखकले यस्तो समस्या दोस्रो लहर पछि पहिलो पटक सुनेको हो। केहि संक्रमितले अत्यधिक पसिना आउने सिकायत समेत गरेका थिए। यी दुइ थप लक्षणहरु 'बिए.४' र 'बिए.५' संक्रमितहरुमा देखिने गरेको विभिन्न देशका स्वास्थकर्मीहरुको भनाइ पनि रहेका छन्।
कोरोनाको हलमार्क मानिने 'स्वाद अथवा गन्ध थाहा नपाउने समस्या' ओमिक्रोनको लहरसंगै ब्रेक लागेको थियो। तर ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता 'बिए.५' को उदयसँगै 'स्वाद अथवा गन्धमा ह्रास हुने समस्या'ले कम्ब्याक गरेको त होइन भन्ने प्रश्न/ जिज्ञासा उब्जाएको देखिन्छ। यदी यसो हो भने कोरोनालाई फ्लू/रुघाखोकीबाट छुट्याउन केहि सहज भने हुनेछ। तर कतिपयले 'स्वाद अथवा गन्ध थाहा नपाउने समस्या' खासै नदेखिएको पनि भनेका छन। तसर्थ 'बिए.५' ले 'स्वाद अथवा गन्ध थाहा नपाउने समस्या' देखिने/ नदेखिने स्पष्ट हुन अरु केहि समय कुर्नु पर्ने भने देखिन्छ।
अहिले कोरोना संक्रमितहरुमा मुख्यतय घाँटी दुख्न/असहज हुने, नाकबाट पानी बग्ने/ बन्द हुने, थकित हुने, खोकी लाग्ने, ज्वरो/जाडो हुने, टाउको तथा शरीरका मांशपेशीका दुख्ने जस्ता समस्याहरु देखिएका छन्। यी बाहेक थप स्वाद अथवा गन्ध थाहा नपाउने तथा अत्यधिक पसिना आउने भएमा त्यो 'बिए.५' को संक्रमण पनि हुन सक्नेछ।
(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)