काठमाडौं– बालबालिकाको मुस्कानले जोकोहीलाई आकर्षित गर्छ। परिचित मात्र होइन, अपरिचित बालबालिकालाई मुस्कुराइरहेको देख्दा पनि तपाईं–हाम्रो अनुहारमा आफैं खुसी छचल्किन्छ। त्यसैले होला सबैले बालबालिकालाई खुसी भएको देख्न चाहन्छन्।
तर, डा मधुसुदन पुनले भने अधिकांश समय रोइरहेका बालिबालिका मात्र देखेर बहिरंग सेवामा रहँदा होस् वा शल्यक्रिया अघि वार्डमा भर्ना भएका बालिबालिका नै किन नहुन् चिकित्सकीय अभ्यासका क्रममा उनले सुरुमा भेटेका धेरै बालबालिका रोदन र मलिनो अनुहारमा हुन्थे। दुखाई र पीडामा रहेका बालबालिकालाई उनी हँसिलो अनुहार बनाउँदै उपचार प्रक्रिया अगाडि बढाउँथे।
डा पुन बाल शल्यचिकित्सक हुन्। चिकित्सकीय अभ्यासका क्रममा उनले हजारौं बालबालिकाको शल्यक्रिया गरे। रुँदै आइरहेका बालबालिकाहरु शल्यक्रिया सफल भएर निको भइसकेपछि मुस्कुराउँदै अभिभावकसँग घर फर्केको क्षण डा पुन निकै हर्षित हुन्थे।
‘रोग तथा समस्याले च्यापेका बालबालिका जब शल्यक्रिया र आवश्यक उपचारपछि निको भएर हाँस्दै घर जान्छन् नि! त्यो क्षण निकै खुसी लाग्छ,’ डा पुन भन्छन्, ‘त्यो खुसीलाई म कुनै शब्दमा बयान नै गर्न सक्दिनँ।’
कान्ति बाल अस्पतालका बाल सर्जन डा मधुसुदन पुन हाल अवकाश पछिको जीवन विताइरहेका छन्। उनी हाल पारिवारिक तथा साथीभाइसँगको जमघटमा रमाइरहेका हुन्छन्।
स्वास्थ्य सहायक (एचए)को रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका डा पुनले बाल रोग विशेषज्ञ हुँदै बाल रोग सर्जनको रुपमा स्वास्थ्य क्षेत्रमा करिब ४ दशक काम गरेका छन्।
डा पुनले जन्मेदेखि १४ वर्ष सम्मका नवजात शिशु तथा बालबालिकाको सर्जरी गरेका छन्।
डा पुनले कान्ति बाल अस्पतालमा रहँदा बच्चाको (जिआई) दिशा–पिसाब खुलाउन गरिने सर्जरी, फोक्सो, हाडजोर्नी, न्युरो सर्जरी, अर्थोपेडिक्स सर्जरी, आँखा, नाक, कान र घाँटीसम्बन्धी सामान्य सर्जरीहरु गरेका छन्।
०००
डा पुन २०१९ साल बैशाख २१ गते गुल्मीमा जन्मिएका हुन्। पुनले भार्से जनसहयोग माध्यमिक विद्यालयमा एसएलसीसम्म अध्ययन गरे।
२०३३ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका पुन २०३४ सालमा थप अध्ययनका लागि दाइहरुसँगै काठमाडौं आए।
घर नजिकको हेल्थसेन्टर देखेर डाक्टर बन्ने रहर
घरमा ४ दाजुभाइमध्ये पुन कान्छा थिए। भार्सेमा उनको घर नजिकै हेल्थ सेन्टर थियो। हेल्थ सेन्टरमा रहेका स्वास्थ्यकर्मी नै त्यतिबेला डाक्टर सरह थिए।
स्वास्थ्यकर्मीले बिरामीलाई उपचार गरेको देख्दा पुनलाई पनि ठूलो भएर बिरामीको उपचार सेवा गर्ने रहर थियो। उनी पनि डाक्टर बन्ने सपना लिएर दाइहरुसँगै काठमाडौं आए।
‘त्यतिबेला त हेल्थ असिस्टेन्ट पनि डाक्टर, अहेब पनि डाक्टर थिए,’ डा पुनले हाँस्दै भने, ‘एमबिबिएस वा एमडी भन्ने थाहै थिएन, स्वास्थ्यकर्मी भने पनि डाक्टर भन्ने बुझिन्थ्यो। त्यस्तै डाक्टर बन्ने योजनाले दाइहरुको पछि लागेर काठमाडौं आएँ।’
पुनले २०३४ सालमा चिकित्साशास्त्र अध्ययन संस्थान् (आईओएम)मा हेल्थ असिस्टेन्ट कोर्ष अध्ययनका लाथि प्रवेश परीक्षा दिए। परीक्षा उत्तीर्ण पनि गरे। तर अध्ययन कोटामा महाराजगञ्जमै उनको पालो आएन। त्यतिबेला साउन र माघ गरेर दुई सेमेस्टारमा अध्ययन हुन्थ्यो। माघ सेमेस्टारमा मात्र पढ्न सिट पाउने देखिएपछि उनी गाउँ फर्किए।
आफैंले पढेको स्कुलमा पढाए, तलब २२५ रुपैयाँ
पुन स्कुल पढ्दादेखि नै राम्रो विद्यार्थीको रुपमा गनिन्थे।
गाउँमा गएपछि उनले आफैले पढेको भार्से जनसहयोग माध्यमिक विद्यालयमै पढाउने अवसर पाए।
उनको जीवनको पहिलो जागिर शिक्षकको रुपमा सुरु भयो। त्यतिबेला शिक्षण गरेर पाएको तलब पुनलाई अझै सम्झना छ।
उनले भने, ‘महाराजगञ्जमा पढ्न नपाएपछि गाउँमा गएर आफैले पढेको स्कुलमा पढाउन थाले, त्यतिबेला मेरो तलब २२५ रुपैयाँ थियो।’
६ महिना त्यहाँ पढाएपछि उनी अध्ययनका लागि फेरि काठमाडौं आए। २०३४ माघदेखि महाराजगञ्जमा हेल्थ असिस्टेन्टको अध्ययन सुरु भयो।
होस्टेल शुल्क मासिक ५ रुपैयाँ, खाना ९० रुपैयाँ
अहिले उच्च शिक्षा अध्ययनका लागि एमबिबिए तथा विडिएस मात्र होइन, एचए लगायतका अध्यनन लागि पनि ५ लाख भन्दा बढी शुल्क लाग्छ। यस्तै, होस्टेल र खाना लगायतमा पनि उत्तिकै खर्च हुन्छ। तर, २०३० को दशकमा भने अध्ययन शुल्क र अन्य शुल्कहरु धेरै कम थियो।
‘होस्टल शुल्क महिनामा ५ रुपैयाँ थियो, खाना महिनाको ९० रुपैयाँ थियो,’ पुनले आफ्नो विद्यार्थीजीवन सम्झिँदै भने, ‘२ सय रुपैयाँ स्टावेन पाइन्थ्यो, त्यो पैसाले काठमाडौंमा बसेर पढ्न मज्जाले पुग्थ्यो।’
साढे २ वर्षको हेल्थ असिस्टेन्ट कोर्ष ५ सेमेस्टारमा पूरा हुन्थ्यो। २०३७ सालमा हेल्थ असिस्टेन्ट कोर्ष अध्ययन पूरा गरे।
पहिलो पटकको स्वास्थ्यसेवाः ४ दिन हिँडेर स्वास्थ्यचौकी पुगे
हेल्थ असिस्टेन्ट कोर्ष अध्ययन पुरा गरेपछि उनको पहिलो पोस्टिङ मुस्ताङको टुकुचेमा भयो।
उनको पोस्टिङ भएको हेल्थपोस्ट भर्खरै मात्र खोलिएको थियो। स्वास्थ्यकर्मीको रुपमा सेवा सुरु गर्दा ४ दिन हिँडेर हेल्थपोस्टमा पुगेको उनलाई अझै स्मरण छ। हेल्थ असिस्टेन्टको रुपमा पहिलो पोष्टिङ हुदाँ ५३५ रुपैयाँ मासिक तलब थियो उनको।
‘असारको महिना पोखराबाट मुस्ताङको टुकुचे पुग्न ४ दिन लाग्यो,’ उनले भने, ‘त्यो बेलामा मेरो तलब ५३५ रुपैयाँ थियो, दुर्गम भत्ता १०० प्रतिशत र एकीकृत भन्ने अर्को पनि थियो। सबै गरेर १२ सय हुन्थ्यो। त्यति पैसा भए मलाई पुग्थ्यो।’
अस्थायी नियुक्त लिएर मुस्ताङको टुकुचेमा भर्खरै सुरु भएको हेल्थपोस्टबाट उनले आफ्नो करिअर सुरु गरे। टुकुचेमा हेल्थपोस्टमा दम, झाडापखाला, क्षयरोग र घरायसी कामका क्रममा विभिन्न कारणले चोटपटक बोकेका बिरामीहरु बढी आउँथे।
मुस्ताङमै कार्यरत हुँदा एमबिबिएस अध्ययनका लागि काठमाडौं आएर आवेदन दिएका थिए। निःशुल्क अध्ययनका लागि एउटा मात्रै सिट थियो। उनले पाएनन्।
मुस्ताङमा १ वर्ष काम गरेपछि उनी सेभ द चिल्ड्रेनको कार्यक्रममार्फत् सुर्खेतमा गए। सुर्खेतमा २ वर्ष काम गरे। त्यसपछि २०४१ सालमा स्थायी नियुक्ती लिएर सल्यान पुगे। सल्यानको हेल्थपोस्टमा ४ महिना काम गरेपछि एमबिबिए अध्ययनका लागि उनी फेरि काठमाडौं आए।
पुनले हेल्थ असिस्टेन्टको रुपमा ३ वर्ष सेवा अवधि पूरा गरेपछि महाराजगञ्जबाट २०४१ सालमा एमबिबिएस अध्ययन सुरु गरे।
त्यतिबेला उनले पेइङमार्फत् नै एमबिबिएस अध्ययन गरे। तर एमबिबिएस अध्ययनका लागि पनि महिनामा ४८ रुपैयाँ मात्र शुल्क तिरेको पुनले सुनाए।
उनले भने, ‘एमबिबिएस पढ्दा ४० रुपैयाँ मासिक शुल्क, होस्टलको ५ रुपैयाँ नै थियो, सेवाकालीन पढ्न आएपछि त्यति समस्या भएन।’
करिब ६ वर्षमा एमबिबिएस अध्ययन पूरा गरेपछि २०४८ सालमा मेडिकल अफिसरको अस्थायी नियुक्ति लिए। त्यतिबेला उनको स्थायी जागिर हेल्थ असिस्टेन्टको भएपनि मेडिकल अफिसरको अस्थायी नियुक्ति लिएर मानसिक अस्पताल पाटनबाट चिकित्सकको रुपमा बिरामीलाई उपचार सेवा दिए।
त्यतिबेला उनले मेडिकल अफिसरको रुपमा काम गर्दा १७ सय मासिक तलब पाए।
पाटन अस्पतालमा ६ महिना काम गरेपछि स्थायी रुपमा मेडिकल अफिसर भए, र महाराजगञ्जको कान्ति बाल अस्पतालमा काम गर्न सुरु गरे।
कान्तिमा गएपछि बाल रोग विशेषज्ञ हुने सोच
कान्ति बाल अस्पतालमा काम गर्न थालेपछि डा पुनलाई बाल रोग विशेषज्ञ नै बनेर काम गर्ने सोच आयो।
त्यतिबेला बाल रोग विशेषज्ञ बन्न चाहने चिकित्सकले एमबिबिएस पछि डिसिएच अर्थात् पोस्ट ग्रयाजुएट डिप्लोमा इन चाइल्ड हेल्थ अध्ययन गर्ने गर्थे। डा पुनले पनि कान्ति बाल अस्पतालमा कार्यरत रहँदा नै डिसिएच गरेर बाल रोग विशेषज्ञ बने।
‘कान्ति अस्पतालमा दरबन्दी भएपछि बाल रोग विशेषज्ञ नै पढ्न मनलाग्यो, त्यतिबेला डिसिएच गरेर बाल रोग विशेषज्ञ भइन्थ्यो, मैले पनि एक वर्षको डिसिएच कोर्ष गरेँ,’ उनले सुनाए।
डिसिएच अध्ययन गरेपछि २०५२ सालमा बैतडी गए। १ वर्ष बैतडी बसेपछि उनी फेरि कान्ति बाल अस्पतालमा नै फर्किए।
मेडिकल अफिसर हुँदादेखि नै सर्जरी सेवामा
डा पुन कान्ति बाल अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गर्दादेखि नै जनरल पेडियाट्रिक सर्जरीमा सरिक थिए। सर्जरीमा जनशक्ति एकदमै कम भएकाले उनले सर्जरीमै काम गर्नुपर्ने अवस्था आयो। सर्जरी विभागमा काम गर्दैगर्दाै त्यहाँ कार्यरत बाल सर्जनले अवकाश पाएपछि उनले कान्ति बाल अस्पतालको पेडियाट्रिक सर्जरी विभागको रजिस्ट्रार भएर समेत काम गरे।
‘सर्जनहरु रिटार्यड भएपछि मेडिकल अफिसर नै भएपनि सर्जरी गरेँ,’ उनले भने, ‘त्यतिबेला मैले कामचलाउ गरेको थिएँ, बच्चाहरुको जनरल सर्जरी हुन्थ्यो।’
उनी छात्रवृत्तिमार्फत पेडियाट्रिक सर्जरी अध्ययनका लागि चीन गए।
२०६२ पेडियाट्रिक सर्जन भएर नेपाल आएका डा पुनले त्यसयता निरन्तर कान्ति बाल अस्पतालमा रहेर काम गरे।
डा पुनले गत कात्तिकमा शैक्षिक प्रमाणपत्र र नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा उमेरहदका कारण अवकाश पाइसकेका छन्।
बालबालिकाको सर्जरी सामान्य केस होइन
लामो समय बालबालिकाको सर्जन बनेर अवकाश जीवन बिताइरहेका डा पुनले धेरै बालबालिकाको सर्जरी गरेका छन्।
पुन आफ्नो अनुभव सुनाउँछन्, ‘बालबालिकाको सर्जरी जुनसुकै भएपनि मेजर सर्जरी हो।’
बालबालिकाको जुनसुकै सर्जरीमा पनि बेहोस् नगरी नहुने उनले बताए।
‘बालबालिकाले बुझ्दैनन्, जे गरेपनि रोइदिन्छन्, त्यसैले बच्चाहरुको जुनसुकै सर्जरीलाई मेजर सर्जरीको हिसाबले प्रिकसन लिन्छौ,’ उनले भने, ‘बेहोस् नै बनाएर सर्जरी गरिन्छ।’
बालबालिकाको सर्जरी गर्दा एनेस्थेसिया लिनैपर्ने बाध्यताका कारण सर्जरीको कम्प्लिकेसन सँगै एनेस्थेसियाका कारण पनि कहिलेकाँही कम्प्लिकेसन हुनसक्ने उनले सुनाए।
बालबालिकाको सर्जरी गर्दा बाल सर्जनले मात्रै ध्यान दिएर नहुने उनको भनाइ छ।
उनी भन्छन्, ‘बालबालिकाको सर्जरी गर्दा एनेस्थेसियोलोजिस्ट, नर्स, सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ, बालबालिकाको सर्जरी सर्जन मात्र होइन, सम्पूर्ण टिम नै जिम्मेवार हुनुपर्ने हुन्छ।’
‘मैले सर्जरी गरेका बच्चा अहिले बाबु भए, आफ्ना बच्चाको केस लिएर आउँछन्’
डा पुनले आफ्नो करिअरमा मेजर र माइनर गरी थुप्रै बालबालिकाको सर्जरी गरेका छन्। हजारौं बालबालिकाको सर्जरी गरेका डा पुनलाई आफूले सर्जरी गराएका सबै बिरामी बालबालिका याद छैनन्।
तर उनले सर्जरी गरेका बालबालिका अहिले ठूलो भएर आफ्नो बच्चाको सर्जरी गर्न आउने गरेको उनले सुनाए।
‘मैले अपरेशन गरेको बच्चाहरु अहिले बाउ भएर, आफ्नो बच्चालाई अपरेशन गर्न ल्याएका छन्,’ डा पुन सुनाउँछन्, ‘कतिपयले बच्चालाई जचाउन पनि ल्याएका छन्, यस्ता घटनाहरु त थुप्रै छन्।’
आफूले सर्जरी गरेको बिरामी बच्चा ठूलो भएर आफ्नो बच्चा लिएर फेरि सम्झदै आउदा आफूलाई खुसी लाग्ने गरेको डा पुनले सुनाए।
‘आनन्द आउने, खुसी लाग्ने कुरा नै त्यहि हो,’ पुनले सन्तुष्ट हुँदै भने, ‘मेरो पनि अपरेशन गर्नुभएको थियो भन्दै बच्चा लिएर आउनेहरु देख्दा आफ्नो पेसाप्रति सन्तुष्ट महसुस हुन्छ।’
‘कान्ति अस्पतालमा भौतिक रुपमा विकास भएको छ’
डा पुनले कान्ति बाल अस्पतालमा मेडिकल अफिसर र बाल रोग विशेषज्ञ तथा बाल सर्जन भएर २५ वर्ष भन्दा बढी समय बिताएका छन्। डा पुन कान्ति बाल अस्पताल भौतिक रुपमा विकास भएको बताउँछन्।
तर, कर्मचारीको व्यवस्थापन भने सिस्टममा नभएको पुनले बताए। अस्पतालमा सेवाभावले खटिने स्वास्थ्यकर्मी र चिकित्सक भन्दा युनियनहरुको झुण्ड बढी रहेको डा पुनको तर्क छ।
‘भौतिक रुपमा सुधार भएको छ, तर अनुशासन पटक्कै छैन, अनेक थरीका युनियनहरु छन्,’ उनले थपे, ‘कान्तिमा मात्र होइन, सरकारी अस्पताल जहाँसुकै संगठनहरु छन्। अनुशासन छँदैछैन।’
जनशक्ति छन्, तर मिसम्यानेज छ
कान्ति बाल अस्पतालमा डा पुनले सेवा सुरु गर्दाको समयमा नेपालमा बाल रोग विशेषज्ञ तथा बाल रोग सर्जनहरु निकै नै कम थिए। यस्तै अस्पतालमा खटिने अन्य स्वास्थ्यकर्मीहरुको अभाव पनि उत्तिकै थियो। पहिलोको तुलनामा अहिले देशमा दक्ष जनशक्तिको उत्पादन बढेको छ। तर, उपलब्ध जनशक्तिको अस्पतालमा पदपूर्ति तथा व्यवस्थापन भने राम्रोसँग नभएको डा पुनको बुझाइ छ।
‘अहिले जनशक्ति त छ, तर मिसम्यानेज छ,’ उनी भन्छन्, ‘अहिले पेडियाट्रिक सर्जनहरु २०/२५ जना छन्, थुप्रै ठाउँमा पेडियाट्रिक सर्जनको दरबन्दी पनि छ, तर व्यवस्थापन हुन सकेको छैन।’
प्रति १०० जना बालबालिका बिरामी हुँदा १० जना बालबालिकाको सर्जरी सम्बन्धी केस हुने डा पुनले बताए। जसले गर्दा सरकारको प्राथमिकता सर्जरीसम्बन्धी केसहरुमा नभएको डा पुनले बताए।