काठमाडौं - कुनै उपकरणको प्रयोग र अपरेशन (शल्यक्रिया) बिना आफैं प्रसव बेथा लागेर योनी मार्गबाट शिशु जन्मनुलाई सामान्य डेलिभरी भनिन्छ। तर विभिन्न स्वास्थ्य अवस्था र जटिलताका कारण पेट चिरेर शिशुलाई जन्म दिनु सिजेरियन सेक्सन (शल्यक्रियाबाट प्रसूति) अर्थात् 'सिएस' हो।
हाल सिएस गरेर बच्चा जन्माउने क्रम बढ्दो छ। तसर्थ सिएस गर्नु आफैंमा जोखिमपूर्ण अवस्था पनि हो। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट डा सन्देश पौडेलसँग हामीले सिजेरियन सेक्सनको बारेमा थप बुझ्ने प्रयास गरेका छौँ।
उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
सिजेरियन सेक्सन (सिएस) भनेको के हो ? यो कुन अवस्थामा गरिन्छ ?
– पेटमा भएको बच्चालाई चिरेर निकाल्ने प्रक्रियालाई सिएस भनिन्छ।
– सिएस गर्नुमा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थामा निर्भर गर्छ।
– बच्चा निस्कने बाटो सानो भए वा बच्चा ठूलो भएमा सिएस गर्नुपर्ने हुन सक्छ।
– औषधि चलाउँदा बेथा नलागे, पाठेघरको मुख खुलेन, साल तल भएको अवस्थामा पनि सिएस गर्नुपर्ने हुन्छ।
– पहिले अपरेशन गरेका महिलाको पुनः सिएस गर्नुपर्ने पनि हुन्छ। यो सबैलाई अनिवार्य होइन।
– बच्चाको धड्कन गडबडी भए, बच्चाले पेटभित्र दिसा गरे या दिसा खाएपनि सिएस गर्नुपर्ने हुन्छ।
एउटा महिलाले कति पटकसम्म सिएस गरेर बच्चा जन्माउन मिल्छ?
– यति पटकसम्म मात्र सिएस गर्न मिल्छ भनेर तोक्न त मिल्दैन। तर हामीले जोखिमको बारेमा भन्ने हो।
– एक पटक सिएस गरेपछि छिटो बच्चा नपाउन हामीले सुझाव दिन्छौँ।
– सामान्यतया १८ महिनाअघि बच्चाको योजना नबनाउन सुझाव दिन्छौँ। तर ४ देखि ५ वर्षको ग्याप राख्दा राम्रो हुन्छ।
– एक पटक सिएस गरेपछि दोस्रो पटक गर्भवती हुँदा सिलाएको ठाउँ फुट्न सक्ने डर हुन्छ।
– यो डर लगातारको गर्भवती अवस्थामा बढ्दै जान्छ।
– दुई/तीन पटक नै सिएस भएको छ भने साल तल आउने, अपरेशन गरेको ठाउँमा साल जोडिएर बसेको हुन सक्छ। यसले सिएस गर्दा धेरै रगत बग्न सक्ने र पाठेघर नै झिक्नुपर्ने अवस्था पनि आउन सक्छ।
– सिएस जति पटक धेरै भयो जोखिम पनि उत्तिकै मात्रामा बढ्दै जान्छ। आमाको मृत्यु पनि हुन सक्छ।
सिजेरियन सेक्सन गरेपछि के कुरामा ध्यान दिनुपर्छ?
– सिएस गरेपछि महिलालाई तत्काल र दीर्घकालीन हेरचाहको आवश्यक पर्छ।
– घाउहरु पाक्ने भएकाले केही समस्या देख्ने बित्तिकै अस्पताल जानुपर्छ।
– एक पटक सिएस गरेपछि डेलिभरीको समयबीच ग्याप राख्नुपर्छ।
सिजेरिएन सेक्सन गर्दा के कस्तो जोखिमहरु हुन सक्छन्?
– कतिपय महिलाहरुले सामान्य रुपमा भन्दा सिएस नै रोज्छन्। तर यसका पनि जोखिमहरु छन्।
– सामान्य डेलिभरीभन्दा सिएस गर्दा आमाको मृत्यु हुन सक्ने या समस्या आउन सक्ने संभावना तीनदेखि चार प्रतिशतले बढ्छ।
– रगत बढी बग्ने, रगत ट्रान्सफ्युजन गर्नुपर्ने, संक्रमण हुन सक्ने, घाउ पाक्न सक्ने, छातिमा संक्रमण हुने संभावना पनि बढ्छ।
– खुट्टाको रगतको नली ब्लक हुने जोखिम पनि बढेर जान्छ।
– सिएस गरेको भन्दा नरमल डेलिभरी हुनेहरुको बच्चाको स्वास्थ्य तुलनात्मक रुपमा राम्रो हुन्छ।
– सिएस गरेका बच्चाहरुमा श्वासप्रश्वास सम्बन्धी समस्याहरु देखिने गरेको छ।
नेपालमा सिजेरियन सेक्सन गर्ने क्रम बढेको हो?
– हो। अहिले तुलनात्मक रुपमा सिएस गर्ने क्रम बढेको छ।
– डब्लुएचओले सिजरियन सेक्सन दर १५ प्रतिशतभन्दा बढी हुनु हुँदैन भन्छ।
– यही प्रसूति गृह अस्पतलमा पनि झण्डै ३० देखि ३५ प्रतिशतसम्म सिएस हुन्छ।
– पाँच जनामध्ये एक जनाको सिएस हुने गर्छ।
– १० देखि १५ प्रतिशतसम्म मात्र विशेष अवस्थामा सिएस हुनुपर्ने हो।
नेपालमा सिजेरियन सेक्सन किन बढ्दो छ?
– सिजेरियन सेक्सन ग्रामीणभन्दा शहरी क्षेत्रका अस्पतालका बढी देखिन्छ।
– यही प्रसूति गृह अस्पतालमा रिफरल र जटिल खालका केसहरु आउँछन्। जुन सिएस गर्नुपर्ने खालका हुन्छन्।
– पहिले सिएस गरेका महिलाहरुले दोस्रो पटक पनि सिएस नै गरेको पाईन्छ। यो अनिवार्य होइन। तर यसको मापदण्ड पुग्नुपर्ने हुन्छ।
– पहिलो सिएस गरेका महिलाले दोस्रो पटक प्राकृतिक रुपमा बच्चा जन्माउँदा धेरै विशेषज्ञ निगरानीको आवश्यक पर्छ।
– यी कारणले पनि पहिले सिएस गरेका ९० प्रतिशतभन्दा बढी महिलाले दोस्रो पटक पनि सिएस नै गरेको पाउँछौ।
– कतिपय अवस्थामा चिकित्सकले पनि रिस्क लिन चाँहदैनन्।
– सिएसको क्रम सरकारीमा भन्दा पनि निजी स्वास्थ्य संस्थामा बढी छ।