काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी दैनिक बढ्न थालेका छन्।
आइतबार मात्र झाडापखालाका १० जना बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ।
यसअघि गत बिहीबार एकैदिन २२ जना झाडापखालाका बिरामीले उपचार गराएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।
हाल दैनिक कम्तीमा पनि ५÷६ जना झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। गएको तीन महिनामा मात्र ४२५ जना झाडापखालका बिरामीले शुक्रराज अस्पतालमा उपचार गराएका छन्।
चैतमा ११६, वैशाखमा १६२ र जेठमा १४७ जनाले उपचार गराएको सूचना अधिकारी गौतमले बताए। मनसुन सुरु भएपछि वर्षेनी झाडापखाला, आऊँ, हैजा, टाइफाइड, स्क्रबटाइफस, पेट सम्बन्धी र अन्य सरुवा रोगको समस्या देखिने गरेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए।
प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका बिरामीहरु देखिने गरेको उनले बताए। काठमाडौंमा थुप्रिएको फोहोर समयमै नउठ्दा पनि झाडापखाला, हैजा लगायत सरुवा रोगको जोखिम बढाएको उनले बताए।