डा गोपालरमण शर्मा कुशल न्युरो सर्जन हुन्। उनको चिकित्सकीय सेवा पाएका बिरामी उनलाई सर्जन मात्रै नभइ सज्जन पनि भन्छन्। त्यसैले दशैंमा टीका थाप्न आउनेदेखि दही लिएर आउने बिरामी प्रशस्तै छन्। किनभने नशा बन्द भएर जीवन नै बन्द हुने अवस्थामा पुगेका कतिको नशासँगै नयाँ जीवनको बाटो खोलिदिएका छन्। ट्युमर भएर भारी लागिरहेको कतिको जिन्दगीलाई हलुंगो बनाएका छन्।
अहिलेका यी नामी न्युरो सर्जनलाई खाशमा न्युरो सर्जन बन्नु थिएन। लोकसेवाबाट मेडिकल अधिकृतमा नाम निकालेपछि वीर अस्पतालमा खटाइएका थिए। र, उनको सपना थियो जनरल सर्जन बन्ने। तर, परिस्थितिले उनलाई न्युरो सर्जनको बाटोतिर डोर्यायो। भन्छन्, ‘त्यतीबेला सर्जरी विभाग खाली थिएन, ६ महिनाका लागि न्युरो सर्जरीमा काम गर्न पठाइयो।’ त्यो ६ महिनाले उनको जीवनकै लक्ष्य मोडिदियो। उनमा न्युरोप्रति रुची बढ्दै गयो, आफ्नो आवश्यकता पनि न्युरोमै रहेको महशुश गरे। अहिले उनी नेपालका उत्कृष्ट न्युरो सर्जनमध्ये पर्छन्। थुप्रै जटिल केश सल्टाएका छन्, थुप्रैलाई पुनर्जीवन दिएका छन्। तीमध्ये उनले सर्जरी गरेका ५ बिरामी हामीले सम्झिन लगाएका छौं।
दही बोकेर दशैंमा आउँछन् जो
झण्डै २५–२६ वर्षअघि डेढ वर्षको बच्चा ५ तलाको घरबाट खसेपछि उपचारका लागि वीर अस्पतालमा ल्याइएको थियो। भक्तपुर निवासी अवाले थरका ती बालकको टाउकोमा चोट लागेकाले तत्काल सर्जरी गर्नुपर्ने भयो। डा शर्मा बाहेकको विकल्प थिएन। त्यसअघि न्युरो सर्जन डा गंगोलको सहायक भएर केही सर्जरी गरिसकेका थिए। तर, पहिलोपल्ट आफ्नै नेतृत्वमा त्यो सर्जरी गर्नुपर्नै भयो। उनी सम्झिन्छन्, ‘सर्जरी गर्नैपर्ने थियो। सिनियर डाक्टरको समय थिएन। आँट गरें।’ सर्जरी सफल भयो। तीन हप्ता अस्पताल राखेपछि ती बालक तन्दुरुस्त भए। त्यसको केही वर्षपछि आफैं दही बोकेर दशैंमा टीका थाप्न आउन थाले भक्तपुरका एक युवक। अहिले एमबिए सकेको ती युवक उनले पहिलोपल्ट सर्जरी गरेका तिनै डेढ वर्षका अवाले थरका बालक हुन्।
प्यारलाइसिस व्यक्ति जब घरबार बसाउँछ
चिकित्सकको काम नै पुनर्जीवन दिनु हो। कतिपय जीवनले यस्तो पुनर्जीवन पाउँछन्, जो उसले कल्पना गरेको हुँदैन। तामाङ थरका एक बिरामी सम्झिए शर्माले। जसले आजको जीवनको कल्पना गरेका थिएनन्। प्यारालाइसिस भएर ह्वीलचियरमा पुगिसकेका थिए उनी।
त्यो समय २२ वर्ष मात्रै पुगेका युवक ह्वीलचियरमा उपचारका लागि डा शर्माकहाँ आइपुगेका थिए। डा शर्मा सम्झिन्छन्, ‘स्पाइनल ट्युमर भएको थियो। ५ घन्टा लगाएर अप्रेसन गरें।’ उनी सञ्चो भए। बिस्तारै हिँड्न सक्ने भए। आज एक सञ्चारमाध्यममा काम गर्छन्। घरबार छ। छोराछोरी छन्। ‘प्यारालाइसि भएपछि अहिलेको जीवनको उनले कल्पना गरेका रहेनछन्,’ डा शर्मा भन्छन्, ‘बेला–बेला सम्झिरहन्छन्। मलाई चुनौतीको सामना गर्न हौसला मिल्छ।’
विदेशीलाई विश्वास दिलाउँदा
यो त्यो समयको कथा हो। जुन समयमा नेपालमा अहिलेजस्तो न्युरो सर्जरी स्रोत साधनले सम्पन्न थिएन। डाक्टर प्रविधिको पहुँचमा पुग्न थालेकै थिएनन्। एक इजरायली युवती सगरमाथाको बेसक्याम्प जाँदै गर्दा बाटैमा प्यारालाइज्ड भइन्। डा शर्माका अनुसार उनको मेघ डिस्क कोल्याप्स भएको थियो। यो भनेको गह्रौं भारी बोक्दा मेरुदण्डको बिचमा रहेको कुरकुरे हड्डीमा समस्या आउनु हो।
‘हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएकी उनी पूर्ण रुपमा प्यारालाइज्ड अवस्था थिइन्,’ डा शर्माले भने, ‘तुरुन्तै अप्रेसन नगरे उनको अवस्था सुध्रिने थिएन।’ उनले चाँडो भन्दा चाँडो अप्रेसन गर्न सल्लाह दिए। तर, नेपाली डाक्टरलाई ती युवतीले विश्वास गर्न सकिनन्। आफ्नै देशमा गएर गर्ने बताइन्। डा शर्माले त्यति लामो समयसम्म जे पनि हुनसक्ने बारे उनलाई बताइदिए। ती युवतीले प्रश्न गरिन्, ‘मेरो उपचार नेपालमै हुन्छ भनेर परिवारलाई कसरी कन्भिन्स्ड गर्ने। तिम्रो वेवसाइड छ भने देऊ।’
त्यस्ता प्रविधिमा नेपालका डाक्टरले पहुँच बनाइनसकेको अवस्था थियो। उनको अभिभावकसँग फोनमै कुरा गरे डा शर्माले। तुरुन्तै अभिभावकले सर्जरी गरिदिन आग्रह गरे। अप्रेसन भएको दुई हप्तापछि उनी हिँड्न सक्ने भइन्। अहिले पढाइसकेर इजरायलकै एक युनिभर्सिटीमा प्रोफेसर भइसकेकी उनी डा शर्माको सम्पर्कमै छिन्। ‘नेपाली डाक्टर निकै क्षमतावान रहेको उनले आफ्नो देशमा पनि सुनाउने गरेको बताउँछिन्,’ डा शर्माले भने, ‘यो हाम्रो देश र डाक्टरका लागि राम्रो कुरा हो।’
वीरमा गरिएको त्यो दुर्लभ शल्यक्रिया
डा शर्माले गरेको यो शल्यक्रियाको निकै प्रशंसा भएको थियो। वीर अस्पतालमा भएको यो न्युरोको दुर्लभ शल्यक्रियामध्ये पर्छ। ललितपुर खोकनाकी ती युवतीको ब्रेनभित्र झण्डै गोलभेंडाको आकारको रगतको ढिका जमेको थियो। दिमागको नसा फुलेर बेलुन जस्तो हुने रोग ‘जाइन्ट एनोरीजम’ को १६ घण्टा लामो समय लगाएर सफल शल्याक्रिया गरिएको थियो। शर्माको अनुसार ३३ वर्षीया महर्जन थरकी उनलाई गरिएको त्यो शल्यक्रियालाई इसिआइसि वाइपास सर्जरी भनिन्छ।
चीनबाट यससम्बन्धि विशेषज्ञ डा श्रीसान बोलाएर उनको समूहले नेपालमै त्यसको शल्यक्रिया गरेको थियो। जुन सर्जरी नेपालका लागि ऐतिहासिक सावित भयो। ‘त्यसपछि सोही प्रकृतिका ५ वटा सर्जरी गरिसकें,’ डा शर्माले भने। त्यो समय डा शर्माको टिमले आँट नगरेको भए त्यस्तो समस्या भएका बिरामीलाई बिदेश पठाउनुपथ्र्याे। आर्थिक क्षमता कमजोर भएकाहरुले मृत्यु कुर्नुको विकल्प हुन्थेन।
स्कुल जाने तयारीमा सलोन
सम्झिन लायक धेरै सर्जरी छन्, धेरै बिरामी छन् डा शर्मासँग। तर, कति बिरामीसँग भावनात्मक सम्बन्ध यस्तरी जेलिएको हुन्छ कि थोरैलाई सम्झिँदा पनि ती सम्झनाको डिलमै आएर बसिदिन्छन्। भर्खर ३ वर्ष पुग्दै गरेकी सलोन नामकी बालिका डा शर्माको सम्झनामा आइहालिन्। केही समयअघि मात्रै उनको जन्मजात ब्रेन ट्युमर हटाइदिएका थिए डा शर्माले। यो वर्षदेखि स्कुल भर्ना भएर जीवनको उज्यालो मार्ग पकड्न खोजीरहेकी छिन् सलोन। जन्मेको डेढ महिनामै डा शर्माकहाँ ल्याइपुर्याइएको थियो सलोनलाई। त्यो समय शल्यक्रिया गर्दा निकै जोखिम हुने र हेरबिचार गर्न पनि मुश्किल पर्ने भएकाले पछि गर्ने भनेर फर्काइदिए उनले। निरन्तर चेकजाँच र सम्पर्कमा रहेकी सलोनको दुई महिनाअघि मात्रै उनले ब्रेनबाट ट्युमर निकालिदिए। १० घण्टा लामो शल्यक्रियापछि त्यो संभव भएको थियो।