'खोप लगाउन धेरै पटक भनें, तर मान्नु भएन र अन्तमा रेबिज देखियो डाक्टर साब'। बिरामीको आफन्तले लेखकसँग कुराकानीको प्रसंगमा भनेका शब्दहरु हुन्। दुर्भाग्य, काठमाडौंमा बसोबास गरिरहेकी सो शिक्षित युवतीको मृत्यु रेबिजबाट हुन पुग्यो।
पछिल्लो केहि महिनादेखि रेबिज लागेर मृत्यु हुनेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ। रेबिज रोग नियन्त्रणको लागि खोप नलिनुको सुक्ष्म अध्ययन वा जानकारी लिनु/हुनु अति आवश्यक हुन्छ। तसर्थ लेखकले बर्षौंदेखि रेबिजविरुद्धको खोप सर्वसुलभ तथा नि:शुल्क हुँदाहुँदै पनि संक्रमितले मृत्युबरण गरिरहनु परिरहेको कारण थाहा पाउने प्रयास गरिरहेको थियो र छ (https://swasthyakhabar.com/story/29322 )। तर बिडम्बना, रेबिज बारेमा र खोप छ भन्ने थाहा हुँदाहुँदै पनि कतिबेला र किन लगाउने भन्ने अज्ञानता वा गलत परामर्शको कारणले रेबिजबाट मृत्यु हुनेको संख्या वर्षेनी बढ्दो छ। माथि उल्लेखित घटनामा पशु स्वास्थकर्मीले खोप लगाउन नपर्ने भन्ने सुझाव दिँदा मृतकले खोप लगाउन आनाकानी गरेको थियो। पशु स्वास्थकर्मीको सुझाबले गर्दा रेबिजबाट मृत्यु भएको लेखकको लागि यो पहिलो घटना हो।
माथि उल्लेखित घटनामा एक २७ वर्षीय युवतीलाई घरमा पालिरहेको कुकुरको सानो छाउराले हातमा टोकेको थियो। सो छाउराले अरुलाई पनि टोकेको भएता पनि सबैले खोप लगाएका थिए। यो छाउराको १० दिन भित्र लडेर मृत्यु भयो र शायद त्यसैले होला पशु स्वास्थकर्मीले रेबिजको शंका नै गरेन। सो छाउरा मष्तिस्क रोगले लडेर मृत्यु भएको र रेबिजविरुद्धको खोप लगाउनु नपर्ने सुझाव दिएका रहेछन्। सो भनाइलाई विश्वास गर्दा मृतकको आफन्तले खोप लगाउन धेरै पटक अनुरोध गर्दा पनि अस्विकार गरेको रहेछन्। यो केहि दिन अगाडिको दुखद घटना हो।
कुकुरको छाउरालाई ३ महिना नपुगी एन्टी रेबिजविरुद्धको खोप दिने गरिदैन। तर लेखकले ३ महिना भन्दा साना छाउराले टोक्दा रेबिज लागेको प्रशस्तै घटनाहरु देखेको छ। कतिपयले त छाउराको(मरिसकेपछि) प्रयोगशाला परीक्षण गर्दा रेबिज भाइरस प्रमाणित भएर खोप लगाउन आएको भन्नेहरु पनि छन्। अर्थात् रेबिज खोप लगाउनलाई कुकुरको बर्ष वा उचाईमा (विशेषत एन्टी रेबिज खोप नलगाएका) भर पर्नु हुँदैन। पछिल्लो समय यस्तो प्रकारका घटनामा बृदि भएको देखिन्छ।
यो लेखको मुख्य उद्देश्य /संदेश भनेको खोप लिनबाट नचुकोस तथा भबिष्यमा यस्तो घटना नदोहोरियोस भन्नु नै हो।पशु स्वास्थकर्मीले पनि खोप सम्बन्धि सल्लाह/सुझाव दिँदा विशेष सतर्कता अपनाउनु पर्ने र आवश्यक परे सम्बन्धित चिकित्सकको सल्लाह लिन सुझाउनु पर्दछ। नेपालले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजलाई शून्यमा झार्ने लक्ष्य तथा प्रतिबद्धता जनाएको छ। तर यो लक्ष्य पुरा गर्न हामीसंग ८ वर्ष मात्र बाँकी छ भने, रेबिजको कारणले मृत्यु हुनेको संख्या वर्षेनी घट्नुको सत्ता बढेको नै देखिन्छ।तसर्थ बढ्दो रेबिजको संख्याले हाम्रो लक्ष्यलाई चुनौती दिइरहेको छ। यसबाट खोप सहज र यथेस्ट भएर मात्र रेबिजकोविरुद्धको लडाई जित्न सकिंदैन भन्ने प्रष्ट संकेत दिएको छ। खोप लगाउनबाट नेपालीहरु कसरी चुकिरहेका र त्यसको सम्बोधन कसरी गर्ने भन्ने तर्फ चासो नलिने हो भने सन् २०३० को लक्ष्य पुरा गर्न सहज हुने छैन।
-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)