काठमाडौं - आकस्मिक गर्भनिरोधक चक्की ‘पिल्स’को जथाभावी प्रयोग दैनिक बढ्दो छ। पिल्सले अनिच्छित गर्भ हुनबाट रोके पनि जथाभावी प्रयोगले स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ।
चिकित्सकको सल्लाह र परामर्श बिना सेवन गरिएको पिल्सले स्वास्थ्यमा विभिन्न असर गर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रंगीना लाइकमबमले बताइन्। किशोरीहरुले चिकित्सकको सल्लाह र परामर्श बिना जथाभावी पिल्सको प्रयोग गर्ने क्रम बढेको उनले बताइन्।
आकस्मिक गर्भनिरोधक चक्कीलाई आकस्मिक रुपमा मात्र प्रयोग गर्न उनको सुझाव छ। असुरक्षित यौन सम्पर्कपछि बच्चा बस्न नदिन ७२ घण्टाभित्र खाएपनि यो पूर्ण रुपमा विश्वसनीय नभएको उनी बताउँछिन्।
यही विषयमा केन्द्रित रहेर डा रंगीनासँग हामीले थप जानकारी दिने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
पिल्स के हो ?
– आकस्मिक र ओरल गर्भनिरोधक चक्की गरी पिल्स विशेषगरी दुई किसिमको हुन्छ।
– यी दुवै पिल्सको उद्देश्य अनिच्छित गर्भ रहन नदिनु हो।
नेपालमा आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग कसरी भइरहेको छ ?
– आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्र खानुपर्छ।
– तर नेपालमा किशोरीहरुले आकस्मिक गर्भ निरोधक चक्की चिकित्सकको परामर्श बिना आफूखुशी सेवन गरिरहेका छन्।
– पिल्सको प्रयोगपछि पेट दुख्ने, रगत बग्ने जस्ता समस्या लिएर धेरै किशोरीहरु आउँछन्।
– गर्भ बस्नबाट रोक्नका लागि पिल्स सेवन गरिएपनि शतप्रतिशत विश्वसनीय हुँदैन।
– आकस्मिक गर्भनिरोधक चक्कीलाई सधै नभई आकस्मिक रुपमा मात्र सेवन गर्नुपर्छ।
पिल्सको सेवन कति समयको अन्तरालमा गर्न मिल्छ ?
– गर्भ सधै रहँदैन। डिम्बोत्सर्जन (ओभुलेसन) को समयमा गरिएको यौन सम्पर्कले मात्र गर्भ रहन्छ।
– ओभुलेसनको पिरियडमा यौन सम्पर्क भयो र सन्तानको योजना छैन भने मात्र आकस्मिक गर्भ निरोधक चक्की पिल्सको प्रयोग गर्ने हो।
– पिल्स वर्षको एक वा दुई पटकभन्दा बढी खान मिल्दैन।
– यदी सन्तानको लागि योजना छैन भने २१ दिनसम्म खाने ओरल पिल्स छ।
पिल्सको जथाभावी प्रयोगले स्वास्थ्यमा कस्तो असर गर्छ ?
– सन्तान भइसकेका र उमेर पुगिसकेका महिला र किशोरीमा हुने असर फरक हुन्छ।
– महिनावारी अनियमित हुने, पेट दुख्ने, रगत बग्ने समस्या हुनुका साथै ओभुलेटरी काममा असर पुग्यो भने बाँझोपनदेखि ब्लिडिङ डिसअर्डरको समस्या हुन्छ।
जथाभावी पिल्सको प्रयोग गर्नेमा कुन उमेर समूह बढी देख्नुहुन्छ ?
– २५ वर्ष मुनिका अविवाहित धेरै महिलाहरु समस्या लिएर आउँछन्।
– पिल्स खाएको, प्रेग्नेन्सी नेगेटिभ आएपनि गर्भ रहेको समस्या लिएर धेरै आउँछन्।
पिल्सको जथाभावी प्रयोग हुनबाट कसरी रोक्न सकिन्छ ?
– पिल्सको जथाभावी बिक्रि वितरण हुन दिनु हुँदैन। निश्चित नियम बनाउनुपर्छ।
– चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण गर्ने वातारण बन्न दिनु हुँदैन।
– ज्यान जोखिममा परेर अस्पताल आउनेहरु धेरै हुनु हुन्छ। सरकारले यसको उजुरी गर्ने निकाय पनि बनाउनुपर्छ।
अन्त्यमा यहाँको सुझाव के छन् ?
– जीवन अमूल्य छ। त्यसैले आफ्नो स्वास्थ्यसँग खेलवाड गर्नु हुँदैन।
– यदी असुरक्षित यौन सम्पर्क भयो र डर भयो भने चिकित्सकसँग परामर्श गरेर मात्र अघि बढ्नु आवश्यक छ।
(भिडियो – निमेष जंग राई)