काठमाडौं– आगामी आर्थिक वर्षमा एक सय वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी अगाडि बढेको छ। स्थानीय तहमा भवन निर्माण भइसकेका स्थानीय तहमा जनशक्ति तथा उपकरण लगायतका पूर्वाधार पूरा गर्दै सञ्चालनमा ल्याउन सरकारले आवश्यक तयारी अगाडि बढाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याका अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिको प्रारम्भिक प्रस्ताव तयार पारेको छ। मन्त्रालयले सोही अनुसार उपकरण तथा अन्य पूर्वाधारको प्रस्ताव समेत तयार पारेको छ।
मन्त्रालयले जनशक्ति, उपकरण लगायतका आवश्यक विषयको तयारीसहित आगामी बजेटमा कम्तिएमा एक सय वटा आधारभूत अस्पताल सञ्चालनमा आउने गरी कार्यक्रमको प्रस्ताव गरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार स्थानीय तहहरुमा ५, १० र १५ शय्याका ६५५ वटा आधारभूत अस्पताल बन्दैछन्। आगामी आर्थिक वर्षमा कम्तिमा १०० वटा अस्पताल सञ्चालन गरिसक्ने लक्ष्य सहित १०० अस्पतालका लागि कर्मचारी व्यवस्थापन गर्ने तयारी भइरहेको डा पोखरेलले जानकारी दिए।
स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालनमा आएमा संविधान अनुसार नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न सहज हुने उनले बताए।
मन्त्रालयले तयार पारेको जनशक्तिको प्रस्ताव अझै छलफलकै क्रममा रहेको छ। मन्त्रालयले सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर यी अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिका विषयमा अन्तिम रुप दिने तयारी गरेको छ।
आधारभूत अस्पतालमा चिकित्सकको नेतृत्वमा अन्य स्वास्थ्यकर्मी तथा कर्मचारी रहने गरी संगठन संरचनाको प्रस्ताव तयार गरिएको हो।
मन्त्रालयका अनुसार १५ शय्याको आधारभूत अस्पतालमा एकजना एमडिजिपी चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट, २ जना मेडिकल अफिसर, एकजना नर्सिङ अफिसर, ६ जना स्टाफ नर्स, ५ जना हेल्थ असिस्टेन्ट, ल्याबरोटरी टेक्निसियन, रेडियोग्राफर, डेन्टल हाइजिनिस्ट, फार्मेसी असिस्टेन्ट लगायत ३२ जना कर्मचारी रहने प्रस्ताव तयार पारिएको छ।
यस्तै, १० शय्याको आधारभूत अस्पतालमा २ जना मेडिकल अफिसर सहित २२ र ५ शय्याको आधारभूत अस्पतालमा एकजना मेडिकल अफिसर सहित १८ जना कर्मचारी रहने प्रस्ताव तयार भएको छ।
मन्त्रालयले तयार पारेको यो प्रारम्भिक प्रस्तावमा कविराज र हल्का सवारी चालक एक/एक जना थप गर्नुपर्ने सुझाव समेत आएको छ। मन्त्रालयले सोही अनुसार अन्य सुझाव समेत संकलन गरिरहेको बताइएको छ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले हरेक स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्न १ खर्ब ३५ अर्ब लागत अनुमान गरी कार्यक्रम सुरु गरिएको बताए। पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा बजेट विनियोजन गरिए पनि ३६६ वटाको मात्र प्रतिवेदन प्राप्त भएको डा पौडेलको भनाइ छ। तीमध्ये विस्तृत परियोजना प्रतिवेदन ३४४ वटाको मात्र तयार भएकामा ३१६ को मात्र टेन्डर भएको छ।
टेन्डर भएकामध्ये ३०० आधारभूत अस्पतालको सम्झौता भएकोमा २७८ आधारभूत अस्पतालको रकम निकासा भएको छ।
यस्तै, दोस्रो चरणमा २५९ वटा आधारभूत अस्पतालको निर्माण योजना रहेकोमा १६० मात्र प्रक्रियामा आएका थिए। तीमध्ये विस्तृत परियोजना प्रतिवेदनको प्रक्रियामा १२२ वटा मात्र रहेको र डिपिआर सही भनी प्रतिक्रिया भएका ९० वटा मात्रै छन्। दोस्रो चरणको आधारभूत अस्पताल निर्माणका लागि ६६ वटालाई मात्र रकम निकासा भएको छ।
यस्तो छ प्रस्तावित जनशक्ति विवरण