काठमाडौं– चिकित्सा शास्त्रको उच्च शिक्षा अध्ययन र आफ्नो ‘करिअर’ खोज्दै विदेश जान चाहने नेपाली युवा चिकित्सकहरुको संख्या दैनिक बढ्दो छ। भर्खरै एमबिबिएस तथा बिडिएस सकेका होउन् वा केही समय काम गरेका युवा चिकित्सक नै किन नहुन्, पछिल्लो समय समाजिक सञ्जालमा उनीहरु विदेशमा जान चाहिरहेको र अवसरको खोजीमा रहेको कुरा लेखिरहेका हुन्छन्।
अझ बेलायत, अमेरिका लगायतका देशमा पुगेर आफ्नो करिअर बनाइसकेकाहरु नेपाल फर्किने सम्भावना धेरै कम हुन्छ। विदेशीकै शैलीको रहनसहन र परिवेशमा घुलमिल भइसकेपछि फेरि नेपाल फर्किने सोच कमै नेपालीमा रहेको देखिन्छ। धेरैले उतैको नागरिकता समेत लिइसकेका छन्।
तर विदेश छाडेर नेपाल फर्किने थोरै मध्येका एक हुन् डा प्रतिकमान सिंह गुरुङ। उनी विदेशी भूमिमा २० वर्ष चिकित्सा क्षेत्रमा सक्रिय भएर काम गरेपछि नेपाल फर्किएका छन्। डा गुरुङले बेलायत र अमेरिकामा करिब २० वर्ष चिकित्सा क्षेत्रमा रहेर काम गरे।
उनको नेपाल फर्किनुको उद्देश्य छ– बाबुआमाको साथमै रहेर नेपालमै चिकित्सा सेवा प्रदान गर्ने।
उनको अर्को सपना पनि छ– बेलायत र अमेरिकामा सिकेको सीप र आफूले प्राप्त गरेको अनुभवलाई नेपालमै खर्चिने।
डा गुरुङ युरोसर्जन हुन्। उनको विशेषज्ञता भने यत्तिमै सीमित छैन। चिकित्सा विज्ञानमा आएका नयाँ–नयाँ उपचार पद्धति र प्रविधिसँगै उनले रोबोटिक सर्जरीमा पनि आवश्यक अध्ययन गरेका छन्। अध्ययन मात्र होइन रोबोटिक सर्जरीमा लामो समय काम गरेको अनुभव पनि उनीसँग छ।
उनी नेपालमा उपचारको यो नयाँ प्रविधिलाई विस्तार गर्ने योजनामा छन्। यसका लागि उनी आफ्नो तर्फबाट सक्रिय रुपमा लागेका छन्।
डा गुरुङले एसएलसीसम्म नेपालमै अध्ययन गरे। त्यसपछि छात्रवृत्तिमार्फत् विज्ञान विषय पढ्ने अवसर पाएर उनी युके गए।
उनले युकेको युनिर्भसिटी कलेज लण्डनबाट एमबिबिएस अध्ययन पूरा गरे।
डाक्टर गुरुङले ‘मेम्बरसिप अफ द रोयल कलेज अफ सर्जन्स्’ (एमआरसिएस), क्यान्सरको विषयमा पिएचडी, एफआरसिएस अर्थात् सर्जरीको विशिष्टकृत तालिम, एफआरसीएस र एफइबीयु तालिम तथा अध्ययनहरु पनि युकेमा गरेका छन्।
यो क्रममा उनले युकेका अस्पतालहरुमा धेरै बिरामीको उपचार समेत गरे।
युकेमा बिरामीको उपचारसँगै चिकित्सा विज्ञानकै थप अध्ययन, तालिम लिइरहेको समयमा उनलाई रोबटिक सर्जरीमा रुचि जाग्यो।
त्यसपछि उनी रोबोटिक सर्जरीको अध्ययन र तालिमका लागि अमेरिकामा पुगे। उनले अमेरिकामा रोबोटिक सर्जरीमा २ वर्षको फेलोसिप गरे।
डा गुरुङले लण्डनमा रहँदा सन् २०११ मा रोबोटिक सर्जरी सेवालाई नजिकबाट देखे। उनले रोबटको सहायताले बिरामीको अप्रेसन गर्ने अवसर पनि पाए।
डा गुरुङसँग युकेमा करिब ३ वर्ष र अमेरिकामा २ वर्ष रोबोटमार्फत् बिरामीहरुलाई सर्जरी सेवा दिएको अनुभव छ।
चिकित्सा पेसामा विदेशमा सक्रिय रहेका डा गुरुङ एक वर्षअघि नेपाल फर्किएका हुन्। हाल उनी ओम अस्पतालमा कन्सलटेन्ट युरो सजर्नको रुपमा कार्यरत छन्। योसँगै उनी अस्पतालमा रोबटिक सर्जरी सेवा सुरु गर्नका लागि काम समेत अगाडि बढाइरहेका छन्।
उनी भन्छन्– अमेरिका जस्तो ठाउँमा काम गरेपछि नेपाल फर्किने विषय मेरो लागि सहज थिएन, तर म नेपालमै केही नयाँ कुरा बिस्तार गरौं भन्ने चाहना र युरोलोजीमा पनि नेपालमा केही नयाँ गर्न सक्छु भन्ने विश्वास लिएर नेपाल फर्किएँ।’
उनी नेपालमा रोबोटिक सर्जरी सेवा विस्तार गर्न सम्भव भएको बताउँछन्।
‘रोबोटिक सर्जरी सेवा नेपालमा विस्तार गर्न सकिन्छ भनेर पनि नेपाल फर्किएको हुँ,’ उनले भने, ‘यस्तो सर्जरी सिक्नलाई केही वर्ष लाग्छ। केही हप्ता वा महिनामा सम्भव हुँदैन। यो सेवालाई विस्तार गर्ने र अन्य सर्जनहरुलाई पनि सिकाउने उद्देश्यले म नेपाल आएको हुँ।’
पुरानो प्रविधिका सर्जरी विधिभन्दा रोबटिक सर्जरी सेवा प्रभावकारी हुने गुरुङले बताए। ठूला–ठूला अप्रेसनहरुमा अप्रेसन सफल हुने र बिरामीलाई सहज हुने भएकाले रोबोटिक सर्जरी सेवा नेपालमा पनि विस्तार गर्न जरुरी रहेकोमा उनले जोड दिए।
विकसित देशमा विस्तार हुँदै गइरहेको सेवा नेपालमा पनि विस्तार गर्न आवश्यक भइसकेको भन्दै उनले यसका लागि आफू सहितको टिम लागिरहेको जानकारी दिए ।
‘नेपालमा पनि हेल्थ सिस्टमको विकासमा रोबोटिक सर्जरी आवश्यक छ, अबको ५/१० वर्षमा नेपालमा कम्तीमा पनि ५/७ वटा रोबोटिक सर्जरी सेवा हुनसक्छ। यदी चाहने हो भने यो सम्भव छ।’
नेपालमा रोबोटिक सर्जरी सेवाबारे जानकारी भएका बिरामीहरु रहेको र कतिपय बिरामीहरु भारत लगायतका देशहरुमा पुगेर समेत रोबोटिक सर्जरी सेवा लिने गरेको गुरुङको भनाइ छ।
‘नेपालमै यो सेवा विस्तार गर्न सकियो भने रोबोटिक सर्जरी सेवा लिन बिदेश जाने बिरामीलाई नेपालमै रोक्न सकिन्छ,’ उनले भने, ‘समयको कुरा हो, तर यो सेवा विस्तार गर्न सम्भव छ।’
डा गुरुङका अनुसार हरेक वर्ष करिब एक सयदेखि दुई सय जना रोबोटिक सर्जरी सेवा लिने बिरामी भएमा यने सेवा विस्तार गर्न सहज हुने छ।
रोबटिक सर्जरी सेवा विस्तारका लागि करिब ३० करोड आवश्यक पर्ने उनले बताए।
यस्तै, सर्जनहरुलाई पनि रोबोटिक सर्जरी सेवा प्रदान गर्ने तालिमहरु दिँदै दक्ष जनशक्ति तयार गर्नुपर्नेमा उनको जोड छ।
रोबटिक सर्जरी सेवामार्फत् विशेषगरी युरोलोजी, गाइनोकोलोजी, जनरल सर्जरी, ट्रान्सप्लान्ट, इएनटी, कार्डियोथोरासिक, लगायतका सर्जरी सेवा गर्न सकिने डा गुरुङले जानकारी दिए।
युरोलोजी, गाइनोकोलोजी, जनरल सर्जरी सेवामा यो प्रविधिको बढी प्रयोग हुने गरेको गुरुङको भनाइ छ। धेरै लामो समय लगाएर गर्ने अप्रेसनहरुमा रोबटिक सर्जरी सेवा हातले गर्ने सर्जरीभन्दा बढी प्रभावकारी हुने डा गुरुङले बताए।
अप्रेसन खर्च भने बिरामीको रोगको अवस्थाअनुसार तय हुने उनको भनाइ छ। रोबटिक सर्जरी के हो ? कहाँबाट कसरी सुरु भयो भन्ने विषयमा डा गुरुङले दिएको जानकारी यसप्रकार छ।
रोबोटिक सर्जरी के हो?
रोबोटिक सर्जरी भनेको शल्यक्रियाको आधुनिक प्रविधि हो। यो अमेरिकाबाट सुरु भएको हो। अमेरिकामा यो प्रविधि सुरु भएको २० वर्ष नै हुन लाग्यो। त्यहाँ ४/५ वर्ष ट्रायल फेज पूरा भएपछि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले लाइसेन्स दिएको थियो। सन् २००१ देखि अमेरिकामा रोबटिक सर्जरी सुरु भएयता अमेरिका सँगै विश्वका धेरै देशमा यो सेवा विस्तार भएको छ।
अहिले भारत र चीनमा पनि यो सेवा विस्तार भइसकेको छ। युकेमा पनि १०/१५ वर्ष अगाडिदेखि रोबटिक सर्जरी सेवा विस्तार भएको थियोे। भारतमा पनि करिब ८० वटा रोबटिक सर्जरी मेसिन छ। तर नेपालमा भने यो सेवा अझै विस्तार भइसकेको छैन। यसलाई विस्तार गर्न लगानीको विषयमा सोच्नुपर्ने हुन्छ। अप्रेसनको खर्च पनि बढ्न सक्छ। किनकी यो ‘हाइटेक’ मेसिन हो। ल्याप्रोस्कोपी, ल्यापकोली जस्तै टेक्नोलोजी हो रोबटिक सर्जरी पनि। तर रोबटिक सर्जरी ल्याप्रोस्कोपी भन्दा अलि फरक प्रविधि हो। यसमा कम्प्युटराइज हुन्छ। फाइन इक्युपमेन्ट हुन्छ। रोबटिक सर्जनले रोबटिक कन्ट्रोल रुममा बसेर त्यहाँबाट निश्चित ‘की’हरुबाट अप्रेसन गर्ने हो। यसमा फाइन कटिङ हुन्छ। थ्रीडी भ्यू हुन्छ। मिलिमिटर मिलिमिटरको हिसाब हुन्छ। सानो सानो नशाहरु देखिन्छ। जसले गर्दा अप्रेसन एकदम सही तरिकाबाट हुन्छ। जोड्ने, काट्ने कामहरु ‘एकुरेट’ हुन्छ। विशेषगरी क्यान्सरको अप्रेसन गर्न प्रभावकारी हुन्छ। बिरामीलाई दुखाइ कम हुन्छ, छिटो डिस्चार्ज हुन पाउँछन्। अप्रेसनपछि धेरै औषधि प्रयोग गर्नु पर्दैन। क्यान्सरका बिरामी लागि अझै प्रभावकारी हुन्छ।
अप्रेसन गर्नुपर्ने बिरामीलाई एनेस्थेसिया दिएपछि बिरामीको रोग र आवश्यकताअनुसार पेटमा प्वाल पारेपछि इक्युपमेन्टहरु राखेर रोबटिक मेसिनमा जोडिन्छ। त्यसपछि रोबटिक कन्सुलमा सर्जन बसेर मेसिन चलाउने र रोबटिक मेसिनमार्फत् बिरामीको अप्रेसन हुन्छ। यसमा रोबट आफैं चल्ने वा अप्रेसन गर्ने नभइ सर्जनले रोबटलाई चलाउने प्रविधि हो। यसलाई रोबोट असिस्टेन्ट सर्जरी पनि भनिन्छ। अप्रेसन भने सर्जनले नै गर्नुपर्छ।