काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालमा आवश्यक पर्ने जनशक्तिको विवरण प्रस्ताव तयार पारेको छ। मन्त्रालयले स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याका अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिको प्रारम्भिक प्रस्ताव तयार पारेको हो।
मन्त्रालयले तयार पारेको उक्त प्रस्ताव अझै छलफलकै क्रममा रहेको छ। मन्त्रालयले सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर यी अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिका विषयमा अन्तिम रुप दिने तयारी गरेको छ।
आधारभूत अस्पतालमा चिकित्सकको नेतृत्वमा अन्य स्वास्थ्यकर्मी तथा कर्मचारी रहने गरी संगठन संरचनाको प्रस्ताव तयार गरिएको हो।
मन्त्रालयका अनुसार १५ शय्याको आधारभूत अस्पतालमा एकजना एमडिजिपी चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट, २ जना मेडिकल अफिसर, एकजना नर्सिङ अफिसर, ६ जना स्टाफ नर्स, ५ जना हेल्थ असिस्टेन्ट, ल्याबरोटरी टेक्निसियन, रेडियोग्राफर, डेन्टल हाइजिनिस्ट, फार्मेसी असिस्टेन्ट लगायत ३२ जना कर्मचारी रहने प्रस्ताव तयार पारिएको छ।
यस्तै, १० शय्याको आधारभूत अस्पतालमा २ जना मेडिकल अफिसर सहित २२ र ५ शय्याको आधारभूत अस्पतालमा एकजना मेडिकल अफिसर सहित १८ जना कर्मचारी रहने प्रस्ताव तयार भएको छ।
मन्त्रालयले तयार पारेको यो प्रारम्भिक प्रस्तावमा कविराज र हल्का सवारी चालक एक÷एक जना थप गर्नुपर्ने सुझाव समेत आएको छ। मन्त्रालयले सोही अनुसार अन्य सुझाव समेत संकलन गरिरहेको बताइएको छ।
सुझावका आधारमा मन्त्रालयले आधारभूत अस्पतालको जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण सहितका खर्च माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने तयारी गरेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार स्थानीय तहहरुमा ५, १० र १५ शय्याका ६५५ वटा आधारभूत अस्पताल बन्दैछन्। आगामी आर्थिक वर्षमा कम्तिमा १०० वटा अस्पताल सञ्चालन गरिसक्ने लक्ष्य सहित १०० अस्पतालका लागि कर्मचारी व्यवस्थापन गर्ने तयारी भइरहेको डा पोखरेलले जानकारी दिए।
स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालनमा आएमा संविधान अनुसार नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न सहज हुने उनले बताए।
यस्तो छ प्रस्तावित जनशक्ति विवरण