काठमाडौं- नेपालका लागि २०७८ साल कोभिड महामारीका कारण निकै कष्ट र त्रासपूर्ण नै रह्यो। वर्षको सुरुवात नै कोभिडको खतरनाक डेल्टा भेरियन्टबाट भयो। २०७८ सालको नयाँ वर्षको दिन ६०३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको थियो। जसमध्ये धेरै जनामा डेल्टा भेरियन्ट पाइएको थियो।
नयाँ वर्षको दिन ६०३ जनामा देखिएको संक्रमण त्यसपछि ह्वात्तै बढ्दै गएको थियो। २०७८ साल सुरु भएसँगै कोरोना भाइसरको दोस्रो लहर व्यापक रुपमा फैलियो। कोरोनाको पहिलो लहर २०७७ सालको तुलनामा दोस्रो लहरमा धेरै मानिसहरुको मृत्यु भयो। पहिलो लहरमा देखिएको भाइरस भन्दा दोस्रो लहरको डेल्टा भेरियन्ट बढी नै संक्रामक र खतरनाक थियो।
डेल्टा भेरियन्टको संक्रमण बढ्दै जाँदा अस्पतालमा संक्रमितले उपचारका लागि शय्या नै नपाउने अवस्था आएको थियो। अस्पतालहरुमा अक्सिजनको अभाव हुँदा धेरैले ज्यान गुमाउनु पर्ने कहाली लाग्दो अवस्था समेत भोग्नु परेको थियो। अक्सिजनका लागि सर्वसाधारण नागरिकले अक्सिजन प्लान्टमा लामो लाइन बस्नुपर्ने अवस्था समेत देखिएको थियो।
नेपालमा कोभिड संक्रमण सुरु भएको २०७६ माघ ९ गतेदेखि २०७७ चैत १ गतेसम्मको पहिलो लहरमा २ लाख ७५ हजार २३१ जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएकोमध्ये ३ हजार १४ जनाको मृत्यु भएको थियो। पहिलो लहरमा कुल संक्रमितमध्ये १ दशमलव १० प्रतिशतको मृत्यु भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा २०७७ चैत २ गतेबाट कोरोनाको दोस्रो लहर सुरु भएको हो। मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पहिलो र दोस्रो लहर गरी २०७८ भदौ ३१ गतेसम्म ८ लाख ७० हजार १७६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको २०७७ चैत २ गतेदेखि २०७८ भदौ ३१ गते सम्ममा मात्र ५ लाख ९४ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
कोभिडको दोस्रो लहरमा मात्र ८ हजार ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। कोरोना संक्रमणको पहिलो लहरदेखि दोस्रो लहरको भदौ ३१ गतेसम्मको कूल मृत्युदर ११ हजार २ जना थियो। यो दर कूल संक्रमण दरको १ दशमलव ४१ प्रतिशत हो।
नेपालमा कोरोना महामारी सुरु भएदेखि २०७८ सालको अन्तिम दिन अर्थात चैत ३० गतेसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने ११ लाख १८ हजार ७८८ जनामा संक्रमण देखिएको छ।
दोस्रो लहर साम्य नहुँदै ओमिक्रोन भेरियन्टको तेस्रो लहर
२०७८ सालमा डेल्टा भेरियन्टको त्रास कम हुन नपाउँदै मंसिरमा ओमिक्रोन भेरियन्ट देखिएको थियो। नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते दुई विदेशी नागरिकमा पुष्टि भएको थियो। त्यसपछि ओमिक्रोनको संक्रमण ह्वात्तै बढेको थियो। पहिलो र दोस्रो लहरको तुलनामा ओमिक्रोन भेरियन्ट कम खतरनाक रहेको पाइयो। तर यसको फैलावट भने निकै थियो। विगतमा भेरियन्ट भन्दा यो भेरियन्ट निकै छिटो धेरैमा फैलियो। तर यसबाट ठूलो मानविय क्षति भने हुन पाएन।
खोप लगाउनेको संख्या बढ्दा जोखिम कम
नेपालमा कोरोनाको पहिलो लहरम समाप्त हुन नपाउँदै कोभिड भाइरसविरुद्धको खोप आइसकेको थियो। सुरुमा सरकारले कोभिड उपचार तथा नियन्त्रणमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाएको थियो। जसका कारण दोस्रो लहरमा अग्रपंक्तिमा खटिएकाहरु कम संक्रमित भए। दोस्रो लहर क्रमश कम हुँदै गर्दा नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम पनि बढ्दै गयो। तेस्रो लहर सुरु हुने समयसम्म आइपुग्दा धेरै नागरिकले कोभिड खोप लगाइसकेका थिए। जसका कारण धेरैमा संक्रमण देखिए पनि त्यसले गम्भीर असर गर्न सकेन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संकलन गरेको तथ्यांकले पनि पछिल्ला दिनहरूमा संक्रमण देखिएर अस्पताल भर्ना हुनेमा ८० प्रतिशतभन्दा बढी संक्रमितले खोप नलगाएको पाइएको छ। यतिमात्र होइन संक्रमण देखिएर गम्भीर हुनेमा पनि खोप नलगाएका र मृत्यु हुनेमा पनि खोप नलगाएका नै छन्। खोपले जोखिम कम गरे पनि हेलचक्र्याइँ गर्दा संक्रमण फैलिएर गम्भीर हुने पनि देखिएको छ। त्यसकारण मन्त्रालयले समय समयमा हेलचक्र्याइँ नगर्न सुझाव दिँदै आइरहेको छ।
मन्त्रालयको चैत ३० गतेसम्मको तथ्यांक अनुसार नेपालमा १८ वर्ष वा सो भन्दा माथि उमेर समूहका ८३ दशमल १ प्रतिशत अर्थात १ करोड ६५ लाख ५० हजार २२३ जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाइसकेका छन्। त्यसैगरी ९३ दशमलव ९ प्रतिशत अर्थात १ करोड ८७ लाख ६ हजार ६५ जनाले कम्तीमा एक मात्राको खोप लगाएका छन्। कुल जनसंख्याको ६६ दशमलव २ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् भने ७५ दशमलव ८ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन्। यस्तै अतिरिक्त मात्राको खोप २३ लाख ४७ हजार २२२ जनाले लगाएका छन्।
के २०७९ साल कोरोनामुक्त होला त?
नेपाली नयाँ वर्ष २०७९ सुरु हुनुभन्दा केही दिन अघिदेखि विश्वका केही देशहरुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको हाइब्रिड ‘एक्सई’ भेरियन्ट देखिन थालेको छ। भारतमा पनि यो भेरियन्ट पुष्टि भइसकेको अवस्था छ। भारतसँगको खुला सिमानका कारण भारतमा संक्रमण देखिएसँगै नेपालमा पनि फैलने खतरा रहन्छ। ओमिक्रोनको हाइब्रिड ‘एक्सई’ भेरियन्ट कति संक्रामक र घातक छ भन्ने विषयमा अझै प्रष्ट जानकारी भने आइसकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार केही देशहरुमा संक्रमणको फैलँदो अवस्थालाई हेर्दा नेपालमा पनि फेरि संक्रमण देखिन सक्ने सम्भावना रहेको छ। 'नयाँ भेरियन्ट देखिने क्रम रहेकाले अब यी भेरियन्टहरु संक्रामक र घातक नहोस् भन्ने नै हो,' उनले भने, 'संक्रमणको खतरा अझै नटरेका कारण हामीले आवश्यक तयारी गरिनै रहेका छौं। यसका साथै नागरिकले पनि सचेत रहँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने देखिन्छ।'
उनले २०७९ सालमा नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिँदैन भनेर अहिलेनै भनिहाल्ने अवस्था नरहेको जानकारी दिए। 'कोरोनाको नयाँ भेरियन्ट देखिँदैन होला भनेर ठोकुवा नै गर्न सक्ने अवस्था छैन,' उनले भने, 'हामी अझै जोखिमकै अवस्थामा नै छौं। ढुक्क भइहाल्ने अवस्था आइसकेको छैन।'
स्वास्थ्य मन्त्रालयकै नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले तत्कालको अवस्थामा संक्रमण विश्वव्यापी रुपमा घट्दो अवस्थामा देखिए पनि भाइरसको नयाँ भेरियन्ट र अझ खतरनाक भेरियन्ट आउँदैन भनेर भन्ने सम्भावना टरिनसकेको जानकारी दिए।
'तत्काललाइ हेर्दा हामी सुरक्षित नै देखिए पनि सचेत भने हुनुपर्ने देखिएको छ,' उनले भने।
उनले नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ८० प्रतिशतभन्दा माथि र पहिलो डोज लगाउनेको संख्या ९० प्रतिशतभन्दा माथि रहेकाले विगतको समयभन्दा केही बलियो अवस्थामा रहे पनि जोखिम भनेर कायम नै रहेकाले सचेत हुनुपर्नेमा जोड दिए।
'विगतको अवस्था र अहिलेको अवस्था हेर्दा तुलनात्मक रुपमा हामीहरु अलिकति बलियो भएका छौं। पूर्वाधारहरु धेरै बनेका छन् तथापी संक्रमण कसरी जान्छ त्यो अनुसार थप निर्णय लिन सक्ने हुनसक्छ। हामी सबै सचेत बनौं। जिम्मेवार बनौं,' उनले भने।
कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले पनि कोभिडमुक्त भयौं भनेर भनिसक्ने अवस्था नरहेको बताए।