काठमाडौं - नेपालमा एन्टीबायोटिक औषधिको जथाभावी प्रयोग बढ्दो छ। कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत तरिकाले भए बेफाइदा पनि उत्तिकै गर्छ।
चिकित्सकले लेखिदिएको औषधि बिरामीले केही नसोधी सेवन गर्छन्। आफूले सेवन गर्न लागेको औषधि कस्तो हो? के कुरामा ध्यान दिने? यसको नकारात्मक असरहरु छन्÷छैनन् लगायत विषयमा बिरामीले प्रश्न गर्दैनन्। तर आफूले खान लागेको औषधि बारे चिकित्सक वा फर्मासिस्टसँग स्पष्ट रुपमा सोध्नु आवश्यक छ।
औषधिको खरिद गर्दा के कुरामा ध्यान दिने? यसका नकारात्मक असरहरु के के छन्? लगायत विषयमा हामीले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत किरण सुन्दर बज्राचार्यसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
बिरामीले औषधि खरिद गर्दा के कुरामा ध्यान दिनुपर्छ?
– सबैभन्दा पहिला कुन औषधि, के प्रयोगका लागि हो भनेर चिकित्सकसँग स्पष्ट रुपमा सोध्नुपर्छ।
– आफूले लिएको औषधि सही छ÷छैन, म्याद सकिएको छ÷छैन, ब्याच नम्बर पनि हेर्नुपर्छ।
– औषधिमा लेखिएको कुराहरु राम्रोसँग हेर्नुपर्छ र नबुझे सोध्नुपर्छ।
खरिद गरेर ल्याएको औषधिलाई सुरक्षित तरिकाले घरमा कसरी राख्ने?
– विभिन्न औषधिको भण्डारण गर्ने तरिका फरक हुन्छ।
– विशेषगरी खाने औषधिहरु चिसो र घाम नलाग्ने ठाउँमा र ८ देखि २५ डिग्रिको तापक्रममा राख्दा हुन्छ।
– चिसो ठाउँमा अथवा फ्रिजमा राख्नुपर्ने औषधिहरु पनि हुन्छन्। जुन औषधिमा लेखिएको हुन्छ।
औषधिहरुको साइड इफेक्ट पनि हुन्छन्?
– सबै औषधिहरुको साइड इफेक्ट हुन्छ। नहुने भन्ने होइन।
– कुनै औषधिको सामान्य त कुनै औषधिको अलि धेरै साइड इफेक्ट हुन्छन्।
– कुनै पनि औषधि खानु अघि त्यसले के कस्तो साइड इफेक्ट गर्न सक्छ भनेर चिकित्सकसँग परामर्श गर्नुपर्छ।
– औषधिले गर्ने साइड इफेक्ट के–के हुन सक्छ, कस्तो साइड इफेक्टबाट कसरी बच्ने, के गर्ने भन्ने विषयमा चिकित्सक वा फर्मासिस्ट छलफल गर्नुपर्छ।
औषधिले ग्याष्ट्राइटिस गराउँछ भनिन्छ? कत्तिको सत्य हो?
– धेरै औषधिले ग्याष्ट्राइटिस गराउन सक्छ। तर सबै औषधिले गराउँछ नै भन्ने छैन।
– आइरन क्याप्सुलहरु, स्टोराइड जस्ता औषधि खाँदा ग्याष्ट्राइटिसको समस्या हुन सक्छ। तर सबैलाई गराउँछ भन्ने हुँदैन।
– कुनै रोगको औषधि खाएपछि ग्याष्ट्राइटिसको औषधि पनि अनिवार्य खानु पर्छ भन्ने छैन।
एन्टीबायोटिकको बढ्दो जथाभावी प्रयोग कत्तिको घातक?
– एन्टीबायोटिकको दुरुपयोग वर्षेनी बढ्दो छ।
– गलत र अनावश्यक रुपमा एन्टीबायोटिकको प्रयोग गरियो भने शरीरमा ब्याक्टेरिया विरुद्ध लड्ने शक्तिमा ह्रास आउँछ।
– एन्टीबायोटिकको जथाभावी प्रयोगले शरीरमा औषधिले काम गर्न छाड्छ।
– चिकित्सकले अनावश्यक रुपमा एन्टीबायोटिक लेख्नु भएन। र बिरामीले पनि माग्नु भएन।
– सरकारीस्तरबाट नै एन्टीबायोटिकको जथाभावी प्रयोगलाई रोक्न सक्रियता बढाउनुपर्छ।
आफूखुशी फार्मेसी पसलमा कुनै पनि औषधि खरिद गर्नु भएन हो?
– कुनै पनि औषधि आफूखुशी खरिद गर्नु नै भएन।
– औषधिलाई क, ख र ग वर्गमा वर्गीकरण गरिएको छ।
– क र ख समूहको औषधि कुनै पनि पसलले चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण गर्न मिल्दैन।
– ग समूहको औषधि आफ्नो अनुभवको आधारमा खान मिल्छ। कसैलाई ज्वरो आयो भने पारासिटामोल खान मिल्छ।
– ग बाहेक क र ख समूहको औषधि फर्मासिस्टले आफुखुशी बेच्न र बिरामीले खान मिल्दैन।
अन्त्यमा यहाँको सुझाव?
– औषधिको सही प्रयोगले रोग ठिक पनि पार्छ र गलत प्रयोगले शरीरलाई बेफाइदा पनि गर्छ।
– सबै रोगलाई औषधिले ठिक पार्छ भन्ने पनि हुँदैन।
– औषधि खाइरहँदा त्यसको फाइदा र बेफाइदा दुवै पक्षलाई हेनुपर्छ।
– आफुखुशी औषधि खानु पनि अवस्थामा ठिक हुँदैन।
– नकारात्मक असर र भविष्यमा निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गरेर चिकित्सकको परामर्शमा मात्र औषधि खानु पर्दछ।
भिडियो – अनुराग लम्साल