नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)ले काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। ‘महामारीको समय र महामारीपछिको अवस्थामा प्रजनन् स्वास्थ्य’ मुख्य नारा रहेको छ। नेसोगका अध्यक्ष प्राडा गणेश दंगालसँग सम्मेलन र प्रसूति तथा स्त्री रोगसँग सम्बन्धित विषयबस्तुमा केन्द्रित भएर स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानीः
नेसोगको १६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय सम्मेलन आयोजना गर्नुभएको छ। यो सम्मेलनको मुख्य उद्देश्य के हो?
नेसोगले हरेक वर्ष विभिन्न विषयमा केन्द्रित रहेर राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ। यसपालीको हाम्रो नारा ‘महामारीको समय र महामारीपछिको प्रजनन स्वास्थ्य’ भनेर तय गरेका छौं। त्यसै विषयवस्तुको सेरोफेरोमा चैत १८ र १९ गते सम्मेलन हुँदैछ। कोभिड महामारीको समयमा प्रजनन स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या र उक्त समयमा गरिका काम तथा आगामी दिनमा यस्ता महामारीको समयमा कसरी प्रजनन् स्वास्थ्यमा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुनै यसको मुख्य उद्देश्य हो।
‘महामारीको समय र महामारीपछिको अवस्थामा प्रजनन् स्वास्थ्य’ भन्ने विषय किन छनोट गरियो?
विगत २ वर्षभन्दा बढी समयदेखि हामी कोरोना महामारीबाट पिडित भइरहेका छौं। अहिले केही साम्य भएको अवस्था छ। कोरोना हामारीले प्रजनन स्वास्थ्यको क्षेत्रमा धेरे असर पारेको छ, विश्वभरी र नेपालमा पनि। कोरोना महामारीले बालबालिका, प्रौढ महिला तथा सबै महिलाहरुको प्रजनन स्वास्थ्यमा असर पारेको छ। त्यसैले हामीले यो विषय छनोट गरेका हौं।
महामारीको समयमा प्रसूति तथा स्त्री रोग सेवा प्रवाहमा कस्ता समस्याहरु देखिए?
सुरुको अवस्थामा लकडाउन भयो। त्यतिबेला यायातात लगायत सबै कुरा बन्द हुँदा स्वास्थ्यसंस्थासम्म पुग्न पहुँच नै भएन। राज्यले रोग नियन्त्रण गर्न लकडाउन गर्नुपर्ने अवस्था थियो। स्वास्थयकर्मीहरु नै संक्रमित हुँदा पनि स्वास्थ्यसेवामा कमी आयो। आवश्यक आकस्मिक सेवा बाहेक अन्य सेवा रोकिएको थियो। अहिले विस्तारै कोभिड महामारी नियन्त्रणमा आएपछि पहिलाजस्तै सेवाप्रवाह हुन थालेको छ।
नेपालमा प्रसूति तथा स्त्री रोगमा पहुँचको अवस्था के छ?
यसलाई हामीले अफ्रिकन देशसँग दाँजेर हेर्दा अफ्रिकन देशहरुमा भन्दा हाम्रो राम्रो मान्नुपर्छ। तर विकशित देशहरुको सेवासँग तुलना गर्ने हो भने हाम्रो अवस्था अझै तल नै छ। कतिपय अवस्थामा यातायात, बाटो, स्वास्थ्यकर्मी अभाव लगायतका कुराहरुले आफ्नो बासस्थानको नजिक स्वास्थ्यसेवाको पहुँचमा अझै कमी छ। यसमा अझै काम गर्न आवश्यक छ।
नेपालमा महिलाहरुमा धेरै देखिने प्रजनन् स्वास्थ्य समस्याहरु केके हुन्?
महिलाको स्वास्थ्य समस्या थुप्रै छन्। एउटा प्रसवसँग सम्बन्धित समस्याहरु हुन्छ। गर्भावस्था छ। प्रसव एउटा ठूलो खड्कोको रुपमै पनि छ। त्यसमा धेरै समस्याहरु आइपर्ने हुँदा ज्यानै जाने जोखिम पनि हुन्छ। त्यो बाहेक स्त्री रोगसँग सम्बन्धित समस्या जस्तो महिलाको पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, संक्रमणहरु, यौनरोगहरु छन्। नेपालमा टड्कारो रुपमै देखिएको समस्या पाठेघर झर्ने समस्या, प्रसवको बेलामा लामो व्यथा लाग्दा समयमा बच्चा जन्माउन नसक्दा देखिने फिस्टुलाको समस्या, दिशा, पिसाब चुहिने, प्रसव फिस्टुलाको समस्या पनि देखिने गरेको छ। यस्तै महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, डल्ला, गाँठाहरु आउने लगायतका समस्याहरु पनि देखिन्छ। अर्को ठूलो समस्या पिसाब चुहिने समस्या, महिनावारी सुकेपछि हुने समस्याहरु पनि छन्।
यस्ता समस्या किन हुन्छ? कारण के हो?
हाम्रो समाजको बनावटलाई पनि कारण मान्न सकिन्छ। चेतनाको स्तर, उपचारमा पहुँचको अभाव, भौगोलिक अवस्था पनि कारक हुन्। यस्ता समस्या देखिदा कहाँ उपचार गर्ने? उपचार खर्च जुटाउने, आर्थिक, शैक्षिक अवस्थामा महिलाको पहुँचको अवस्थाले स्वास्थ्यमा सुधार हुन नसक्नु तथा समस्या बढ्नुको कारण हो।
महिलामा हुने कस्तो खालको प्रजनन् स्वास्थ्य, जटिल खालको स्वास्थ्य समस्या हो?
महिनावारी हुँदा अलिअलि पेट दुख्ने, कहिलेकाँही सामान्य संक्रमणलाई सामान्य मान्न सकिन्छ। ट्यूमर हुने, बच्चा जन्मने क्रममा हुने समस्याहरुलाई सामान्य मान्न सकिँदैन।
नेपालमा प्रसूति तथा स्त्री रोग सेवा दिने विशेषज्ञ चिकित्सकको संख्या कति छ? सरकारी दरबन्दीको अवस्था के छ? के त्यो पर्याप्त छ?
पर्याप्त छैन। हाम्रो नेसोगमा आवद्ध भएका प्रसूति तथा स्त्री रोग विशेषज्ञको संख्या ६ सय जति छौं। केही साथीहरु आवद्ध हुन बाँकी हुनुहुन्छ। यो सबै गर्दा नेपालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ ७ सय जति हुनुहुन्छ। सरकारी दरबन्दीको अवस्थालाई हेर्दा सबैभन्दा ठूलो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमै संख्या निकै कम छ। बाहिर प्रदेश अन्तर्गतका अस्पताल तथा जिल्लाहरुमा पनि कम छन्। काठमाडौं तथा काठमाडौं बाहिरका मेडिकल कलेजहरुमा चाँही पढाउने र प्राक्टिस पनि गर्ने तथा सिक्दै गरेका रेजिडेन्टहरु पनि भएको हुनाले त्यसले केही भरथेग गरेको छ। तर विशेषज्ञको संख्या कम नै हो।
गुणस्तरिय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रसूति तथा स्त्री रोगको क्षेत्रमा के कस्ता काम गर्न आवश्यक छ? कस्ता विषयहरुमा समस्या छन्?
गुणस्तरिय बनाउन संरचना, मानविय संसाधन र इक्प्युमेन्टहरु हुनुपर्छ। यी तीनवटै कुरा भयो भने गुणस्तरिय सेवा दिन सकिन्छ। नत्र भने गुणस्तरिय सेवा दिन सहज हुँदैन। राज्यले वा सेवा प्रदायक संस्थाले यी तीनवटा कुरामा ध्यान दिन आवश्यक छ।
केही दिनअघि मात्र बाटोमै सुत्केरी भएकी महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो, त्यो तस्बिरले नेपालका ग्रामिण क्षेत्रमा अझैपनि प्रसूति सेवा विस्तार नभएको हो कि भन्ने संकेत गर्छ? यहाँको बुझाई के छ?
कतिपय दुरदराजको क्षेत्रमा तपाईंले भन्नुभएको जस्तो प्रतिनिधि घटनाहरु घटिरहेका छन्। अहिले पनि हाम्रो देशमा महिलाहरुले आफ्नो ज्यान जोखिममा राखेर आमा बन्नुपर्ने अवस्था छ। कतिपय महिलाले प्रसूतिको क्रममा ज्यान गुमाउन परेको अवस्था झनै छ। कतिपय ठाउँमा बाटो, स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीको पहुँच छैन।
प्रसवको लागि सामान्य नहुँदा अप्रेसन गराउनुपर्ने हुन्छ। यस्तो सुविधा नभएको ठाउँमा ज्यानको जोखिम छ। स्वास्थ्यसंस्थामा समयमै पुग्न नसक्दा ज्यानै जाने जोखिम पनि छ।
तालिमप्राप्त नर्स वा स्वास्थ्यकर्मीले गराउने प्रसूति र गाइनोकोलोजिष्टले गराउने प्रसूतिमा के फरक हुन्छ?
खासमा सामान्य अवस्थाको प्रसव तालिमप्राप्त स्वास्थ्यकर्मी/मिडवाइफले गर्दा हुन्छ। सामान्य प्रसवमा नै विशेषज्ञलाई व्यस्त बनाउँदा अलि जटिल केसहरुमा समय दिन नभ्याइने हुन सक्छ। त्यसकारण सामान्यभन्दा पनि अलि जटिल केसमा नै विशेषज्ञहरुले बढी समय दिने अवस्था हुनुपर्छ। एक हिसाबले भन्नुपर्दा विशेषज्ञको कमीलाई मिड लेभलको जनशक्तिले सेवा दिन सक्दा सहज हुन्छ। विदेशमा मिडवाइफ्री सेवा प्रभावकारी भएको छ। हाम्रो देशमा छन त छन् तर अझै कम छन्। विशेषज्ञले विभिन्न विधा र जटिल केसमा ध्यान दिन समय पाउँदा सेवाको गुणस्तर बढाउन सक्छन्।
नेपालमा प्रसूति तथा स्त्री रोगका क्षेत्रमा सहज र सर्वसुलभ सेवा प्रवाहका लागि नेसोगले के गरिरहेको छ? सरकारले के गर्नुपर्छ?
हाम्रो नेसोग प्रोफेसनल संस्था भएकाले यसमा आवद्ध चिकित्सकहरुलाई ज्ञान सिपको अभिवृद्धि गर्न सहयोग गर्छौं। यसले गुणस्तरिय सेवा प्रदान गर्न सहयोग पुग्छ। अहिलेको यो सम्मेलनमा पनि ५ वटा कार्याशाला आयोजना गरेका छौं। त्यो कार्याशालामा विशेष प्रकारका ज्ञान र सिप दिन्छौं। यसका लागि हाम्रो विशेषज्ञ र विदेशी मित्रराष्ट्रबाट पनि विशेषज्ञ बोलाएका छौं। यो पटक हामीले चैत १६ गतेदेखि ‘कस्मेटिक गाइनोकोलोजी’को विषयमा कार्याशाला गर्यौं। यस्तै पाठेघरको मुखको क्यान्सरको उपचार र निदानको विषय, अहिले विश्वमा भइरहेका टेक्नोलोजि, दुरविनको विधिबाट गरिने अप्रेसन तथा उपचार, हिस्ट्रोसकोपी विधि अर्थात पाठेघर भित्र दुरविन राखेर त्यहाँ भित्रको रोग पत्ता लगाउने र उपचार गर्ने विषयमा कार्याशाला राखेका छौं। यस्तै प्रसवको बेलामा धेरै रगत बगेर मृत्यु हुने वा मृत्युको जटिलता हुने पोष्टपार्टम हेमरेजको समस्यामा रगत बग्न नदिने तथा रगत बगिसकेकाहरुको उपचारबारे पनि कार्यशाला दक्षिण एसियाको रिजनल फेडेरेसन र भारतको फोक्सीसँग मिलेर २० गते कार्याशाला आयोजना गर्दैछौं।
हामीले हाम्रा सदस्यहरुको ज्ञान र सिप बढाउने र गुणस्तरिय सेवा दिने विषयमा हाम्रो भूमिका रहन्छ।
यो क्षेत्रमा सरकारको झनै ठूलो भूमिका रहन्छ। अहिले प्रदेश र स्थानीय सरकार बनेको छ। कताकता हाम्रो समन्वय नपुगेको आभाष भइरहेको अवस्थामा सरकारको ठूलो भूमिका रहन्छ। रिसोर्स जुटाउने, योजना बनाउने, कार्यान्वयन गर्ने, नियमन गर्ने लगायतको सबै भूमिका सरकारको हो। अहिले स्वास्थ्यमा अझै बजेट पुगेको छैन। सरकारले बजेट बढाउनुपर्छ, अस्पताल, विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मी, इक्प्युमेन्ट व्यवस्थापन गर्नुपर्छ। त्यो भयो भने गुणस्तरिय स्वास्थ्यसेवा प्रदान गर्न सकिन्छ।